असार १४ । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ ।
संघले शनिवारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट १७० रुपैयाँ कायम गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
यसअघि कृषकले ठूलो अण्डाको प्रति क्रेट २ सय रुपैयाँ र मध्यम अण्डाको प्रति क्रेट ११५ रुपैयाँ पाउँदै आएका थिए । संघका अध्यक्ष कँडेलले बजारमा अण्डाको भण्डार कम भएपछि मूल्य वृद्धि गरिएको बताए ।
जिल्लामा लामो समयदेखि मागभन्दा बढी अण्डा उत्पादन भएपछि भाउ घटेको थियो । अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालकहरु लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए ।
कँडेलका अनुसार प्रति अण्डाको लागत मूल्य १० रुपैयाँ पर्न जान्छ तर कृषकले सात रुपैयाँमा वितरकलाई बिक्री गर्दै आएका थिए । यो अण्डा बजारमा एउटाको १५ रुपैयाँमा पाइन्छ । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ ।
यस पेशाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् ।
देशमा कुखुरापालन व्यवसायमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ ।