• लायन्समा देखियो दुइ धार, समाजसेवीको चुनावमा लाखौं खर्च

    March 23, 2019     8:28 am

    ‘अहिले फेरि यस्तै दिनको प्रतिक्षामा छ हाम्रो डिस्ट्रिक’ लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका पुर्व गर्भनर धु्रव थापाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै व्यक्त गरेको अभिव्यक्ति हो यो । ४ वर्ष अघि फेसवुक मा पोष्ट गरिएको फोटोलाई शेयर गर्दै उनले यो स्टाटस लेखेका हुन् । फोटोमा आफ्नो गर्भनरकालमा भावी गर्भनरका रुपमा चित्रित वर्ष २०१६÷१७, १७÷१८ र १८÷१९ का गर्भनरहरु बालकृष्ण बुर्लाकोटी, धनराज आचार्य र अशोक श्रेष्ठसंग हातमा हात मिलाइएकोे छ । उनको चिन्ता जस्तै यतिबेला आम पोखरेली लायन्सले नेतृत्वका लागि हुने लायन्सको चुनावका वारे चिन्ता जाहेर गरेका छन् ।


    ‘हामी सेवा गछौर्’ भन्ने नाराका साथ १ सय वर्ष अघि स्थापित लायन्स क्लब अन्र्तराष्ट्रियले सेवा, मानवता, नेतृत्वलाई आफ्नो मुल मर्म मान्ने गरेको छ । यो संगै आपसी भाइचारा अर्थात फेलोसिपलाई पनि यसले उच्च प्राथमिकतामा राखेको हुन्छ । आपसी समझदारीमा प्रत्यक वर्ष नेतृत्व हस्तान्तरण गर्ने यसको अर्को सुन्दर पक्ष हो । तर केही वर्ष यता भने नेतृत्वका लागि भएको हानाथाप र खिचातानीले यसको गरिमामा आँच आएको स्वयम लायन्स क्लबमा लागिरहेकाहरुले नै स्विकार गरेका छन् । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालमा नेतृत्वको चुनावका कारण स्पष्ट दुइ धार देखा परेको छ । लायन्सको अधिवेशन नजिकिदै गर्दा नेतृत्वमा पुग्नका लागि चुनावमा होमिन ध्रुव श्रेष्ठ र विश्वेश्वर आचार्यले मनोनयन दर्ता गरेपछि लायन्स मा दुइ खेमा देखिएको हो ।
    वैशाख १३ र १४ गते पोखरामा हुने डिष्ट्रिक्टको सातौं महाधिवेशनका लागि दुवैले उम्मेदवारी घोषणा गरेका हुन् ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेका विश्वेश्वर आचार्यले बिगत केही वर्षदेखिको योजना अनुरुप आफुले सेकेण्ड भाइस गनर्भरमा उम्मेदवारी प्रस्तुत गरेको दावी गरे । ‘लायन वर्ष २०१९÷२० का लागि मैले सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले भने, ‘लायन वर्ष २०२१÷२२ मा गभर्नर बन्ने योजना सहित बिगतदेखि नै क्याबिनेट सेक्रेटरी लगायत लायन्सका नेतृत्वदायी भूमिकामा रहँदै आइरहेको छु ।’ २० वर्ष अगाडि लायन्समा प्रवेश गरेका आचार्यले लायन्सको क्याबिनेट सेक्रेटरी लगायत विभिन्न पदीय जिम्मेवारी बहन गरेका छन् । उनी लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पुर्व अध्यक्ष हुन् । पोखरा, काठमाडौं र मोफसलका क्लबहरुको साथ र समर्थनबाट आफू उत्साही बनेको आचार्यले दावी गरेका छन् । उम्मेदवारी प्रस्तुत गरेसँगै दुवै उम्मेदवार यतिबेला प्रचारप्रसारमा जुटेका छन् । आचार्यले चुनावी प्रचारप्रसारका लागि सचिवालय स्थापना गरिसकेका छन् ।


