काठमाडौं– ललितपुरमा एक ११ वर्षिय बालकले झुन्डिएर आत्महत्या गरेका छन् । माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दै गरेका समिर लुुङ्वाले सुसाइट नोट नै लेखेर आत्महत्या गरेका हुन्। उनकाे सुसाइड नाेटमा उनी कसैकाे माया नपाएर निराश भएकाे उल्लेख गरेका छन् । स्कुलका शिक्षक र घरमा दाजु भाउज्युले पनि माया नगरेकाे उनले उल्लेख गरेका छन् । असार ७ गते राती ९ बजेतिर घरभित्रै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।
उनका काका शुकबहादुर तामाङका अनुसार समिरले स्कुलमा सर र घरमा दाई भाउजूले हेपेको कुरा बताएका थिएनन्। पढाईमा पनि उनी मेधावी थिए।
प्रहरीले घटनाकाे अनुसन्धान थालेको छ। ‘हामीले सुसाइट नोट पनि हेरिसकेका छौं, केही कुरा शंकास्पद देखिएको छ,’ ललितपुरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले भने, ‘यसबारे गहिरो अनुसन्धान हुन्छ ।’ बच्चाले आत्महत्या गर्ने आँट कसरी राख्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको बताए।
उनले लेखेको सुसाइट नोट यस्तो छ
मेरो नाम समिर लुङ्वा हो। म कक्षा ५ मा पढ्छु। मेरो रोल नम्बर ५ हो। आज म केही कुरा भन्न चाहन्छु। म धेरै दुःखमा छु। मलाई कसैले माया गर्दैनन्। कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गर्नुहुन्छ। घरमा मलाई दाई भाउजूले हेलाँ गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म विरामी हुँदा विरामी भाको छैन भने। म यति भन्दै बिदा माग्छु। म ११ वर्षको भए, म जन्मेको महिना कात्तिक १४ गते हो।