• अष्ट्रेलियामा किन आत्महत्यासम्म पुग्छन् नेपाली ?

    March 23, 2019     3:59 pm

    नेपालीहरूले अस्ट्रेलियामा काम पाउन सहज होस् भनेर फेसबुकमा धेरै पेजहरू खोलिएका छन्। तीमध्येको एक पेजमा केही दिनअघि एउटा पोष्ट राखिएको थियो। पोष्टमा भनिएको थियो– ‘मलाई सिड्नीको म्यान्लीस्थित एक रेष्टुरेन्टमा काम गर्नको लागि तीनजना क्लिनर केटीहरू चाहिएको छ। काम रातीको १२ बजे शुरु हुन्छ। काम हरेक दिन साढे चार घण्टाका दरले सातै रात हुन्छ । तलब घण्टाको १५ डलरका दरले क्यासमा दिइनेछ। गाडी हुने र मोप गर्न जान्नेलाई विशेष प्राथमिकता दिइनेछ।’ यो पोष्ट कामदार खोजिरहेका कुनै व्यक्तिले प्रेषित गरेका थिए।


    यो पोष्टमा सबभन्दा पहिले बुझ्न जरुरी के छ भने अस्ट्रेलियामा क्यासमा काम लगाउनु गैरकानुनी मानिन्छ। त्यसमाथि ट्याक्समा काम लगाउँदा पनि राती, बिहान, बेलुका वा छुट्टीका दिनमा कामदारलाई अझ बढी पैसा तिर्नुपर्छ। यो पोष्टले सिधै कामदारलाई कम पैसा दिएर ठगी मात्र होइन गैरकानुनी कार्य पनि गरिरहेको छ भन्ने प्रष्ट हुन्छ। तर त्यस पोष्टमा पनि नवआगन्तुक विद्यार्थीहरूले काम पाउनका लागि कमेन्ट बक्समा आफ्नो फोन नम्बर राखिरहेका थिए र जसरी भए पनि सो काम पाउनका लागि हतार गरिरहेका देखिन्थे।


    त्यस्तै केही हप्ताअघि राखिएको अर्को पोष्ट यस्तो थियो– ‘दाइ म नेपालबाट आएको दुई महिना भइसक्यो। अहिलेसम्म कुनै काम पाएको छैन। अब मैले नेपालबाट ल्याएको सबै पैसा सकिन लागिसक्यो। मेरो यहाँ आफ्नो साथीभाइ र आफन्तहरू खासै कोही पनि छैन। म जस्तोसुकै काम गर्न पनि तयार छु। कृपया मलाई सहयोग गर्नुहोस् न!’ यो पोष्टले पनि अस्ट्रेलियामा नेपाली विद्यार्थीले काम नपाएर कत्तिको पीडित भइरहेका छन् भन्ने प्रष्टसँग आभाष दिइरहेको थियो।


    यिनीहरू केही प्रतिनिधि उदाहरणहरू मात्र हुन्। यदि नेपालीहरूलाई सहयोग गर्नका लागि खोलिएका फेसबुक पेज वा वेबसाइटलाई नियालेर हेर्ने हो भने यस्ता सूचना वा पोष्टहरू प्रशस्तै भेटिन्छन्। दुःखद् कुरा त काम नपाएर पीडित नेपालीहरूलाई कम पैसामा काम लगाउने तथा शोषण गर्ने विदेशीभन्दा पनि नेपाली नै बढी भेटिन्छन्। त्यति मात्र होइन, भर्खर आएका भाइबहिनीहरूले काम नपाएर भित्रभित्रै पिल्सिएका, काम र कलेजको बोझले पिरोलिएका वा काममा अनेकौं दुःख भोगेका घटनाहरू यथेष्ट छन्। तर विद्यार्थीका लागि यी मात्र समस्या होइनन्। बुझ्न जरुरी के छ भने यदि सही मार्गनिर्देशन र सहयोग पाइएन भने यो त समस्याको शुरुवात मात्रै हो। यी समस्याको वेलैमा निराकरण नगरिएको खण्डमा यसको अन्त्य साह्रै दुःखद् हुने पक्का छ।
    अस्ट्रेलियाको गृह मन्त्रालयले हालै प्रकाशित गरेको तथ्याङ्कअनुसार नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा बढिरहेका छन् ।