    सेकेण्ड भाइस गभर्नरका लागि अर्का उम्मेदवार श्रेष्ठ डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का चिफ एडभाइजर तथा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् । ४२ वर्ष देखि लायन्समा लागेका श्रेष्ठ भने आफ्नो मनोनयन दर्ता भए पनि आफु अझै सहमतीकै पक्षमा रहेको बताए । सन् १९७७ बाट लियो क्लबबाट लायन्सको यात्रा शुरु गरेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपुर्णमा १९८७ मा आवद्ध भएका थिए । ‘पुरानो क्लब भएको हिसावले पहिले पहिले नेतृत्वका लागि हामीलाई सोध्ने गरिन्थ्यो तर अहिले नेतृत्व गर्ने हाम्रो पालोमा हामी जुध्न लागिरहेका छौं ।’ श्रेष्ठले भने ‘म अझै पनि सहमती हुन्छ भन्ने कुरामा दृढ विश्वास राख्छु र मेरो तर्फबाट सहमतीको लागि ढोका सदैव खुल्ला राखेको छु ।’ मनोनयन दर्ताका लागि पनि आफुले धैर्यता साँच्दै अन्तिम समयमा मनोनयन दर्ता गरेको उनले जिकिर गरे । नेतृत्वको कोर्षमा प्रवेश गर्नका लागि मात्रै मनोनयन दर्ता गरेको दावी गर्दै श्रेष्ठले अन्तिम समय सम्म सहमती र समझदारीको पर्खाइमा रहेको बताए ।
    ‘हामीले सहमतीको अधिकतम प्रयास गरेका छौं । पोहोर पनि मैले अन्तिम समय सम्म मिलाउने प्रयास गरेको थिएँ ।’ पुर्व गर्भनर धु्रव थापाले भने ‘सहमती तथा समझदारी गराउने कुरा जसले गरेपनि हुन्छ । मैले गर्दा जस जति मेरो मा आँउछ भन्ने होइन यो लायन्सकै मर्यादाको कुरा हो ।’ काठमाण्डौ, पोखरा तथा पोखरा आसपासका जिल्लाका लायन्स क्लबहरु रहेको लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वानमा गर्भनरको लाइनका लागि हरेक वर्ष आलोपालो सेकेण्ड भाइस डिस्ट्रिक गर्भनर बनाउने सहमती रहेको छ । अघिल्ला दुइ वर्ष काठमाण्डौ र दुइ वर्ष पोखराले पाउने सहमती भएको थियो ।
    लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका निवर्तमान गर्भनर धनराज आचार्य पनि सर्वसम्मत रुपमा नेतृत्वको चयन होस् भन्ने पक्षमै रहेका छन् । उनले भने ‘लोकतान्त्रिक पद्दतीमा निर्वाचन सामान्य पकृया हो तर पनि लायन्सहरुको मन र मत विभाजन नहोस् भन्नका लागि सामान्यतया निर्वाचन नहोस् भन्ने मान्यता राखेको छु ।’ डिस्ट्रिकले दुइ पक्ष विच सहमतीका लागि औपचारिकरुपमा कुनै संयन्त्रको निर्माण नगरेको भए पनि आचार्यलाई अनौपचारिक रुपमा यो जिम्मेवारी तोकेको छ ।
    ‘स्वच्छ प्रतिस्पर्धा सबैको अधिकार हो तर चुनावले कहीँ न कहीँ तुष छोडकै हुन्छ त्यसैले हामी सकभर मिलाएर सर्वसम्मत बनाउने प्रयासमा रहेका छौं ।’ लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वानका नेपालका गर्भनर अशोक श्रेष्ठले भने ‘मिलेर जानु भन्दा उत्तम केही छैन ।’ आफ्नो काँधमा अधिबेशन सफल बनाउने दायित्व पनि भएकोले सहमतीको पहलका लागि पुर्व गर्भनरहरुलाई जिम्मा दिएको उनले बताए ।
