पोखरा । हिमालय क्लबको आयोजनामा आगामी भदौ १३ देखि १६ गतेसम्म ऐतिहासिक बाटुलेचौर तीज मेला हुने भएको छ । स्थानीय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लबले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय मुल व्यवस्थापन समिति, ४ सय ५२ सदस्यीय आयोजक समिति, ७६ सदस्यीय सल्लाकार समिति र विभिन्न ३१ वटा उपसमिति गठन गरी मेलाको तयारी सुरु गरिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिएका छन् ।
५ दिनसम्म चल्ने मेलामा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा ह्याण्डबल प्रतियोगिता, द्वित्तीय हिमालय कप खुला पुरुष भलिबल, अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, समुहगत तीज गीत तथा नृत्य प्रस्तुती, श्रष्ठा, सहयोगी संस्था, क्रियाशील पत्रकार महिला सम्मान, एकल महिला सहयोग वितरण लगायतका विविध सांस्कृतिक कार्यक्रम गरिने प्रचार संयोजक केशव बस्नेतले बताएका छन् ।
मेलाको ऐतिहासिक पक्षलाई संरक्षण गर्न तीजको पुरानो भाका हम्काईलोको समेत प्रस्तुती रहने बताईएको छ । पोखराकै पुरानो मेलाको रुपमा परिचित बाटुलेचौर तीज मेलालाई थप आर्कषक बनाउन उपसमितिले तयारी सुरु गरेको र विभिन्न संस्थासँग समन्वय गरिएको सचिव प्रकाश थापाले बताए । मेला सम्पन्न गर्न २० लाख खर्च लाग्ने र मेलावाट करिब २५ लाख आम्दानी गर्ने अनुमान क्लबले गरेको छ ।
मेलाबाट बचत हुँदै आएको रकम हिमालय पुस्तकालयको विस्तार सहित विभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । आर्थिक अभावका कारण कतिपय चाडपर्वहरु लोप हुँदै गएको परिपेक्षमा मौलिक पर्व तीजलाई जर्गेना गर्न पनि मेलालाई निरन्तरता दिईएको संयोजक राम जि.सीले बताए । ऐतिहासिक दृष्टिले बाटुलेचौरको तीज मेला वर्षौँ अगाडीबाट आरम्भ भएको स्थानीयको भनाई छ ।