• पोखरामा सेतो पुतलीको प्रकोपः ४८ घन्टाभित्रै अस्पताल नपुर्याए ज्योति गुम्न सक्छ

    September 12, 2019     5:30 pm

    पोखरा । पछिल्लो २ वर्षपछि पोखरामा फेरि सेतो पुतलीको कारण आँखामा लाग्ने खत*रनाक रोग देखा परेको छ । जुन रोग सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने सापु भएको डाक्टरको दाबी छ । सेतो पुतलीका कारण आँखामा लाग्ने सापु यस्तो रोग हो, समयमै अस्पताल नगए दृष्टि नै गुम्न सक्छ ।

    ४४ वर्षअघि पोखराबाटै जन्मिएको रोग !
    सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पोखराबाटै उत्पति भएको चिकित्सकको दाबी छ । नेपालमै पहिलो पटक २०३२ मा १६ वर्षमुनीका बालबालिकामा यो रोग देखिएको थियो । यो रोग पत्ता लगाएका डाक्टर मदनकुमार उपाध्याय भन्छन्, ‘यो रोग पहिले ‘आँखा पाक्ने रोग’मै सीमित थियो । तर, पछि आँखा पाक्नेभन्दा गम्भीर प्रकृतिको देखियो ।’ लामो अनुसन्धानपछि उनै डाक्टर उपाध्यायले यो रोगलाई ‘सापु’ नाम दिएका थिए । २ वर्षअघि पोखरामा ५ वर्षको अन्तरालमा यो रोग देखिएको थियो । त्यसको २ वर्षपछि यसपटक सापुको प्रकोप पोखरामै देखिएको छ । यस वर्ष भदौ १६ गतेअघिबाट पोखरामा यो रोग देखिएपछि बिहीबार काठमाडौंबाटै डा उपाध्यायसहितको टोली पोखरा आइपुगेको छ । यो प्रत्येक २ वर्षमा देखा पर्ने खत*रानाक रोग भएको टिचिङ अस्पतालका डाक्टर मदनकुमार उपाध्याय बताउँछन् ।


    अहिले पोखराबाट देशका अन्य क्षेत्रमा पनि सापु फैलिएको विपि कोइराला नेत्र अध्ययन केन्द्रकी आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले जानकारी दिइन् । उनले एकीन तथ्यांक नभएपनि हालसम्म करिब १५ हजार जना यही रोगबाट दृष्टिविहीन भइसकेको बताइन् । ‘प्रत्येक ५ जनामा १ जनामात्रै अस्पतालको सम्पर्कमा आउँछ । यो समस्या सहरमा भन्दा गाउँमा बढी भएकाले पनि एकीन तथ्यांक निकाल्न गाह्रो छ,’ उनले भनिन् । डा खरेलले पछिल्लो समय सापु रोग महामारीकै रुपमा फैलिँदै गएकोमा चिन्ता व्यक्त गरिन् । ‘यो रोगले छोटो समयमै आँखामा समस्या पार्छ,’ उनले भनिन्, ‘यसलाई थोपा औषधीले काम गर्दैन । इन्जेक्सन वा शल्यक्रिया गर्नुपर्छ ।’ उनले शल्यक्रिया गर्न १५ देखि २० हजारसम्म खर्च लाग्ने जानकारी दिइन् ।

    गण्डकी प्रदेशमा धेरै
    सेतो पुतलीको झुसका कारण लाग्ने यो रोग पछिल्लो समय गण्डकी प्रदेशमा सबैभन्दा धेरै देखिएका छन् । बिहीबारसम्म मात्रै हिमालय आँखा अस्पतालमा यही समस्या लिएर ६ जना विरामी पुगेका छन् । गण्डकीमा पनि कास्की जिल्लालाई यो रोगको धेरै जोखिममा रहेको हिमालय आँखा अस्पतालका डाक्टर हरिमाया गुरुङ बताइन् । उनले अस्पतालको सम्पर्कमा आएका ३५ पीडितमध्ये कास्कीका मात्रै ३० जना विरामी रहेको बताइन् । ‘पछिल्लो पटक सन् २०१७ मा देखिएको थियो । त्यसको २ वर्षपछि फेरि यो वर्ष देखिएको छ,’ डा गुरुङले भनिन्, ‘यो रोग प्रत्यके २÷२ वर्षमा देखिँदै आएको छ । बुधबारमात्रै एकैदिनमा ४ जना विरामी भर्ना भएका छन् ।’ यस वर्ष भदौ १६ गतेभन्दा अघि १ जना र त्यसपछि ५ जना अस्पतालको सम्पर्कमा आएको उनले सुनाइन् ।

