लन्डन – एनआरएन युकेको नयां कार्यसमिति चुन्न शनिवार भएको मतदान पछि तीव्र विवाद भएको छ। बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षिय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधी मुचुल्कामा हस्ताक्षर नगरी बाहिरिएका थिए । राती करिब १० बजेतिर मतगणना गरिने स्थान अल्डरशटस्थित एम्पायर हलमा बेजिंगस्टोकबाट मतपेटिकाहरु बुझाउन ल्याउंदा शेर सुनार समूहले विरोध जनाएका थिए ।
अध्यक्ष पदका उम्मेदवार शेर सुनार तथा एनआरएन युकेका निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले निर्वाचन समितिसंग वार्ता गरेका थिए । तर यो समाचार लेख्दा सम्म कुनै टुंगो लागेको थिएन । अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको गृहक्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको शेर सुनार समूहले आरोप लगाएको छ।
यसअघि ११ वटा केन्द्रहरूमा राति ८ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको थियो । ढिलोगरी मतदान शुरु भएको स्कटल्याण्डका २ वटा मतदान केन्द्रहरुमा भने राती अबेरसम्म मतदानको समय बढाइएको छ । झन्डै साढे १३ हजार मतदाता रहेको युकेमा निर्वाचन समितिले १३ वटा मतदान केन्द्रहरु तोकेको थियो। कतिपय केन्द्रमा बिहान मतदान शुरु हुनासाथै पासपोर्टसंगै यूटीलिटि बिल पनि देखाउनु पर्ने भने पछि कैयौं मतदाताहरु फर्किएका थिए। निर्वाचन समितिले पासपोर्ट लगायतका फोटो आइडि हेरेर मतदान गर्न दिने नियम लागु गरेकाे थियो।
पूर्व अध्यक्ष घले युकेमा
यसैबीच आफ्नी श्रीमती जमुना घले सहित गएको एक साता देखि बेलायतमै रहेका संघका पूर्व अध्यक्ष शेष घलेले शनिवार अल्डरशटस्थित मतदान केन्द्रमा गइ मतदान प्रक्रियाको अवलोकन गरेका थिए। घले दम्पति संगै एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्य र अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशी पनि अल्डरशट पुगेका थिए।
अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले शनिवार बिहान साउथ ह्यारो मतदान केन्द्रमा पहिलो मत खसालेका थिए । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठले निर्वाचनका लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयंसेवक खटाइएको बताए । एक सय भन्दा बढी उम्मेदवार मैदानमा छन् ।