असार ३। अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत १ सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो ।
वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदुरसमेत प्रभावित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार भैरहवाको तापक्रम यो वर्षकै धेरै ४३.३ डिग्री मापन गरिएको थियो । आइतवार ४१.७ र सोमबार सोही हाराहारीमै तापक्रम रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिए ।
पश्चिमी वायु नजिकिएका कारण तापक्रम केही घटेको उनको भनाइ छ । देशका केही भू–भागमा छिटपुट वर्षा भएपनि यस क्षेत्रमा बुधवारदेखि मात्रै वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताए ।
गर्मी बढेपछि रुपन्देहीका स्थानीय तहका निजी तथा सामुदायिक विद्यालय बन्द छन् । सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना लगायतका नगरपालिकाले सूचना जारी गरी १ साताका लागि विद्यालय बन्द भएको जानकारी गराएका हुन् । बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय पनि ४ दिनका लागि बन्द भएका छन् ।
उपसचिव मित्रमणि खनालले सूचना जारी गरी सोमबारदेखि ४ दिनसम्मका लागि विद्यालय बन्द गरिएको जानकारी गराए । गर्मीले विद्यालयमा बालबालिका बेहोस हुन थालेपछि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सामाजिक एकाइ प्रमुख दयासागर पन्थीका अनुसार अस्पतालमा बिरामीको संख्या बढेको छ । भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको उनले बताए । बुटवलका निजी अस्पतालमा समेत बिरामीको भीड छ । गर्मी बढी भएका कारण पानीको मात्रा कम हुने समस्या भएकाले सजग रहन अस्पतालले अनुरोध गरेको छ । शरीरमा घमौरा आउने तथा विभिन्न छालाजन्य रोग लाग्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।
खानेपानी समस्या
रामपुर– पाल्पाको रामपुरमा गर्मी बढेसँगै खानेपानीको समस्या देखिन थालेको छ । जमिनमुनि ट्युववेल गाडेर मोटर तथा चापाकलबाट पानी निकालेर प्रयोग गर्दै आएका नागरिक पानी सुक्न थालेपछि हैरान भएका छन् । रामपुर नगरपालिका–५ का मायादेवी खनालले जमिनमुनिको पानी मोटरबाट तानेर प्रयोग गर्दै आएकामा केही दिनदेखिको खडेरीले समस्यामा पारेको बताए ।
‘निर्माण भइरहेको नयाँ घरमा पटान गर्न समेत समस्या भएको छ, पुरानो ढुंगेधाराबाट बोकेर कति साध्य हुने हो र ?’ उनले भने । दैनिकरूपमा शौचालयमा प्रयोग गर्न, कपडा धुन, तरकारीमा सिञ्चित गर्न, गाईभैंसीलाई खुवाउन पनि समस्या देखिएको छ । पानीको समस्या भएरै बजारबाट उन्नतजातका पानी कम लाग्ने धानको बीउ राखेका कृषकलाईसमेत साँझ बिहान सिञ्चित गर्नसमेत समस्या भएको बताएका छन् ।
रामपुर नगरपालिका–५ कै इन्द्राकुमारी मल्लले पनि ३ परिवारले प्रयोग गर्दै आएको चापाकलबाट पानी निस्कन छाडेपछि विगत १ महिनादेखि पानीको समस्या भएको बताए । पानीका कारण धेरैजसो महिलालाई बढी समस्या भएको देखिन्छ । खानेपानीको समस्या भएपछि दैनिकरूपमा समयमै गर्ने कामधन्दा तथा कार्यालय पुग्ने समयमा समेत ढिलाइ हुने गरेको धेरैको गुनासो छ ।
नगरपालिका क्षेत्रका विभिन्न खोला तथा खोल्सामा भएका मूल धारा पनि आकाशबाट पानी नपरेका कारण सानो भएका छन् । नगरपालिकाका विभिन्न स्थानमा भएका धेरैजसो ढुंगेधारामा बिहान र बेलुका अत्यधिक भीड लाग्ने गर्दछ । रामपुर क्षेत्रका केही भागमा रामपुर साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले उपलब्ध गराएको पानीले भने राहत दिएको यस क्षेत्रका नागरिकको भनाइ छ ।