    ४८ घन्टाभित्रै अस्पताल नपु¥याए ज्योति गुम्न सक्छ
    धेरै कारणले आँखामा समस्या आउन सक्छ । तर त्यो सापुकै कारण हो भनेर कसरी छुट्याउने त ? डा उपाध्याय भन्छन्, ‘आँखा अचानक रातो हुँदै जान्छ, आँखाको नानीमा सेतो दाग देखिन थाल्छ, उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुँदै जाने सापुको लक्षण हो ।’
    आँखा होस् या अन्य समस्या । सबैभन्दा पहिले धेरै नेपालीको बानी आफैं डाक्टर बन्ने छ । तर, त्यस्तो हेलचक्य्राइँ नगर्न डा. उपाध्याय सुझाउँछन् । ‘आफैंले मेडिकलबाट आइ ड्रप किन्ने हाल्ने गर्नु हुँदैन । तत्काल अस्पताल पु¥याइएन भने ज्योति नै गुम्न सक्छ,’ उनको सुझाव छ । सेतो पुतली उज्यालो बत्तिमा बढी आकर्षित हुने हुनाले त्यसबाट बच्न उनले सुझाए । ‘सेतो पुतलीको सीधैं संसर्गबाटमात्रै यो रोग लाग्छ भन्ने हुँदैन । पर्दा, सिरक, टाबेल झ्याल लगायतबाट पनि आँखामा समस्या निम्त्याउन सक्छ,’ उनले भने, ‘यसले एउटा आँखाको मात्रै दृष्टि गुम्छ । अर्कोलाई सर्दैन ।’
    सापु रोग आँखामा समस्या देखिएको ४८ घन्टाभित्र उपचार भए निको हुन सक्ने डा उपाध्याय जानकारी दिए । ‘४८ घन्टाभित्र उपचार भए निको नै हुन्छ भन्ने होइन । तर तत्काल उपचार गर्दा आँखाको ज्योति गुम्ने खतरा कम हुन्छ,’ उनले भने । उनका अनुसार बालबालिकामा सेता पुतलीबाट धेरै जटिल समस्या देखिने गरेको छ । सापु लागेका विरामीको आँखा समयमै अप्रेसन नै गर्नुपर्ने भएकाले पनि समयमै अस्पताल पु¥याउनु पर्ने चिकित्सक बताउँछन् ।

    पत्ता लागेको छैन कारण
    सेतो पुतलीका कारण सापु लाग्ने भए पनि इन्फेक्सन वा अरु केही कारणले हो भन्ने अझै पत्ता लाग्न सकेको छैन । ४४ वर्ष भइसक्दा पनि यसको मुख्य कारण किन पत्ता लाग्न सकेन त ? ‘टक्सिन वा अन्य केही कारणले हो भन्ने अझै पत्ता लगाउन सकेका छैनौं । सायद मेरो पालामा नलाग्न पनि सक्छ । तर, यसैको खोज गर्न दोस्रो, तेस्रो पुस्ता आइसकेको छ,’ उपाध्यायले भने । कारण पत्ता नलाग्दा उपचारमासमेत समस्या परिरहेको उनको भनाइ छ । उनले सेतो पुतलीकै कारण कसरी सापु फैलन्छ भन्ने विषयमा पुतलीकै बारे अझै बढी अध्ययन गरिनुपर्ने बताए । त्यसका लागि आफ्ना घर वरिपरि वा अन्य कुनै ठाउँमा सेतो पुतली र त्यसका कारण समस्या आइपरे खबर गर्न उनको आग्रह छ ।

    कसरी चिन्ने सापु पैलाउने पुतली ?
    डाक्टरहरुका अनुसार सेतो पुतली करिब ३ सय प्रजातिका छन् । त्यसमध्ये एक प्रजातिको सेतो पुतलीमा शीरतिर तेर्सो र पखेटातिर ठाडो कालो धर्को हुन्छ । यो उज्यालो वस्तु जस्तै बत्ति, पर्दा, कपडा, झ्यालमा बढी आकर्षित हुने चिकित्सक बताउँछन् । पोथी सेतो पुतलीले अन्डा ढाक्न प्रयोग गर्ने झुसका कारण धेरै यो रोग फैलिएको डा. रञ्जुले जानकारी दिइन् । यो पुतली पोखरा आसपासमै बढी पाइने अध्ययनले देखाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।