    मन्त्रालयका अनुसार सन् २०१८ को जुलाई १ देखि अक्टोबर ३१ तारिखसम्म चार महिनाको अवधिमा १३ हजार ४ सय ७८ जना नेपालीले विद्यार्थी भिसाको लागि आवेदन दिएका छन् । अघिल्लो वर्ष यो संख्या सोही अवधिमा ७ हजार ९ सय ५३ थियो । सानो देश भइकन पनि नेपाल अहिले अस्ट्रेलियामा विद्यार्थी भित्र्याउने तेश्रो ठूलो देशको रूपमा स्थापित भएको छ । यो तथ्यांकलाई आधार मान्ने हो भने पनि आगामी दिनमा नेपाली विद्यार्थीहरूको समस्या झन् विकराल र भयाभह हुने देखिन्छ । यो समस्याको समाधानतर्फ हरेक सरोकारवालाहरू वेलैमा सचेत र जागरूक हुनुपर्ने वेला आइसकेको छ । होइन भने, नेपाली विद्यार्थीहरू मानसिक तथा शारीरिक रूपमा समेत पीडित हुने सम्भावना देखिन्छ।

    गलत परामर्श

    सबैभन्दा पहिले नेपालमा रहेका विद्यार्थीलाई विदेशमा पठाउने मोह सिर्जना गर्नका लागि अनेक विज्ञापनहरू गरिन्छन् । विज्ञापन यसरी गरिन्छन् मानौं विदेशमा सुनको अण्डा दिने कुखुरा पाइन्छ अनि विज्ञापन यसरी गरिन्छन् कि मानौं भिसा पाउनासाथ जिन्दगीले एउटा नाटकीय मोड लिँदै कायापलट गरिदिन्छ किनकि विदेशमा जानेवित्तिकै सबथोक सहजै आर्जन गर्न सकिन्छ – धन, सम्पत्ति, पढाइ आदिआदि । कुनै पनि परामर्शदाताले आफ्नो व्यवसायिक सफलतालाई मध्येनजर गर्दै विज्ञापन गर्नुलाई स्वभाविक मान्न सकिएला तर एउटा विद्यार्थीको भविष्यसँग सम्बन्धित भएका कारणले यदि परामर्शदाताले केवल विद्यार्थी तान्नका लागि मात्र विज्ञापन गर्छ भने त्यो व्यापारमुखी परामर्शदाता मात्र होइन, त्यो त विद्यार्थीको रूपमा मान्छेको तस्कर गर्ने व्यवसायी हो । यिनी त अझ मानवतस्करभन्दा पनि निकृष्ट व्यवासय संचालन गरिरहेछन्, झुटको खेती गरिरहेछन् र मान्छेलाई गलत परामर्श दिएर विद्यार्थीको जीवनमाथि ठूलो कुठाराघात पनि गरिरहेछन् ।


    विद्यार्थी भएर विदेशमा जाँदा कति कुरामा ध्यान दिनुपर्छ, कति कुराले विद्यार्थीलाई मर्का पार्न सक्छ र विद्यार्थी जीवनमा केके उतारचढाव हुन सक्छन् भनेर यसको गुण र दोषका बारेमा पनि परामर्श दिन सक्ने परामर्शदाता भएमा मात्र विद्यार्थीको मनमा केवल रंगीन सपना मात्र भरिँदैन, विद्यार्थीलाई भविष्यमा आइपर्ने कठिनाइसँग जुध्न पनि हौसला श्रृजना हुन्छ । समस्या त अझ के छ भने नेपालमा परामर्शदातालाई अहिलेसम्म न त सरकारले न त अरू कसैले नै निगरानी गरेको देखिन्छ वा त्यसतर्फ कुनै कार्यक्रम नै ल्याइएको छ । यो वर्ष यति विद्यार्थी पठायौँ र अर्को वर्ष यति विद्यार्थी पठाउने लक्ष्य छ, आज फलानो विद्यार्थीलाई भिसा पाएकोमा बधाई, आज यतिवटा भिसा लाग्यो त्यसैले हामीजस्तो परामर्शदाता कोही छैन भनेर कराउने परामर्शदाताले के बुझ्न जरुरी छ भने विद्यार्थी संख्याले मात्र गुणस्तरीयताको मापन हुँदैन । पठाइएका विद्यार्थीमध्ये कतिजनाले अध्ययन पूरा गरे अनि त्यही विषयमा काम गरिरहेका छन् त भन्ने प्रश्न मूल कुरो हो ।

