अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन प्रधानमन्त्री ओली
June 7, 2019 6:07 pm
पोखरा जेठ २४ / भक्तपुरमा ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को सुरुआत गरेका छन्।
प्रधानमन्त्री ओलीले आज भक्तपुरको सुर्यविनायकमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को उद्घाटन गरेका छन्। उनले कार्यक्रमको उद्घाटन गर्दै युवालाई रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रमले सहयोग पुर्याउने बताएका छन्।
अब युवाले विदेशिनु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने।
राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले मुलुकमा सरकार विरोधी केही तत्वहरु सक्रिय भएको बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई इङ्गित गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरुलाई सफल हुन नदिने बताए।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरिएको बताए। उनले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सन्चालनका लागि बजेटको व्यवस्था गरिएको बताए।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भक्तपुरका चार वटै नगरपालिकामा संचालन गरिनेछ।