• चालकको लापरबाही दुर्घटनाको कारक, गण्डकीमा वर्षमै २ सय ३३ को मृत्यु

    July 19, 2019     10:51 pm

    पोखरा/ असार ७ गते पोखराको मणिपाल शिक्षण अस्पतालको हाताभित्रै गाडीले ठक्कर दिएर ३ वर्षीय बालकको ज्यान गयो । त्यो पनि चिकित्सकले नै चलाएको गाडीले ठक्कर दिएर । सर्जरी डिपार्टमेन्टका डाक्टर विश्वदिप तिमिल्सिनाको लापरबाहीको शिकार बने, ३ वर्षीय अवोध बालक संस्कार कडेंल । गएको साल मुक्तिनाथसम्म तीर्थयात्री लिएको हिँडेको गाडीका चालक नै दिएपछि पर्वतमा चुवामा गाडी दुर्घटनामा प¥यो । गएको माघ ३ गते पर्वतकै मालढुंगामा मिनिबस दुर्घटनामा प¥यो । प्रहरीका अनुसार चालकको लापरबाहीकै कारण दुर्घटनामा ७ जनाले ज्यान गुमाए । यी त उदाहरणमात्रै हुन् । पछिल्लो तथ्यांकले भन्छ, ‘जति पनि दुर्घटना भएका छन्, अधिकांश चालककै लापरबाहीले भएका छन् । गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा मात्रै ४ सय १७ दुर्घटना भएका छन् । चालकको लापरबाही, ओभरटेक, मादक पदार्थ सेवन र गाडीमा ओभरलोड हालेर चलाउँदा अधिकांश दुर्घटना भएका छन् । २ सय ७५ दुर्घटना यिनै कारणबाट भएका छन् । गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख वीरेन्द्र बस्याल भन्छन्, ‘यान्त्रिक गडबडी, सडकको अवस्था, पैदलयात्रुका कारणभन्दा बढी चालककै लापरबाहीले भएका धेरै दुर्घटनाले ज्यान लिएका छन् ।’ चालकको लापरबाहीपछि यात्रुका गल्तीले बढी दुर्घटना निम्तिएका छन् । यो आर्थिक वर्षमा २८ दुर्घटना यात्रुका गल्तीका कारण भएका छन् । ‘यात्रुले गर्ने हेलचक्याइँ र असाबधानीले पनि दुर्घटना निम्तिएको छ,’ बस्याल भन्छन्, ‘साक्षरता बढेका कारण गएका वर्षहरुमा भन्दा दुर्घटना भने कम हुँदै गएका छन् ।’ २१ दुर्घटनामात्र यान्त्रिक गाडीको यान्त्रिक गडबडीका कारण भएका छन् । सडकको अवस्थाका कारण ११ र मौषमका कारण जम्मा १ सवारी साधन दुर्घटनामा परेका छन् । यो आर्थिक वर्षमा गण्डकी प्रदेशमा भएका ४ सय १७ दुर्घटनामा ७ सय ७५ जना घाइते भए भने २ सय ३३ जनाले ज्यान गुमाए । यो तथ्यांक भने जेठ मसान्तसम्मको हो । अघिल्लो आर्थिक वर्षमा दुर्घटनाकै कारण ३ सय ३३ जनाको ज्यान गएको थियो । दुर्घटना र मृत्यु हुनेको संख्या भने घट्दै गएको बस्यालले बताए । नागरिक सचेत हुँदै गएका कारण र दुर्घटना हुनेबित्तिकै प्रहरी छिटो घटनास्थलमा पुगेर उद्दार गर्न सहज भएकाले दुर्घटना कम हुँदै गएको उनको दाबी छ । पहिले विशेषगरी ग्रामिण क्षेत्रमा हुने दुर्घटनामा प्रहरीलाई समयमै पुग्नै सकस गर्ने भएकाले धेरै ज्यान जाने गरेको बस्यालको भनाइ छ ।
    मोटरसाइकल बढी दुर्घटनाको कारक
    अहिले प्रत्येक युवाको सपना भइसक्यो, मोटरसाइकल । मोटरसाइकल अब शोखभन्दा पनि आवश्यकता बनिसकेको छ । सम्पन्न परिकारका छोराछोरीका साथमा मोटरसाइकल र गाडी दुबै हुन्छन् । जिकज्याक गर्दै बत्तिकै हिँड्ने, ठूलो आवाज निकाल्ने मोटरसाइकल चालक प्रहरीको हैरानी नै बनिरहेको छ । सहरमा मोटरसाइकलको संख्यामात्रै बढेको छैन, यही दुर्घटनाको कारण पनि बनेको छ । सबैभन्दा बढी मानिसले चढ्ने भएकाले पनि दुर्घटना हुने धेरै दुर्घटना हुने सवारी साधन नै मोटरसाइकल हो । जेठ मसान्तसम्म २ सय ४७ मोटरसाइकल दुर्घटना भएका छन् । त्यसपछि दुर्घटना हुनेमा बस, ट्रक, जिप छन् । १ सय १८ बस दुर्घटनामा परे भने ७४ ट्रक र सोही नै संख्यामा जिप कार दुर्घटनामा परेका छन् । जुनसुकै सवारी साधन दुर्घटनामा परे पनि ज्यान गुमाउनेमा भने युवा नै हुन्छन् । किनकी युवा उमेर समूहका व्यक्ति नै बढी चालक छन् । ‘दुर्घटनामा पर्ने र गराउने दुबै युवाकै संख्या बढी छ,’ प्रमुख बस्यालले भने । १६ देखि २५ उमेर समूहका यो वर्ष १ सय ९३ दुर्घटनामा संलग्न छन् भने २५ देखि ४० उमेरसमूहका २ सय ७८ दुर्घटनामा संलग्न रहेको तथ्यांकले देखाउँछ । ४० भन्दा माथिका उमेर समूहका व्यक्ति भने कम नै दुर्घटनका कारण बनेका छन् । ९९ दुर्घटनामा यो उमेर समूहका व्यक्ति संलग्न छन् ।
    कारबाहीबाटै करोडौं उठ्छ राजस्व
    ट्राफिक प्रहरीले दुर्घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्दा करोडौं रुपैयाँ राजश्व संकलन गर्छ । दुर्घटनाको प्रकृतिअनुसार ट्राफिक प्रहरीले जरिवाना लिने गरेको छ । कसुरका आधारमा ५ सयदेखि १५ सय रुपैयाँसम्म ट्राफिक प्रहरीलाई जरिवाना गराउने अधिकार छ । यो आर्थिक वर्षमा भएका सवारी साधन दुर्घटनामा संलग्नलाई कारबाही गर्दा झण्डै १० करोड रुपैयाँ राजस्व उठेको छ । को तथ्यांक हो । यो आर्थिक वर्षको जेठ मसान्तसम्ममा ९ करोड ९९ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ‘हामी राजस्व संकलनकै लागि भनेर कारबाही गर्दैनौं,’ प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्र बस्याल प्रष्ट पार्छन्, ‘तर, दुर्घटनामा संलग्नलाई कसुर अनुसारको कानुनी दायरामा ल्याउँदा यति रकम उठेको हो ।’ अघिल्लो आर्थिक वर्षमा ११ करोड ७१ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।