• लाइसेन्सका लागि दिनभरि लाइन लाग्नुनपर्ने व्यवस्था हुँदैछ

    June 13, 2019     6:40 am

    हरिप्रसाद गौतम
    निमित्त कार्यलय प्रमुख
    यातायात व्यवस्था कार्यालय, गण्डकी

    यातायात व्यवस्था कार्यलयको काम कसरी चलिरहेको छ ?
    खासगरि यस कार्यलयको काम सवारी चालक अनुमति पत्र र त्यसको नविकरण गर्ने मात्रै हो । हामीले यसलाई धेरै भन्दा धेरै चुस्तदुरुस्त राख्ने प्रयास गरेका छौं ।
    लाइसेन्सका लागि प्रकृृया कस्तो छ ?
    सेवाग्राहीले शुरुमा लाइसेन्सका लागि अनलाइन आवेदन फर्म भर्नुपर्ने हुन्छ । जुन वेवसाइटमा खुलिरहेको हुन्छ । त्यो समय भित्र फर्म भरिसकेपछि, फोटो खिच्ने, मेडिकल गर्ने मिति त्यहाँ दिइएको हुन्छ । विहिबार लिखित परिक्षा हुन्छ । लिखित परिक्षाको नतिजा आएपछि प्रयोगात्मक परिक्षा हुन्छ ।
    अनलाइन प्रकृयाले काममा कत्तिको सहज बनाएको छ ?
    हामीले पहिलो म्यानुयल प्रणालीमा काम गरिरहेको अवस्थामा अहिले हामीले अनलाइन प्रणालीमा काम गरिरहेका छौं । म्यानुयलमा केही समस्या देखियो । फेक डकुमेण्टहरु पेश हुने, केही अवरोधहरु पनि आएका ले अनलाइन प्रणालीमा गएको हो ।
    अनलाइन प्रणालीमा गए पनि सेवाग्राहीले अझै पनि सास्ती त व्यहोर्न परेको छ नि ।
    कहिलेकाँही प्राविधिक समस्या आँउदा सेवाग्राहीले मात्रै होइन हामीले पनि सास्ती व्यहोर्नु पर्ने हुन्छ । हामीले सेवा दिने हो तर यसको सर्भर केन्द्रमै भएकोले कहिलेकाँही समस्या आँउदा उतैबाट मिलाउने पर्ने हुन्छ । त्यसैले सर्भरमा कहिलेकाँही समस्या आँउदा सेवाग्राहीहरु दैनिक रुपमा भिडमा बस्नुपर्ने, घाममा टट्टिन पर्ने, समयमा सेवा नपाउने गरेको छ । जसको अपसज यस कार्यलयले पाउने गरेको छ । यसले गर्दा पनि हामीले सास्ती खेप्नु परेको छ ।

    सेवाग्राहीले छरितो ढंगले सेवा पाउनका लागि के गर्दैहुनुहुन्छ ?
    यहाँबाट हुने काम भनेको लाइसेन्सको नया दर्ता, नविकरण र रि ट्रायल गर्ने गर्छौ । ३ प्रकृतिका काम हुने हुँदा सेवाग्राहीलाई ३ ठाउँमा लाइन बस्नुपर्ने बाध्यता छ । कार्यलयको आफ्नै भवन नभएको कारण पनि समस्या देखिएको छ । तर पनि हाम्रो क्षमताले भ्याए सम्म सेवाग्राहीलाई सहज होस् भनेर हामीले सेवा दिइरहेका छौं । सेवाग्राहीको चापको तुलनामा हाम्रो जनशक्ति असाध्यै कम छ । प्रविधीमैत्री कार्यलयमा प्रविधीमा पोख्न जनशक्ति हुनपर्नेमा त्यसो हुन नसक्दा पनि समस्या भएको छ ।

