• अमेरिकाको ‘डिभी’ हटाइने, ग्रिन कार्ड प्रणाली पनि परिवर्तन हुने

    May 17, 2019     9:15 pm

    वासिङ्टन डिसी, जेठ ३ : गैरकानूनी अध्यागमनका कट्टर विरोधी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘उत्कृष्ट प्रतिभा’ ल्याउन चाहेको बताएका छन्। वर्षाैंको ढिलाइ र गतिरोधपछि आवासीय कानून सुधार गर्ने यो उनको पछिल्लो प्रयास बुझिएको छ।

    ‘हामीले प्रतिभाविरूद्ध विभेद गरिरहेका छौं,’ वर्तमान नीतिबारे ट्रम्पले भने। पारिवारिक अध्यागमनलाई अहिलेको नीतिले बढी प्राथमिकता दिने उनको तर्क छ। ‘हामी उत्कृष्टविरूद्ध विभेद गरिरहेका छौं। यो पारित भएपछि यस्तो हुने छैन,’उनले भने।

    पछिल्लो प्रयासको नेतृत्व ट्रम्पका ज्वाइँ तथा वरिष्ठ सल्लाहकार ज्यारेड कुश्नरले गरिरहेका छन्। नयाँ नीति सीमा सुरक्षा बढाउन र ‘ग्रिन कार्ड’ प्रणालीबारे पुनर्विचार गर्न केन्द्रित हुनेछ। अमेरिकामा बस्नेहरूको नातेदार ल्याउनेभन्दा पनि उच्चस्तरीय सीप, डिग्री र रोजगारको सम्भावना भएकालाई आकर्षित गर्नु नीतिको प्राथमिकता रहेको बताइएको छ।

    योग्यताको आधारमा उच्चस्तरीय सीप र दक्षता भएका कामदारलाई प्राथमिकता दिने प्रस्तावित प्रणालीले देशमा नाटकीय परिवर्तन ल्याउनेछ। हाल ६६ प्रतिशतलाई पारिवारिक नातासम्बन्ध र १२ प्रतिशतलाई सीपका आधारमा ‘ग्रिन कार्ड’ दिने गरिएको अधिकारीहरूले जनाएका छन्।

    ‘रोज गार्डेन’ समारोहमा सार्वजनिक गरिएको राष्ट्रपतिको उक्त योजनाले, ‘डेमोक्रेट’लाई परै छाडौं, उनकै पार्टीको समर्थन पाउन बाँकी छ। कंग्रेसलाई पनि शंका छ। यो उदारताबाट उनले सन् २०२० को निर्वाचन ताकिरहेको बुझ्न सकिन्छ। ‘हाम्रो योजना अमेरिकीको पक्षमा छ। आप्रवासी र कामदारको पक्षमा छ,’ ट्रम्पले भने। डेमोक्रेटले समर्थन गर्ने ‘अराजकता’ भन्दा योजना भिन्न रहेको उनले बताए।

    राजनीतिक मतभेदका कारण अध्यागमन प्रणाली संशोधन गर्ने प्रयास तीन दशकदेखि अघि बढेको छैन। सन् २०२० को निर्वाचन नजिकिँदै जाँदा कुनै सम्झौता हुने सम्भावना पनि देखिँदैन। यद्यपि, योजनाले ट्रम्प र ‘ग्रान्ड ओल्ड पार्टी’ लाई एजेन्डा दिएको छ।

    ट्रम्पले जोड दिएको योग्यतामा आधारित अध्यागमन प्रणाली ‘अपमानजनक’ भएको हाउस स्पिकर नेन्सी पेलोसीले बताइन्। परिवारको पनि योग्यता हुने उनको तर्क छ।
    योजनाले गैरकानूनी रूपले देशमा बसिरहेका लाखौं आप्रवासीलाई सम्बोधन गरेको छैन। उनीहरूसँगै अमेरिका ल्याउने लाखौं ‘ड्रिमर्स’ बालबालिकाबारे पनि केही बताइएको छैन। यो ‘डेमोक्रेट’हरूको मुख्य प्राथमिकता हो। थुप्रै कट्टर ‘रिपब्लिकन’ले चाहेजस्तो योजनाले समग्र अध्यागमन दर पनि घटाउँदैन।

    अघिल्ला प्रस्तावहरू असफल भएकाले ‘ड्रिमर्स’ आप्रवासीलाई ट्रम्पको नयाँ योजनामा समावेश नगरिएको व्हाइट हाउसकी प्रेस सेक्रेटरी साराह स्यान्डर्सल बताइन्। बुधबार आयोजित ‘ब्रिफिङ’ मा दर्जनौं पत्रकार र बाह्य समर्थक उपस्थित थिए। क्यानडा र अन्य देशमा लागू गरिएको नियमजस्तै योजनाले अंकमा आधारित भिसा प्रणाली सिर्जना गर्ने अधिकारीहरूले बताए।