    अहिले संसार भरि ४ सय ५३ डिस्ट्रिक रहेको छ । सामान्यतया एउटा डिस्ट्रिकमा ५७ देखि ६० क्लब रहने गर्दछ । डिस्ट्रिक ३२५ वि वानमा ३ सय ६९ क्लबहरु रहेका छन् । यो संख्या ठुलो हो । चांडैनै वाइफर्गेसनमा जानैपर्छ । यदि यसो भयो भने नेपालमा १२ देखि १८ वटा डिस्ट्रिक बन्ने छ । चुनावका लागि प्रत्यक क्लबका १० जना सदस्य बराबर एक भोट रहने व्यवस्था रहेको छ ।
    यस अघि पनि लायनवर्ष २०१७÷१८ मा इन्दु लम्साल र मणिश्री रत्न बज्राचार्य सेकेण्ड भाइस प्रेसिडेण्टका लागि आमने सामने भएका थिए । यस्तै लायनवर्ष २०१८÷१९ मा मनबहादुर रोका भर्सेस मणिश्री रत्न बज्राचार्य चुनावी मैदानमा उत्रिएका थिए । सेकेण्ड भाइस प्रेसिडेण्टका लागि भुगोल शेरचन र धु्रव थापा तथा धनराज आचार्य र अशोक श्रेष्ठ विचको चुनावी प्रतिस्पर्धा टरेको थियो । एकअर्कालाई नेतृत्वमा पालो दिएकाले चुनाव टरेको धु्रव थापाले बताए । आफुले अहिले पनि त्याग र सम्झौताकै लागि उम्मेदवारहरुलाई मिलाउने प्रयास गरेको थापाले जिकिर गरे ।
    लोकतान्त्रिक पद्दतीमा निर्वाचन ठुलो कुरा होइन । तर स्वयमसेवा गर्ने सामाजिक संस्थामा चुनाव भन्दा सहमतीले राम्रो सन्देश दिने लायन्स क्लबमा लागेका सदस्यहरुले जिकिर गरेका छन् । चुनावी माहोलका लागि उम्मेदवारहरुले लायन्सलाई आफ्नो प्रभावमा पार्न कक्टेल पार्टी समेत दिन थालिसकेको छ । अघिल्ला चुनावको अनुभवलाई हेर्ने हो भने पनि चुनावमा गरिने खर्चको हिसाव प्रति उम्मेदवार ५० लाख भन्दा माथी रहेको पोखराको एक लायन्स क्लबका सदस्यले बताए । समाजसेवी संस्थाको नेतृत्व हत्याउन गरिने यो खर्चले नेतृत्वमा आएपछि हुने फाइदालाई कसरी हेर्ने भन्ने पनि प्रश्न उठ्ने उनले सुनाए । चुनावका कारण नेतृत्वमा मात्रै होइन क्लबहरुमा नै यसको असर देखिएको छ । क्लबमा रहेका सदस्यहरुकै मतविभाजन हुने हुँदा क्लबमा रहेका सदस्य विच नै मनमुटाव देखिने सम्भावना रहेको छ । चुनावका कारण लायन्समा पनि राजनीति हावी भयो भन्ने गुनासो पनि बढेको छ । यसले लायन्स क्लबमा लागेका सदस्यहरुमा पनि नैराश्यता छाएको छ । पोखरेली लायन्सहरुको चाहना चुनाव भन्दा सहमती र समझदारीमा गएर नेतृत्व चुन्न पाइयोस भन्ने नै रहेको छ ।
    चुनावमा एक अर्काका विरुद्ध भिडदा हिलो छ्यापाछ्याप पनि भइरहेको छ । सामाजिक सञ्जालमा एकका विरुद्ध अर्कोले नकारात्मक प्रचार गर्दा त्यसले समग्र लायन्सकै बदनामी हुने निश्चित छ । चुनावका कारण लायन्स दुइ कित्तामा विभाजित बनिसकेको छ । भेटै नहुने दुइ किनारा बन्नु हुदैन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।