सांसद भए भन्दैमा जथाभावी आरोप नलगाउन मोदीलाई कुलमान घिसिङकाे आग्रह
May 21, 2019 9:05 pm
७ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढि भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन्।
कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारेका छन्।
कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए। उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।