राप्ती नदी गाउँ पस्यो, धेरै गाउँहरु डुबानको खतरामा
July 13, 2019 10:13 pm
काठमाडौं असार २८। राप्ती नदी गाउँ पसेको छ। शनिबार अपरान्ह चार बजे नै खतराको तह पार गरेको राप्ती नदी सवा पाँच बजे डुडुवा गाउँपालिकाको कृषि चौफेरीमा पसेको हो।
साविकको होलिया गाविसको कृषि चौफेरी, टेपरी, पिप्रहवागाउँ डुवानको उच्च जोखिममा रहेका छन्। राप्ती नदीको बाढी आउँदा पहिला डुवानमा पर्ने यिनै गाउँ हुन्। योसँगै फत्तेपुरका केही गाउँ डुवानमा पर्छन्। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले भर्खरै कृषि चौफेरीमा राप्ती नदी पसेको जानकारी आएको बताए।
नदीमा पानी तह द्रुतगतिमा बढिरहेकाले अरु गाउँहरुमा डुवानमा पर्ने देखिएका छन्। नदीको सतह ५ मिटर ४० सेन्टीमिटर हुने वित्तिकै साइरन बजाएर तटिय क्षेत्रका बासिन्दालाई अन्यत्र बस्न आग्रह गरिन्छ। नदी आसपासमा साइरन बजिसकेको छ। प्रहरीले गएर उच्च ठाउँमा सर्न आग्रह गरिरहेको छ। कुसुममा मापन भएको पानी फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गंगापुर, नरैनापुर पुग्न ४/५ घण्टा लाग्छ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नदीमा पानीको सतह बढिरहेको र खतराको संकेत भन्दा माथि पुगिसकेकाले सचेत रहन तटिय क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन्। तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन साइरनसँगै जिल्लाका एफएम रेडियोबाट सूचना प्रशारण गरिएको छ।
जिल्ला आपतकालिन केन्द्रले गाउँहरु डुवानमा पर्ने संभावना रहेकाले उद्धार टोलीलाई हाइएलर्टमा राखेको छ। डुवान परेको सूचना आउने बित्तिकै उद्धार टोलीलाई पठाउने तयारी भएको छ।
प्रमुख जिल्ला अधिकारी भुजेलले राप्ती नदीमा पानीको सतह द्रुत गतिमा बढेकाले लक्ष्मणपुर बाँधको ढोका खोल्ने विषयमा भारतीय समकक्षीसँग कुरा गर्ने तयारी गरेका छन्।देशसञ्चार