    सामाजिक सञ्जालले छरेको भ्रम

    आधुनिक युगमा फेसबुक, ट्वीटर र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले पनि विद्यार्थीको मन भड्काउनका लागि मद्दत पुर्‍याएका छन् । फेसबुकको भित्तामा राखिने विदेशका सुन्दर दृश्यका तस्वीर, साथीभाइले गरेका मोजमस्तीका तस्वीरहरू हेरेर पनि युवावस्थाका विद्यार्थीहरु सजिलैसँग आकर्षित भएर विदेशको सपना देख्न थाल्छन् । सपना देख्नु कुनै पाप होइन तर समस्या के हुन्छ भने फेसबुकको भित्तामा केवल राम्राराम्मोजमस्ती र रमाइला पलहरू मात्र आइरहेका हुन्छन् । यसले गर्दा विद्यार्थीले मनमनै विदेशमा गएर सुखसयल गर्ने अनेक आकांक्षा सजाउन पुग्छन् । कसैले पनि आपूmले दुःख गरेको वा विदेशमा पीडा र व्यथाका तस्वीरहरू राख्दैनन् जस्ले गर्दा विद्यार्थीले विदेशमा खालि सुख मात्रै पाइन्छ भन्ने मानसिकता बोकेर विदेशिने सपना देख्दछन् ।


    विद्यार्थीलाई विदेशिने सपना देखाउने मामिलामा सामाजिक सञ्जालले सत्यतथ्य सूचना प्रवाह गर्नेभन्दा पनि भ्रम फैलाउने काम बढी गरेको पाइन्छ । विदेशमा गएर विद्यार्थीले भोग्नुपर्ने दुःखका, पीडाका अनि वेदनाका कथाहरूलाई पनि यो सशक्त माध्यममार्फत् बाहिर ल्याउन सकिएको खण्डमा विद्यार्थीहरू सचेत र जागरुक हुन सक्छन् र विदेशिनुअघि धेरैपटक सोंचेर, बुझेर र जानेर मात्र त्यो निर्णय लिन सक्छन् ।

    विद्यार्थी जीवनको सकस

    म विद्यार्थी भएर दस वर्षअघि अस्ट्रेलिया आउँदा हाम्रो कलेजमा एकजना मात्र साथी थिए जो केवल पढ्नका लागि मात्र आएका थिए । हुनेखाने मध्येमा पर्ने उनले आफ्नो पढाइको फिस, बस्ने, खाने र अन्य खर्चका लागि पूर्णतया घरबाट पैसा मगाउँथे र अरू कामहरू केही पनि गर्दैनथे । अब्बल विद्यार्थीमा पर्ने उनले आफ्नो अध्ययन अब्बल नम्बरका साथ पूरा गरे र पढाइसकेपछि नेपाल फिरे । अहिले उनले नेपालमा राम्रै काम गरिरहेका छन् । यीबाहेक हाम्रो ब्याचमा कोही पनि पढ्नका लागि भनेर आएका विद्यार्थी मैले भेटेको थिइनँ । प्रायःजसो नेपालीहरू अस्ट्रेलियामा मध्यम वर्गीय र निम्न मध्यम वर्गीय परिवारबाट आउँछन् ।


    सम्पन्न परिवारबाट आएकाहरूले खासै विद्यार्थी जीवनमा अरुले जस्तो सकस भोग्नु नपर्ला तर जो मध्यम र त्योभन्दा तल्लो वर्गबाट आउँछन् उनीहरू प्रायः एक सेमेष्टरको फिस नेपालबाट तिरेर आएका हुन्छन् र बाँकी यहीँ कमाएर तिर्ने र बचाएर घरसमेत पठाउने आशामा आएका हुन्छन् । त्यसपछि विद्यार्थीको सकसको अर्को पाटो शुरु हुन जान्छ । एक त हप्ताको २० घन्टाभन्दा बढी कानुनी रूपमा काम गर्न पाइँदैन, त्यसमा पनि फिस तिर्नुपर्ने टेन्सन, भाडा, खाना खर्च अनि अनेकथरि अन्य समस्याहरू । अझ कलेजको गृहकार्य समयमै गर्नुपर्ने प्रेसर अनि गयल भइयो भने त्यो विषयमा अनुत्तीर्ण भइनेँ र अर्कोपटक पैसा तिरेर पढ्नुपर्ने सकस । यी समस्याहरूलाई पनि विद्यार्थीले राम्रोसँग व्यवस्थापन गर्न सकेनन् भने भित्रभित्रै मानसिक यातना भोग्न बाध्य भइरहेका हुन्छन् । यसलाई पनि समयमा नै समाधान गरिएन भने अझ विकराल रूप लिन सक्ने खतरा हुन जान्छ ।

