• रेवान भन्छ लेकसाइड २४ सैँ घण्टा खुलाउन पर्छ, होटल सङ्घ भन्छ राती ९ बजेपछि बन्द गर्नुपर्छ

    August 3, 2019     3:09 pm

    पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल (रेबान) पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको छ । लेकसाइडका स्थानीय आमा समूह, सामुदायिक प्रहरी सेवा केन्द्रलगायत होटल व्यवसायीनै साँझको ९ बजेपछि सञ्चालन हुने डान्स बार, क्याबिन रेष्टुराँ, दोहोरी साँझ, गजल, स्पा, डिस्को क्लब बन्दनै गराउनुपर्ने आसयको मागसहित अदालत पुगे पछि यतिबेला पोखरामा यस विषयले निकै चर्चा पाएको छ ।

    पश्चिमाञ्चल होटल सङ्घ (हान)का अध्यक्ष विकल तुलाचन, पूर्वअध्यक्ष गोविन्दराज पहारीसहित ४२ जनाले स्थानीय बासिन्दा र पर्यटकलाई समेत लेकसाइडमा बस्न असहज भएको भन्दै तत्कालका लागि त्यस्तो व्यवसाय बन्द गराउन अन्तरिम आदेश माग्दै रिट दायर गरेपछि व्यवसायी व्यवसायीबीच वैचारिक द्वन्द्व शुरु भएको छ । रातको ९ बजेपछि बिहान ४ बजेसम्म नै रेष्टुराँ र डान्स क्लबमा होहल्ला हुने गरेका कारण स्थानीय बासिन्दा र होटलमा बस्ने पाहुनालाई प्रत्यक्ष असर परेकाले तत्काल त्यस्ता व्यवसाय बन्द गर्न माग गरिएको छ । हान अध्यक्ष तुलाचनले पर्यटन व्यवसायलाई व्यवस्थित गराउन प्रशासनलाई दबाब दिनकै लागि आफूहरुले यसो गरेको बताए । यस विषयमा निर्देशिका बनाएर पर्यटन व्यवसायलाई व्यवस्थित बनाउने पक्षमा आफू भएको उनको भनाइ थियो ।

    रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले आर्थिक समृद्धिको आधार पर्यटन भनेर भनिरहँदा यसलाई व्यवस्थित गरेर अघि बढ्नुको विकल्प नभएको विचार व्यक्त गरे । अर्बौको लगानी रहेको क्षेत्रलाई साँघुरो घेराभित्र राखेर अवरोध सिर्जना गरिनु नहुने र समस्या न्यूनीकरणमा सरकार, व्यवसायी र स्थानीयसहित छलफल गरेर उचित निकासबाट अघि बढ्नु पर्ने रेबानको धारणा रहेको उनको भनाइ छ । निवेदनमा रातिमा चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रङ्गीविरङ्गी बत्तीले जनजीवनलाई असर गरेको र रातको समयमा रेष्टुराँबाट फर्कने ग्राहकको अश्लील व्यवहारबाट नकारात्मक असर पुगेको निवेदकको दाबी छ । चर्को आवाज र झिलिमिली बत्तीले वातावरणीय प्रदूषण बढेको र फेवाताल र सीमसारका जीवजन्तुलाई समेत असर पारेको उल्लेख गरिएको छ ।

    कारण देखाऊ आदेश

    रात्रिकालीन व्यवसायविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको इजलासले बिहीबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्नेबारे छलफल गर्न दुवै पक्षलाई साउन २० गते बोलाएको छ । रिटमा प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा प्रहरी कार्यालय बैदामसहित १० जनालाई विपक्षी बनाइएको छ । अवान्छित र गैरकानूनी क्रियाकलाप हुन नदिनेलगायत शान्ति सुरक्षाको उचित प्रबन्ध गरी प्रहरीको गस्ती बढाउन अदालतले जिल्ला प्रशासन कार्यालय कास्कीलाई आदेशसमेत गरेको हो । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।