    लाइसेन्सका लागि दिनभरि लाइन लाग्नुपर्ने समस्या अझै पनि छ । यसको समाधान छैन ?
    मैले यहि कुरा चितवनमा भएको एउटा गोष्ठीमा कुरा राखेको थिएँ । म त चाहन्छु सेवाग्राहीहरु आउने वित्तिकै एकैछिनमा सबै काम सकेर जाने वातावरण वनोस् । चितवनको सौराहामा यातायात व्यवस्था विभागले राखेको गोष्ठीमा मैले यि कुराहरुलाई राख्दा सिस्टमको खराबीका कारण हुने यो समस्यालाई आगामी दिनमा केन्द्रबाट नै समाधान हुने अपेक्षा पनि मैले राखेको छु । अब श्रावण १ देखि अहिले चलिरहेका सिस्टम परिवर्तन गरि धान्न सकिने सिस्टम प्रयोग गर्ने कुरा भएको छ ।

    लाइसेन्समा बढि चलखेल हुन्छ भनिन्छ नि ? पैसा तिरेपछि लाइसेन्स हात पर्छ भन्ने पनि छ । के भन्नुहुन्छ ?
    अब म आएको करिव डेढ महिना भयो । यस्ता खालका कामलाई नियन्त्रण, निरुत्साहित गर्ने गरेको छु । यसलाइ संधैका लागि निर्मुल पार्नका लागि कर्मचारीहरु संग सहकार्य गरेर जिरोमा झार्ने अठोटका साथ आएको छु ।

    विचौलियाबाट आँउदा लाइसेन्सका प्रकृया छिटो हुन्छ भन्छन नि ?
    विचौलियाले यातायात कार्यलय मात्रै होइन जनसम्पर्क हुने अन्य कार्यलयमा पनि समस्या पारिरहेका छन् । अन्य कार्यलयमा विचौलियको समस्या हटेपनि यातायात कार्यलयमा अझै पनि देखिन्छ । ग्राहकले सुविधा खोज्ने कारण पनि यो समस्या देखिएको हो । आफु चिया खाएर बस्ने अनि विचौलियालाई केही पैसा दिएर काम लगाउने प्रबृति पनि छ । अर्को भनेको हामीसंग जनशक्तिको पनि समस्या छ । धेरै काउण्टर राखेर धेरै जनशक्ति राख्न पाए काम छरितो हुन्थ्यो अनि यो समस्या हट्ने थियो ।
    कर्मचारीको व्यवहारबाट पनि सेवाग्राही हैरान हुन्छ भन्ने गुनासो छ ।
    हामी जनताको सेवा गर्न बसेका कर्मचारी हौं । उहाँहरुले नै तिरेको करबाट हामीले तलब खाने हो त्यसैले सेवाग्राहीलाई सन्तुष्ट बनाउनु हाम्रो कर्तब्य हो । अब मैले भनिहालें जनशक्ति कम छ, चाप बढि छ । तर सबैलाई छिटो सेवा चाहिएको छ । यसले गर्दा पनि समस्या भएको हुनसक्छ । तर सेवाग्राहीलाई गरिने व्यवहार संधै विनम्रनै रहनुपर्छ भन्ने निर्देशन सदैव रहेको छ ।

    यहाँ हुने काम किन दिन भर लाग्छ ?
    होइन । त्यस्तो हुँदैन । कामको प्रकृति हेरेर हुन्छ । फोटो खिच्नु छ भने १०–१५ मिनटमै सकिन्छ । हामीले टोकन प्रणाली पनि लागु गरेका छौं । टोकन मुताविक आफ्नो समयमा आउनुभयो भने आधा घण्टा भित्रै सबै काम सक्न पनि सकिन्छ । संधै एकैनासको काम हुदैन । कुनै वार कामको चाप बढि हुन्छ । कुनै वार कम हुन्छ । दिनभर लाग्ने गरि कुनै पनि काम हुदैन ।

    स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ किन हुन्छ ?
    यो प्रकृया के भने, स्मार्ट लाइसेन्सको अवधारणा नेपाल सरकारले जव ल्यायो, केन्द्रबाटनै यो छापिएर आउने हो । हामीले यहाँ विवरण संकलन गर्ने हो । लाइसेन्स आएपछि वितरण गर्ने हो । लट अनुसारको लाइसेन्स आउने गर्छ । लाइसेन्स आएको नआएको अनलाइनमै हेर्न मिल्छ । विचमा सिरियल टुटेर आएको कारण केही समस्या देखिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।