    अभिभावकको दायित्व

    हरकोही अभिभावकले आफ्ना सन्तानको सुखद् भविष्यको लागि अनेक सपना बुनेका हुन्छन् । सपना साकार पार्नका निमित्त हरतरहले सहयोग गर्नु र त्यस बाटोमा लागेका आफ्ना सन्तानको उचित निगारनी गर्नु तथा सरसल्लाह गर्नु अभिभावकीय दायित्व हो । तर विदेश अध्ययन गर्न जाने सन्तानको मामिलामा भने यो कुरा पूर्ण रूपमा लागू भएको पाइँदैन । आफ्ना सन्तानलाई विदेशमा पठाउँदा आर्थिक तथा व्यवस्थापकीय पक्षमा समेत पूर्ण रूपमा जानकारी हुनु जरूरी हुन्छ ।
    हाम्रो समाजमा ‘फलानाको छोरोले विदेश गएको तीन महिनामैँ यति पैसा पठायो तैँले किन पठाउँदैनस्’ भनेर पैसा कमाउनुलाई नै बढी प्राथमिकता दिइन्छ । अझ यो फलानोको छोरोले यति पठायो भन्ने हौवाले त झन् अभिभावकको दिमागमा धेरै नै जरो गाडेको पाइएको छ जसले गर्दा अध्ययन गर्न गएका विद्यार्थीले पढाइलाई भन्दा बढी कामलाई प्राथमिकतामा राख्न खोज्दछन् र यसैको फलस्वरुप अनेक समस्याले ग्रसित हुन सक्ने सम्भावना बढ्न जान्छ ।

    गलत संगत र आचरण

    विदेशमा आफन्त भएका विद्यार्थीहरू आफ्नो आफन्तको निगरानी र सरसहयोगमा बस्ने हुनाले गलत संगत र प्रवृत्तितिर लम्केको खासै भेटिदैन । तर जो विद्यार्थीहरू एक्लै आएका हुन्छन् उनीहरूलाई यदि कुनै समस्या आइपर्‍यो भने उचित सल्लाह र मार्गनिर्देशको अभावमा गलत प्रवृत्तितिर लम्किने खतरा बढ्छ । यस्तो समस्या व्यापक रूपमा नभेटिए पनि केही नेपालीहरू त्यस बाटोमा फसेको उदाहरणहरू पनि अस्ट्रेलियामा भेटिन्छन् । कोही जुवा खेल्ने लतमा फँसेका, कोही लागू औषधको लतमा फँसेका र कोही वाध्यताले गर्दा देहव्यापारमा समेत होमिएका उदाहरणहरू वेलावेलामा आउने गरेका छन् । त्यस्तै पूर्वीय संस्कृति र पारिवारिक रेखदेखमा हुर्केर एक्कासी पश्चिमी संस्कृति र उदार जीवनशैलीमा आएका केही विद्यार्थीहरूले यसलाई गलत रूपमा व्याख्या गर्दै गलत तरिकाले देखासिखी गर्ने गरेको पनि भेटिन्छ । यस्ता समस्यालाई निराकरण गर्न साथीभाइ, आफन्त, इष्टमित्र र समाजका हरेक सदस्यको उत्तिकै भूमिका जरुरी हुन्छ ।

    दायित्वहीन दुतावास र सामाजिक संस्था

    हुन त अस्ट्रेलियामा सामाजिक संस्थाको कमी छैन । सुन्दर नगरी क्यानबेरामा नेपाली राजदुतावास पनि नभएको त होइन । तर नेपाली विद्यार्थीको संख्याका हिसाबले जुन रूपमा दुतावासले विद्यार्थीको समस्या समाधानको दिशामा जनचेतनामूलक तथा सहकार्यको भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो आभाष खासै पाउन सकिन्न । कि त दुतावाससँग कर्मचारीको अभाव छ अथवा तिनले विद्यार्थीका सरोकारका विषयलाई आफ्नो प्राथमिकताको सूचिमा निकै तल राखेका छन् । यसले गर्दा पनि नेपाली विद्यार्थीले दुतावासबाट सहयोग पाउँदैनन् । अझ नेपाली राजदूतमाथि हालै लागेको मानव तस्करीको आरोपले गर्दा धेरै विद्यार्थीहरू राजदुतावासमार्फत् नेपाली विद्यार्थीको समस्याको समाधान होला भन्नेमा सशंकित छन् ।
    त्यसैगरी नेपालको हरेक जिल्लाको नाममा होस् वा नेपालको हरेक पार्टीको नाममा नै किन नहोस् यहाँ सामाजिक संस्थाहरू खोलिएका छन् । तर, समाजको उत्तरदायित्व बहन गरेर समाजका समस्यालाई निराकरण गर्ने मूल मन्त्र बनाएका सामाजिक संस्था भने नगन्य रूपमा मात्र छन् । सदस्यताको हिसाबले अग्रणी स्थानामा रहेको एनआरएनएले अस्ट्रेलियाले विद्यार्थीका समस्यालाई आफ्नो कर्तव्यको उपल्लो स्थानमा राखेको पाइँदैन । जतिसुकै समाजका लागि काम गर्छु भनेर चिच्याए पनि यथार्थमा विद्यार्थीको समस्याको सवालमा यो संस्था पनि निकै पछि परेको महसुस गर्न सकिन्छ ।

