प्रकाश डोटेल । स्याङ्जा, ५ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७५÷०७६ मा पौने करोड राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ११ हजार २ सय २८ सवारी साधनलाई कारबाही गर्दा ७२ लाख ६८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो । ट्राफिक प्रहरीले ४ हजार ६ सय ९७ मोटरसाइकललाई कारबाही गर्दा सबै भन्दा बढि ३१ लाख ९६ हजार ५ सय राजश्व संकलन भएको छ । प्रहरीले ३ हजार ४ सय ५४ जिप, भेन र कारबाट २१ लाख ५४ हजार ५ सय राजश्व संकलन गरेको छ ।
सबै भन्दा कम १ हजार १ सय १४ ट्रक कारबाहीमा पर्दा ७ लाख १ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख सहि रेशमबहादुर रानाभाटले बताए । उनका अनुसार १ जहार ६ सय ६१ बसबाट १० लाख १८ हजार ५ सय र ३ सय २ ट्याक्टर कारबाहीमा पर्दा १९ लाख ७ हजार ५ सय राजश्व जम्मा भएको छ । गएको आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७४÷०७५ मा २ लाख ७७ हजार ५ सय बढि राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा भएको १७ सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएमा थिए, भने अघिल्लो वर्ष २७ दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो वर्ष राजश्वमा संकलन कमी आएपनि सवारी दुर्घटनामा भने ह्वात्तै घटेको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो वर्ष करिब डेढ दर्जन स्थान र दुई दर्जन विद्यालयमा ट्राफिक नियमका बारेमा प्रशिक्षित गरेको छ । ट्राफिक प्रहरीले गएको वर्ष संचालन गरेको ‘कडा होईन, मिठो कारबाही’ अभियान प्रभावकारी भएको ट्राफिक प्रहरी हेम मल्लले बताए ।