• पाेखराकाे सहिद पार्कमा ठडिन थाले सालिक

    September 1, 2019     9:30 am

    १४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले पोखराका चोकचोकमा राखिएका विभिन्न विभूतिका शालिकलाई व्यवस्थापन गर्ने अभियान तीव्ररुपमा अगाडि बढाएको छ । महानगरपालिकाले सराङकोट मेथलाङस्थित निर्माण गरिरहेको ‘राष्ट्रिय विभूति तथा शहीद पार्क’को निर्माण तीव्ररुपमा अगाडि बढाएको हो । महानगरले शालिकको व्यवस्थापन गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन उद्देश्यले साराङकोटमा विभिन्न शहीद तथा विपभूतिहरुका पूर्णकद र अर्धकदका शालिकसहित पार्क निर्माण गरेको हो ।

    व्यस्त शहरको चोकमा ठडिएका ती सालिकले ठूलो ठाउँ ओगटेकाले आउजाउमा समस्या भयो । त्यस्ता सालिक (खासगरी लखन थापाको सालिक) स्थानान्तरण गर्न खोज्दा चर्को वि’वादसमेत भयो । तर, महानगरको योजना अर्कै थियो, ‘कुनै निश्चित ठाउँमा एउटा पार्क बनाउने र त्यही पार्कमा सबै सहिद तथा राष्ट्रिय विभूतिका सालिक राख्ने । त्यस पार्कलाई पर्यटकीय गन्तव्य बनाउने र पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने ।’ यही योजनाअनुसार अहिले सराङकोटको जामुनबोटमा सहिद पार्क बनाएर शहरका सालिकलाई त्यहीँ स्थानान्तरण गर्ने कामको थालनी भएको छ ।

    पोखरा १८ सराङकोट, जामुनबोटमा अहिले ५६ रोपनी जग्गामा पार्क तयार भइसकेको छ । पार्क बनाउन महानगरले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये प्रारम्भिक चरणको काम सक्न ४५ लाख रुपैयाँ खर्च भएको महानगरको भनाइ छ । पार्कको सबैभन्दा माथिल्लो भागमा पृथ्वीनारायण शाहको सालिक ठडयाइएको छ । शाहको अघिल्तिरबाट पोखरा बजार क्षेत्र, फेवातालदेखि अन्नपूर्ण हिमशृंखला नियाल्न सकिन्छ । शाहको पूर्णकदको सालिक ६ फिट ३ इन्च अग्लो छ ।

    पार्कमा करिब २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीका स्वकीय सचिव लक्षमण तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तिमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल र जनआन्दोलन ०६२/६३ का प्रथम शहिद भीमसेन दाहालको अर्धकदको सालिक पनि ठडयाइसकिएको छ । अब केही समयपछि दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सालिकसमेत राखिने पोखरा १८ का वडा सदस्य हरि लम्सालले जानकारी दिए । ‘पार्कमा रवीन्द्र ब्लक बनाइन्छ । त्यसमा एउटा ठूलो डमी हेलिकप्टर राखिन्छ । त्यसले स्व. रवीन्द्रको सम्झना ताजा बनाइराख्ने विश्वास लिएका छौं,’ कार्यवाहक वडाअध्यक्षसमेत रहेका लम्सालले भने । उनले पार्कमा व्यायामशाला निर्माण भइसकेको र चाँडै सेमिनार हल, बाल उद्यान लगायत पूर्वाधार बनाइने जानकारी दिए । वीपी कोइराला, भीमसेन थापा, हरि गुरुङ, योगेन्द्रमान शेरचन, लखन थापालगायत २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक पार्कमा राख्ने महानगरको योजना छ । महानगरले पार्क पूर्णरुपमा तयार भइसकेपछि सडक चोकका सबै सालिकहरुलाई पार्कमा स्थानान्तरण गरेर सडक चौडा बनाउने जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।