• अमेरिकी डिभी निशुल्क कार्यक्रम हाे, फाराम भरेकाे पैसा तिर्नु पर्दैन- कन्सुलर माइकल ई. मुसी

    September 13, 2019     10:48 am

    संयुक्त अधिराज्य अमेरिकाले प्रत्येक वर्ष डाईभर्सिटी अर्थात् डिभी भिषा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । चिठ्ठामा आधारित डिभी कार्यक्रमका लागि आगामी अक्टोवरदेखि आवेदन संकलन सुरु हुदैछ । चिठ्ठामा छनौंट भएकाहरु सन् २०२१ मा अमेरिका जान पाउने गरी अक्टोवरदेखि नोभेम्बरसम्म आवेदन खुल्ला गरिन्छ । ग्रीनकार्ड पाउने सबैभन्दा सजिलो तरिकाको रुपमा रहेको डिभी कार्यक्रम अमेरिकी सरकारले अनलाईनमार्फत संकलन र छनौट गर्ने चिठ्ठा कार्यक्रम हो । यसमा सहभागि हुन कुनै पनि शुल्क लाग्दैन । सजिलो गरि आफै भर्न सकिने हुँदा पैसा तिरेर कन्सल्टेन्टको सहयोगमा आवेदन भर्न पर्दैन । प्रस्तुत छ डिभी कार्यक्रमबारे नेपालका लागि संयुक्त अधिराज्य अमेरिकी राजदुतावास काठमाण्डौका कन्सुलर माइकल ई. मुसीसंग गरिएको कुराकानी ।

    नेपालका लागि संयुक्त अधिराज्य अमेरिकी राजदुतावास काठमाण्डौका कन्सुलर माइकल ई. मुसी

    डाइभर्सिटी भिसा डिभी भनेको के हो ? डाइभर्सिटी कार्यक्रम सन् १९९० बाट शुरु भएको हो । अमेरिकी संसदबाट कानुन बनाएर आएको कार्यक्रम हो । वास्तवमा यो कार्यक्रमको उद्देश्य भनेको अमेरिकामा विविधता बढाउनु नै हो । त्यसकारणले यो कार्यक्रमका लागि हरेक देशबाट जसलाई इच्छा छ ती व्यक्तिले दर्ता गर्न सक्छ । यदि यो प्रकृयाबाट डिभिमा उसको नाम निस्कियो भने भिसा निवेदनका लागि मौका हुन्छ ।

    डिभी परेपछि भिसा पक्का हुन्छ त ? धेरैलाई जिज्ञासा लाग्न सक्छ यो विषयमा । डिभि परेपछि भिसा लागि हाल्छ कि भन्ने पनि लाग्न सक्छ । तर, भिसा पक्कै लागिहाल्छ भन्न सकिदैन । अन्र्तवार्ता हुन्छ । त्यसमा उसले पेश गरेको डकुमेन्ट, उसको पृष्ठभुमीले उसले भिसा पाउने कि नपाउने निर्धारण गर्छ । भिसाका लागि हामीले तोकेको मापदण्ड पुरा गरेको छ भने भिसा पाउँछ । पुरा गरेको छैन भने पाउँदैन ।

    डिभी कार्यक्रममा कति मानिसहरु छनौट हुन्छन् ? यो कार्यक्रममा संसारभरबाट हरेक वर्ष ५० हजार व्यक्ति अमेरिका जान सक्छन् । तर, यो कार्यक्रममा ५० हजार भन्दा बढि छानिएका हुन्छन् । अन्र्तवार्तापछि ५० हजारसम्मले मात्रै भिसा पाउन सक्छ । हामीले क्षेत्र तोकेका हुन्छौ । एशिया क्षेत्रबाट लगभग १५ हजार व्यक्ति छानिन्छन् ।

    एउटा देशबाट कति मानिस जानसक्छन ? संसारबाट ५० हजार जना छनौट भएपनि एउटा देशबाट त्यसको ७ प्रतिशत मात्रै छनौट हुने गर्छ । उदाहरणका लागि नेपालबाट हरेक वर्ष यो कार्यक्रम मार्फत ३ हजार ५ सय सम्मले भिसा प्राप्त गर्न सक्छन् ।