    बढ्दो मृत्युका घटना

    करिब एक लाखको संख्यामा नेपालीहरअस्ट्रेलियामा रहेको अनुमान गरिए पनि यो संख्या दिनानुदिन बढ्दो क्रममा छ । नेपालीको संख्या बढेसँगै नेपाली समाजमा विभिन्न दुःखद् घटनाहरू पनि बढ्ने क्रम जारी छ । कतिपय भवितव्यका घटनालाई रोक्न नसकिए पनि केही घटनाहरूमा नेपालीहरू सचेत नभएका कारणले पनि ज्यान ज्यान गुमाउने क्रम बढिरहेको छ । समुद्री तटमा पौडिन जाँदा अपनाउनुपर्ने सावधानीका उपायहरू नजान्दा होस् वा नक्कली लाइसेन्स लिएर गाडी चलाउँदा नै किन नहोस्, केही नेपालीले ज्यान गुमाएका घटनाहरू बारम्बार आइरहेका छन् ।

    यसतर्फ नेपालबाट अस्ट्रेलिया आउनुअगावै विद्यार्थीलाई सचेत बनाउन जरूरी देखिएको छ । धेरै समस्याहरूबाट पीडित भएका विद्यार्थीहरूले आत्महत्याको गलत बाटो रोजेका घटनाहरू पनि वेलावेलामा बाहिर आएका छन् । यी घटनाहरूले धेरै प्रश्नहरूलाई प्रश्नमैं अल्झाए पनि केही प्रश्नको भने निःशब्द तरिकाले उत्तर पनि दिने चेष्टा गरिरहेका हुन्छन् । कानुनले आत्महत्याको जिम्मेवारी तिनै आत्महत्या गर्नेमाथि थोपरे पनि त्यस जीवनयात्रामा रहेका पर्दा पछाडिका धेरै मान्छेहरूले केही न केही रूपमा त्यस जीवनको अन्त्यको नैतिक जिम्मेवारी बहन गरेकै हुन्छन् । अनि, यो आत्महत्यालाई अस्ट्रेलियामा नेपालीको संख्या बढेर निम्त्याएको समस्याका रूपमा मात्र लिइनु हुँदैन । यसलाई हाम्रो समाजले नेपाली विद्यार्थीका समस्याको समाधानमा देखाएको नैराश्यताको प्रतिफलका रूपमा पनि लिइनुपर्दछ । अन्त्यमा, विदेशमा अध्ययन गर्न जानुसँगै अनेक दुःख, कष्ट, र पिडाहरू पनि हुन्छन् । दुःख जहाँ पनि छ । विद्यार्थी जीवनमा हुनु पनि स्वभाविकै हो । तर यसलाई समस्याको रूपमा मात्र लिइनु हुँदैन । यसलाई त आफ्नो क्षमताको प्रदर्शन गर्न सकिने गतिलो प्लेटफर्मको रूपमा लिएर सोही अनुरूप जीवनको केही उर्जाशिल वर्षलाई दृढ संकल्प र इच्छाशक्ति लिएर पार लगाउने अठोटका साथ आउन जरुरी छ । निम्न मध्यम वर्गीय परिवारबाटै आएका तर दृढ संकल्प र अठोट लिएर संघर्षशिल भएर आएका अनेक व्यक्तिहरू अहिले स्थापित भएका उदाहरणहरू पनि यही समाजमा प्रशस्तै छन् । समस्याबाट भाग्नु समाधान होइन, डटेर सामना गर्ने अठोट गरौं । विद्यार्थीहरूले दुःख गर्न सक्ने आत्मबल तथा आत्मविश्वास पनि ल्याउन उत्तिकै जरुरी छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।