रामपुर उपत्यकालाई खानेपानी उपलब्ध गराउने उद्देश्यले विक्रम संवत् २०६७ मा योजना बनाएर करीब तीन वर्षदेखि रामपुरका विभिन्न वडामा संस्थाले खानेपानी सुविधा पुर्याइएको छ । गर्मीमा अवस्था हेरेर बिहान ३ घण्टा तथा बेलुका ३ घण्टा गरी दैनिक ६ घण्टा पानी वितरण गरिँदै आएको संस्थाका अध्यक्ष कमलराज भट्टराईले बताए ।
उनका अनुसार नगरपालिकाका बेझाडमा ४/४ लाख लिटरका २, आर्दशनगर डुम्रिगाउँमा २ लाख लिटर तथा कार्कीडाँडामा डेढ लाख लिटरका ट्यांकीमा जम्मा गरेको पानी नगरपालिकाका करीब २ हजार ७ सय घरपरिवारलाई वितरण गरिएको छ । संस्थाले नगरपालिकाका वडा नम्बर ४, ५, ६ र ७ का विभिन्न टोलमा खानेपानी सेवा दिएको छ ।
नगरपालिकाका बेझाड र किसानबारीमा पाँच बोरिङबाट पानी निकालिँदै आएको छ । संस्थाले उपलब्ध गराएको छोटो समय आउने पानीले यस क्षेत्रका नागरिकले प्यास मेटाएका छन् ।
लमजुङमा दिनप्रतिदिन गर्मी बढेसँगै बिरामीको संख्यामा समेत वृद्धि भएको छ । जिल्लाकै सबैभन्दा ठूलो अपस्पताल बेंसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा गर्मीका बिरामीको संख्या वृद्धि भएको हो । मौसम परिवर्तन भएसँगै विषेशगरी ज्वरो, टाइफाइड, वान्ता, झाडापखाला, निमोनियाका बिरामी अस्पतालमा आउने गरेको जिल्ला सामुदायिक अस्पताल लमजुङले जनाएको छ ।
अस्पतालका अनुसार गर्मी शुरू भएपछि दैनिक ८०/९० बिरामी आउने गरेपनि केही हप्ताबाट गर्मी बढी हुन थालेपछि दैनिक ३ सय ५० बढी बिरामी भएर अस्पताल आउने गरेका छन् । बिरामीको संख्या अझै बढ्नसक्ने सामुदायिक अस्पतालका चिकित्सकले बताएका छन् । गर्मीका कारणले नै दैनिक अस्पतालमै ३५ देखि ४० को हाराहारीमा भर्ना गराएर उपचार गर्नुपरेको जिल्ला सामुदायिक अस्पतालका प्रमुख युवराज देवकोटाले बताए ।
ज्वरो, टाइफाइड, झाडापखालासँगै ग्यास्ट्रिकका बिरामी इमर्जेन्सीमा दैनिक ३० देखि ३५ सम्म आउने गरेको जिल्ला सामुदायिक अस्पतालका इमर्जेन्सी ओपिडी इन्चार्ज गणेश गुरुङले जानकारी दिए । गर्मी वृद्धि, धँुवाधुलो, दुषित हावापानी तथा प्रदूषणका कारण झाडापखाला, ज्वरोका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको चिकित्सक बताउँछन् ।
अस्पतालमा विशेषगरी बेंसीशहर, चिती, ढोडेनी, फलेनी, नाल्मा, घनपोखरा, खुदी गाउँशहर, बाझखेत, सुन्दरबजार लगायतका क्षेत्रबाट बिरामी पुग्ने गरेका छन् । अस्पताल पुग्ने बिरामीमध्ये महिला तथा बालबालिका बढी रहेको अस्पतालका प्रशासन तथा लेखा संयोजक हेमन्त श्रेष्ठले बताए । अस्पतालले अहिले ३ विशेषज्ञ चिकित्सक, ५ मेडिकल अफिसरबाट बिहान ९ बजेदेखि ४ बजेसम्म बिरामीको स्वास्थ जाँच गराउँदै आएको छ ।
बेंसीशहर नगरपालिका–८ स्थित झिङ्गेखोलामा रहेको बेंसीशहर अस्पतालमा पनि पछिल्लो समय बिरामीको चाप बढेको छ । सो अस्पतालमा ज्वरो, झाडापखाला, टाइफाइडका बिरामी बढेको बेंसीशहर अस्पतालले जनाएको छ । दैनिक २० देखि ३० सम्म बिरामी आउने गरेको अस्पतालमा कार्यरत चिकित्सक बताउँछन् । यसबाहेक जिल्लामा सञ्चालित विभिन्न स्वास्थ्य संस्था र मेडिकलमा समेत गर्मीका बिरामीको संख्या वृद्वि भइरहेका छन् । गर्मीका बिरामी भएर अस्पताल पुग्नेमा बालबालिका र महिला बढी छन् । – नीरा गौतम, पवित्रा घिमिरे र जनक श्रेष्ठ/रासस