    छनौट कसरी हुन्छ ? अमेरिकाको केञ्टकी राज्यमा केञ्टकी काउन्सलर सेन्टर (केसिसि) भन्ने एउटा निकाय छ । केसिसिले यो कार्यक्रम चलाउछ । केसिसिले हरेक देशबाट दर्ता भएको आवेदन लिएर इलोक्ट्रोनिक माध्यमबाट र्याण्डम तरिकाले सबैजनाबाट छनौट हुन्छ । कसैकसैलाई लाग्न सक्छ र्याण्डम छनौट हुने भए त जति धेरै पटक भर्यो उति धेरै पर्नसक्छ । तर, त्यस्तो हुदैन । एकपटक भन्दा बढि भर्नेको आवेदन स्वतः रद्द हुन्छ । परिवार सहित भर्नेहरुले श्रीमान श्रीमती दुवैजनाले आवदेन दर्ता गर्नसक्छ । आफ्नो श्रीमान श्रीमती तथा छोराछोरीको पुरा विवरण फोटो सहित भर्नुपर्ने हुन्छ । छनौट भएमा २१ वर्षभन्दा कम उमेरका छोराछोरी सहित जान पाउने हुन्छ ।

    नेपालबाट यो कार्यक्रमका लागि कति जनाको आवेदन पर्छ ? हरेक वर्ष वढिरहेको छ । ५ वर्ष अगाडी ७ देखि ८ लाख सम्म पुगेको थियो । गत वर्षको जानकारी आएको छैन । त्यो भन्दा अघिल्लो वर्ष १० देखि १२ लाखले यो कार्यक्रममा भाग लिएका थिए ।

    कस्ता व्यक्तिले डिभी कार्यक्रममा आवदेन दिन सक्छन ? आवेदन दर्ता गर्नका लागि कुनै सिमा छैन । सवैले भर्न सक्छन् । तर, यदि छानिनु भयो भने अन्र्तवार्ता गर्ने वेलामा मापदण्डहरु हेरिन्छ । सबैभन्दा पहिलो आवेदकले यहाँको प्लस टु लेभल पास गरेको हुनुपर्छ । यदि कसैको शैक्षिक योग्यता प्लस टु पास पनि छैन भने हामी यो डिभी कार्यक्रममा आवेदन दर्ता नगर्न सुझाव दिन्छौं । अन्र्तवार्ताका बेला शुल्क तिर्नुपर्ने हुन्छ । यदि यहि कारणले भिसा अस्विकृत भयो भने उक्त व्यक्तिलाई पनि नराम्रो लाग्छ । हामीलाई पनि नराम्रो लाग्छ । यो वाहेक सुरक्षा, स्वास्थ्य र आर्थिक अवस्था पनि मापदण्ड रहेको छ । प्रहरी रिपोर्ट पेश गर्नुपर्छ । यहाँको मात्रै होइन, कोही व्यक्ति एक वर्ष वा सो भन्दा बढि समय विदेश बसेको छ भने उक्त व्यक्ति बसेको देशको प्रहरी रिपोर्ट पनि संलग्न गर्नुपर्ने हुन्छ । आवेदकलाई सरुवा रोग लागेको हुनु भएन । आइओएम मान्यता प्राप्त डाक्टरहरुले उनीहरुको स्वास्थ्य जाँच गर्छन । अर्को महत्वपुर्ण कुरा आवेदकको आर्थिक अवस्था पनि हेर्नुपर्ने हुन्छ । यो किन पनि हेर्नुपर्ने हुन्छ भने फरक देश जाँदा शुरुमा गाह्रो हुनसक्छ । अमेरिका गइसकेपछि त्यहाँ उसले आफ्नो खुट्टामा नउभिन्जेलसम्म उसलाई सहयोग गर्ने नजिकको नातेदार व्यक्ति हुनुपर्छ ।