    नयाँ योजना अन्तर्गत अमेरिकाले अहिलेकै संख्यामा ‘ग्रिन कार्ड’ जारी गर्नेछ। तर, सबैभन्दा धेरै भिसा असाधारण विद्यार्थी, पेशाकर्मी तथा उच्च–स्तरीयर व्यावसायिक डिग्री भएका व्यक्तिले पाउनेछन्। उमेर, अंग्रेजी भाषाको दक्षता र रोजगारको अवसरलाई पनि आधार मानिनेछ। ‘डाइभर्सिटी भिसा लट्री’ अर्थात् ‘डिभी’ पनि हटाइनेछ।
    योजना अनुरूप, अमेरिका प्रवेश नाकाको सुरक्षा बढाउन चाहन्छन्। सबै सवारी साधन र व्यक्तिको जाँच गर्न चाहन्छन्। अमेरिका प्रवेश गर्ने ती नाकाको आधुनिकीकरण गर्न दिगो लगानी र शुल्क पनि बढाउन चाहन्छन्।

    योजनाले लक्षित स्थानमा ‘बोर्डर वाल’ बनाउने र अमेरिकी शरणार्थी प्रणाली संशोधन गर्ने जोडलाई निरन्तरता दिएको छ। थोरै आवेदनको प्रक्रियामात्रै अघि बढाउने र चाँडै योग्य हुन नसक्नेलाई हटाउने योजनाको प्रस्ताव छ।

    अधिकारीहरूले यो राजनीतिक योजना नभएकोमा जोड दिए पनि यसले ‘रिपब्लिकन’लाई एकजुट गर्ने र मतदातालाई पार्टीको पक्षमा ल्याउने आशा व्यक्त गरेका छन्।
    ‘मेरो विचारमा यो योजना डेमोक्रेटको समर्थन पाउनलाई तयार गरिएको हैन। सीमा सुरक्षाबारे रिपब्लिकन पार्टीलाई एकताबद्ध गर्न बनाइएको छ,’व्हाइट निकट सिनेटर लिन्ड्से ग्राहमले भनिन्।

    योजनालाई डेमोक्रेट पक्ष र अध्यागमन अभियन्ताले तत्कालै आलोचना गरे। पछिल्ला वार्ताहरू असफल भएपछि उनीहरूलाई ट्रम्पमाथि विश्वास छैन। डेकोक्रेट र केही रिपब्लिकनले पोहोर सम्झौता गर्ने प्रयास गरेका थिए। सम्झौता सफल भएको भए कलिला ‘ड्रिमर’ आप्रवासीलाई सहयोग पुग्न सक्थ्यो र सीमा सुरक्षाका लागि लगानी पनि जुट्न सक्थ्यो। तर, ह्वाइट हाउसले गैरकानूनी अध्यागमन रोक्न माग गरेपछि वार्ता भंग भयो। सिनेट पनि नाटकिय ढंगमा बन्द भयो। ट्रम्पले त्यही वर्ष प्रस्ताव गरेको अध्यागमन योजना विधायकहरूले अस्वीकार गरेका थिए।

    नेसनल इमिग्रेन्ट जस्टिस सेन्टरको कानूनी सेवाका निर्देशक लिसा कूपले प्रस्तावको आलोचना गरिन्। गैरकानूनी तवरले अमेरिका भित्र्याइएकाबालबालिकालाई योजनाले सम्बोधन गर्न नसकेको उनको तर्क थियो। ती बालबालिकालाई ‘डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल्स’ वा ‘डिएसिए’ नीतिले ‘डिपोर्टेसन’बाट सुरक्षित राखेको छ।

    ‘परिवार छुटाउने, शरणार्थीको पहुँच र अन्य मानव कल्याणकारी उद्धार सिमीत बनाउने तथा डिएसिए अन्तर्गत सुरक्षित र अभिलेखिकरण नगरिएका समुदायका सदस्यलाई नागरिकता दिने बाटो बन्द गर्ने योजना राजनीतिक प्रचारबाजी भएको प्रष्ट छ। यसले समाधान गर्दैन,’ उनले भनिन्।

    सेन्टर फर इमिग्रेसन स्टडिजका कार्यकारी निर्देशक मार्क क्रिकोरियनले वैधानिक अध्यागमन सम्बन्धी ‘सकारात्मक प्रयास’को प्रशंसा गरेका छन्। तर ‘हाल भइरहेको अत्यधिक अध्यागमनले’ यसलाई कमजोर बनाएको उनले बताए। सेन्टर फर इमिग्रेसन स्टडिजले अध्यागमन दर न्यूनिकरण गर्न वकालत गर्दछ।

    ‘क्यापिटोल हिल’का रिपब्लिकनले पनि संशय व्यक्त गरे।सञ्चारकर्मीलाई प्रस्तुत गरिएको एउटा ‘पावरप्वाइन्ट प्रेजेन्टेसन’ले योजनालाई ‘रिपब्लिकन प्रपोजल’ उद्धृत गरेको थियो। यद्यपि धेरै रिपब्लिकनले प्रस्ताव हेर्नै बाँकी छ।ऐजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।