• स्वदेशमा रोजागरीका अवसर नभएको भन्दै वैदेशिक रोजगारीमा ४३ लाख युवा

    May 28, 2019     8:39 pm

    काठमाडौं– युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

    तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको सङ्ख्या निकै कममात्र रहेको छ । १.५ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत वैदेशिक रोजगारीमा गएका छन् ।

    आव २०७५/७६ को फागुन मसान्तसम्म सबैभन्दा बढी युवा रोजगारीका लािग मलेसिया गएका छन् । मलेसियामा ३०.०१, कतारमा २७.४, साउदी अरबमा २०.०२, संयुक्त अरब इमिरेट्स (युएई) १३.१ र अन्य मुलुकमा ९.२ प्रतिशत रहेका छन् ।

    आव २०७४/७५ मा तीन लाख ३९ हजार १३८ पुरुष र २२ हजार ८०३ महिला गरी तीन लाख ६१ हजार ९४१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । चालू आवको फागुन मसान्तसम्म एक लाख ५६ हजार ९३ कामदार वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या पछिल्ला वर्षमा घट्दो क्रममा रहेको छ ।

    चालू आवको पहिलो आठ महिनाको अवधिमा ५४ हजार ३९ युवा श्रम स्वीकृति लिएर कतार, दुई हजार ७११ मलेसिया, २७ हजार ४१९ साउदी अरेबिया, ४० हजार ८६५ संयुक्त अरब इमिरेट्स र १० हजार ८६ कुवेत गएका छन् । त्यस्तै तीन हजार ११७ बहराइन, एक हजार ७३६ ओमन,दक्षिण कोरिया चार हजार १४२, लेबनान चार, इजराजय ४६, एक हजार सात अफगानिस्तान, ५४७ जापान र १० हजार ३७४ युवा अन्य मुलुक गएका छन् ।

    सरकारले संस्थागत रुपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लािग खुल्ला गरेको छ । त्यस्तै व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लािग भने १६७ भन्दा बढी देश खुल्ला गरिएको छ । सरकारले ११० मुलुकलाई संस्थागत रुपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । हाल लिबिया र इराकमा काम गर्न जान श्रम स्वीकृति दिने कार्य स्थगित गरिएको छ ।

    नेपाली कामदारको मुख्य गन्तव्यका रुपमा मलेसिया, कतार, कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । आव २०६६/६७ देखि २०७५/७६ फागुन मसान्तसम्म करिब ४५ लाख ४० हजार ९०६ युवाले वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिएका छन् ।

    आव २०७५/०७६ को फागुसम्म आव २०७४/०७५ को सोही अवधिको तुलनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको कुल सङ्ख्यामा कमी आएको छ । विगत केही समयदेखि वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य मुलुक मलेसियामा कामदार जान अवरोध भएकाले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको हो ।

    आव २०७३/७४ मा चार लाख १९ हजार ८१३, आव २०७४/०७५ मा चार लाख १३ हजार ७७१ र चालू आवको फागुन मसान्तसम्म तीन लाख ३२ हजार ४२६ युवाले श्रम स्वीकृति लिएका छन् । सरकारले क्षेत्रगत रुपमा राष्ट्रिय रोजगार नीति, २०७१ र वैदेशिक रोजगार नीति, २०६८ कार्यान्वयनमा ल्याएको छ ।

    अन्तर्राष्ट्रिय क्षेत्रमा दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धिमार्फत सुरक्षित रोजगारीको प्रवद्र्धन, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व अभिवृद्धि गर्ने रणनीतिअनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

    सबै नागरिकलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने नीति लिएको छ ।

    कामका लागि पारिश्रमिकमार्फत गरीबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्याउने, स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पुर्याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

    रोजगारीको सिर्जना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनामा श्रमिकको माग हुने र मागबमोजिमका श्रमिकको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत हुने भई सबै स्थानीय तहमा श्रमको माग र आपूर्तिको औपचारिक संयन्त्रको विकास गरिएको छ ।


    –अशोक घिमिरे / रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।