    यो कार्यक्रममा कस्तो अवस्थामा भिसा अस्विकृत हुन्छ ? मेरो विचारमा जसले प्लस टु लेभल पास गरेको छैन उसले नक्कली प्रमाणपत्र पेश गर्छन । हाम्रो अनुभवले ती प्रमाणपत्र ठम्याउन सक्छ । नेपालको सरकार र सम्बन्धित शैक्षिक निकाय संग समन्वय गरेर हामीले पुष्टी गर्न सक्छौं । सायद यो सवैभन्दा धेरै आउने समस्या हो । कसैकसैले अमेरिकाबाट त्यहाँ भएका व्यक्तिहरुसंग आर्थिकका विषयमा नक्कली कागजपत्र पनि मगाएको पाउने गरेका छौं । यो विषय अलि गाह्रो छ । अमेरिकामा करको निकाय आइआरएसबाट त्यो सबै मगाएको हुन्छ । नक्कली बनाउन गाह्रो छ । कहिलेकाँही आवेदक र अमेरिका हुने उनको सहयोगी नजिकको हो या होइन भन्ने पनि विचार गर्नुपर्छ । यदि नजिकको होइन भने अर्को मान्छेलाई खोज्नुपर्छ । भिसा अस्विकृत आधारहरु यिनै नै हुन् ।

    डिभी पर्दैमा अमेरिका जान पाइन्छ भन्ने त होइन ? होइन । विल्कुलै होइन । डिभीमा नाम छानिदैमा भिसा पाइदैन । यो भनेको भिषा प्रक्रियाको लागि छनौंट हुनु हो । भिषाका लागि अन्तर्वार्ताको मौका हुन्छ । अन्र्तवार्तामा पेश गरिएको डकुमेण्टको अध्ययन हुन्छ । कन्सुलर अफिसरले आवेदकको आवश्यक योग्यता छ कि छैन भन्ने जाँच गर्छ । अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छन् कि छैनन् भन्ने ग्यारेन्टी भएपछि मात्रै भिषा पाइन्छ । यसको साथै आर्थिक वर्ष सन् २०२१ का लागि संसारभरबाट ५० हजार डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ । जसमा त्यो कोटा पुरा भए पनि छनौटमा परेकाहरुलाई दुतावासले भिषा दिन असमर्थ हुन्छ ।

    नक्कली कागजपत्र पेश गर्नेलाई कारवाहीको सिफारिस पनि गर्नुहुन्छ ? हामीले सिफारिस गर्दैनौ । तर, यदि नेपाल सरकारको निकायको कागजपत्र हो भने हामीले प्रहरीलाई उक्त कागजपत्र उपलब्ध गराउछौं । कारवाही गर्ने वा नगर्ने भन्ने विषय यहाँको प्रहरीको हो । त्यस्ता नक्कली कागजपत्र पेश गर्नेहरुलाई प्रहरीले कार’बाही गरेको अनुभव छ ।

    डिभि खुलिसकेपछि डिभीका नाममा व्यापार गर्नेहरु पनि हुन्छन् । कतिपय ठाउँमा त्यहाँबाट भर्दा पर्ने सम्भावना धेरै भन्ने प्रचार पनि गरिएको हुन्छ । यस्तो सम्भावना रहन्छ र?
    होइन । मानिसमा यो विषयमा धेरै खालका भ्रमहरु हुनसक्छ । कुनै निश्चित ठाउँमा भरेर पर्ने सम्भावना शुन्य प्रतिशत पनि हुदैन । यो प्रकृया निशुल्क हो । फाराम भरे वापत पैसा लाग्दैन । यदि छानिनुभयो भने अन्र्तवार्ताका बेलामा शुल्क लाग्छ । त्यसभन्दा अगाडी कुनै शुल्क लाग्दैन । हामी के सुझाव दिन्छौ भने यो फाराम भर्ने प्रकृया आफैले पुरा गर्नुहोस् । फाराम आफैले भर्नु सबैभन्दा उत्तम हो । डिभिका नाम खोलिएका कुनै पनि ठाउँमा जान आवश्यक छैन ।

    डिभीको फाराम भर्ने नाममा मनपर्दी शुल्क असुलिरहेका हुन्छन् । यसमा तपाईहरुको चासो हुन्छ कि हुदैन ? हामीलाई यो हाम्रो कार्यक्रम भएकाले चासो त स्वभाविक रुपमा हुन्छ । तर, हामी केही गर्न सक्दैनौ । हाम्रो कर्तव्य भनेको यो कार्यक्रममा सहभागी हुन चाहनेलाई यो निशुल्क कार्यक्रम हो भनेर सुसुचित गर्नु हो । तर त्यसरी शुल्क लिएकाहरु विरुद्ध भर्ने व्यक्तिहरुले भने प्रहरीमा उ’जुरी गर्न सक्छन् ।

