• कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर

    August 26, 2019     10:18 pm

    पोखरा – कास्कीमा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि विभिन्न सरोकारवालाले सचेतना एवं अन्तरक्रिया कार्यक्रम गरे पनि नियन्त्रण नभएपछि सबैलाई चिन्ताको विषय बनेको छ । कास्कीमा गत वर्ष पनि छ सयमा डेङ्गु देखिएको थियो । यस वर्ष तीन साताभित्र २ सय ८० मा डेङ्गु देखिसकेको छ । पोखरा महानगरपालिका–८ भित्र रहेको कवाडी सङ्कलन केन्द्रबाट सो रोग फैलिएको बताइएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालले सबै क्षेत्रबाट डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र सचेतना भइरहेको र यति हुँदाहुँदै पनि नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय भएको बताए । ‘एउटा रोगी लामखुट्टेले सय वटासम्म फूल पार्ने र ती सबै रोगी लामखट्टे जतिले टोक्ने र त्यतिलाई डेङ्गु हुने भएकाले यो जटिल भएको हो’, उनले भने ‘मुख्य कुरा पानी जम्न नदिने, पानीलाई छोपेर राख्ने, घरवरिपरिका निर्माण सामग्रीलगायत अन्य सामग्री खुला रुपमा नराख्ने, पानी जम्न नदिने हो भने धेरै नियन्त्रण हुन्थ्यो ।’ यो स्वास्थ्य कार्यालयको मात्र विषय नभई सम्पूर्ण नागरिक आफ्नो स्वास्थ्यप्रति सजकता देखाउनुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सिनियर मेडिकल अफिसर डा भोजराज गौतमले पोखरा–८, ९ र १७ मा धेरै बिरामी पहिचान भएका बताए । ‘हामी निरन्तर यस रोग नियन्त्रणका लागि कार्यक्षेत्रमा खटिएका छौँ, नियन्त्रणमा ल्याउने हाम्रो प्रयास जारी छ’, उनले भने । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार डेङ्गु लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । जसमा टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी धेरै दुख्ने, ग्रन्थी सुन्निने र शरीरमा बिमिरा निस्कनेजस्ता लक्षण देखिने उनले बताए।

    ज्वरो, बिमिरा र टाउको दुखाइ यी तीन लक्षणलाई डेङ्गुको त्रिभुज मानिन्छ । यसबाहेक डेङ्गुले गिजाबाट रगत आउने, आँखापछाडि असह्य पीडा हुने तथा हत्केला र पैताला राता हुन्छन् । यो रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई सजिलै लाग्न सक्छ । विशेषगरी रोगमा मांसपेशी तथा हड्डीमा निकै पीडा हुने भएकाले यसलाई ‘ब्रेकबोन’ ज्वरो पनि भन्ने गरिएको डा. पाण्डेले बताए । लामखुट्टेले टोकेपछि तीनदेखि आठ दिनभित्र डेङ्गुको लक्षण देखापर्छ । यो रोगमा शुरुमा जाडो हुने, टाउको दुख्ने, आँखा घुमाउँदा दुख्ने, ढाड दुख्ने तथा खुट्टा र जोर्नीमा दुख्ने हुन्छ । शरीरको तापक्रम एकाएक बढेर १०४ डिग्रीसम्म पुग्छ तर हृदयको गति, नाडीको गति र रक्तचाप भने कम हुन्छ ।

    अनुहारमा साना डाबर आउँछन् र स्वतः हराउँछन् । छाती र काँधबाट शुरु भएका बिमिरा हातखुट्टा तथा सम्पूर्ण शरीरमा फैलिन्छन् । रक्तस्रावजन्य डेङ्गु बढी मात्रामा १० वर्षमुनिका बच्चालाई लाग्छ । पेट दुख्ने, रक्तस्राव हुने, रक्तसञ्चार अवरुद्ध हुने, स्वर बस्ने, खोकी लाग्ने, बान्ता हुने र केही दिनपछि बेहोस हुनेसम्म हुन्छ । साथै, निमोनिया एवं मुटु सुन्निनेसमेत हुन सक्ने डा पाण्डेले जानाकारी दिनुभयो । यो रोगको भाइरस एडेस एजिप्टी र एडेस अल्बोपिटस नामका पोथी लामखुट्टेबाट मानिसमा सर्छ ।
    महानगरपालिकाको स्वास्थ्य महाशाखाले घरवरपर जमेको पानी, फोहर, टिन, बोतल, बालटिन, फूलबारीको गमलाको पानी, माटाका भाँडा, टायर, पाइप, खाल्टाखुल्टी, पानीको ड्रम आदि यो लामखुट्टेको आश्रयस्थल भएकाले यी सामग्री तथा स्थानको उचित व्यवस्थापन गरी पानी जम्न नदिन आग्रह गरेको छ । महानगरले विभिन्न वडामा लामखुट्टेको बासस्थानको खोजी गर्दै त्यसलाई नष्ट गर्ने कार्य गरेको छ । कास्कीमा डेङ्गु नियन्त्रणका लागि प्रचारप्रसार र औषधि खरीदलगायत गण्डकी प्रदेश सरकारले रु २१ लाख दिने निर्णय गरेको छ । डेङ्गु सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न बजेट नभएको भन्दै सामाजिक विकास मन्त्रालयसँग महानगरपालिकाले माग गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।