    फाराम भर्दा के के कुरालाई ध्यान दिनुपर्छ ? सबैभन्दा पहिले त साँचो विवरण भर्नुपर्छ । आफुले भरेको व्यक्तिगत विवरण सत्य हुनपर्छ । फोटो सहितको विवरण भर्नुपर्छ । भरेर बुझाइसकेपछि कन्फर्मेसन नम्बर आउँछ । त्यो नम्बर अत्यन्त महत्वपुर्ण हुन्छ । अक्टोवरदेखि नोभेम्वरको पहिलो हप्ता सम्म दर्ताको समय हुन्छ । मे महिनामा त्यसको नतिजा आउँछ । त्यो कन्फर्मेसन नम्बर लिएर डिभी लोटरीको वेभसाइटमा नतिजा हेर्न सकिन्छ । छानिएको छ या छैन भनेर थाहा पाउन कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । त्यसैले यो कन्फर्मेसन नम्बरका लागि दर्ता गरेर प्रिन्ट गरेर सुरक्षित राख्नुपर्छ । चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा डिभीकाे वेभसाइटमा गएर आवेदन फारम भर्नु पर्ने हुन्छ । यो भर्न त्यति गाह्रो हुदैन । आफै भर्न सकिन्छ । वा आफन्तको सहयोगमा भर्न सकिन्छ । यसमा आवेदकको व्यक्तिगत विवरण सोधिएको हुन्छ । विवाहित महिला वा पुरुषले आवेदन भर्दा आफ्ना पति पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका अविवाहित सन्तानहरुको विवरण भर्नु पर्ने हुन्छ ।

    विदेशमा हुनेहरुले नेपालीहरुले डिभी भर्न मिल्छ कि मिल्दैन ? नेपाली नागरिकले विदेशमा जहाँ भएपनि भर्न मिल्छ । नेपाली नागरिक भएको प्रमाणित भने हुनुपर्छ ।

    डिभी भर्दा अविवाहित तर त्यो विचको समयमा विवाहित भए कसरी आवेदन गर्न सकिन्छ ?
    विवाह मानिसको जीवनको व्यक्तिगत कुरा हो । यदि डिभी भर्दा अविवाहित अनि डिभी परेको बेला उनी विवाह गरिसकेको छ भने उसले श्रीमान श्रीमतीकै आवेदन गर्न सक्छ । तर मैले अघि पनि भनिसकें एउटा देशका लागि निश्चित कोटा हुन्छ । डिभी परेकाहरु धेरै पनि हुन सक्छ । नेपालका लागि ३ हजार देखि ३५ सय सम्म डिभी मार्फत भिषा दिन सकिन्छ । यो संख्यामा उनीहरु पर्न सकेको खण्डमा दुवै जनाको भिषा हुन सक्छ । तर डिभी भरेको बेला बच्चा नभएको अनि विचको समयमा बच्चा भएको खण्डमा यस्तो अवस्थामा बच्चालाई बढि प्राथमिकतामा राखिन्छ । किनभने बच्चालाई छोडेर जाने अवस्था त हुदैन ।

    अन्र्तवार्ताका लागि डकुमेन्ट पेश गर्दा के कुरामा ध्यान दिनुपर्छ ? अगाडी पनि यो कुराका बारेमा हामीले छलफल गरिसक्यौं । ४ वटा क्षेत्रका विषयमा डकुमेण्ट पुर्ण हुन जरुरी छ । पहिलो शैक्षिक योग्यता, स्वास्थ्य, प्रहरी रिपोर्ट र आर्थिक अवस्था बारे । यस बाहेक पनि डिभी फाराम भर्दा जुन जन्म मिति उल्लेख छ सोही जन्म मिति अनुसारको पासपोर्ट चाहिन्छ । यसका अलावा जन्मदर्ता प्रमाणपत्रमा बाबु आमा दुवैको नाम उल्लेख रहेको हुनुपर्छ । -प्रस्तुती : सञ्जयकुमार मल्ल

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।