• महिला र पुरूषमध्ये को रिसाउँछन् धेरै?

    May 14, 2019     11:04 pm

    पोखरा ३१ बैशाख ।
    रिस आगोको लप्काजस्तै हो। धोका पाएजस्तो लाग्यो कि ह्वार्र बल्छ। आफूले पार्किङ गर्न लागेको ठाउँ अरू कसैले ओगटोस् वा कुनै अल्छी सहकर्मीले बेफ्वाँकको काम लगाओस्। दिमाग झनन हुन्छ। माया गरेको मान्छेले मन दुखाए पनि उस्तै भाव आउँछ।

    रिस मानिसले अनुभव गर्ने प्राचिन भावनामध्ये एक हो। पशुलाई रिस उठ्छ। केही मन्द निराशादेखि पूर्ण आवेगसम्म। रिसको मात्रा फरक हुन्छ। कति रिस उठ्छ र कस्तो प्रतिक्रिया जनाउँछौं, हाम्रो व्यक्तित्वमा भरपर्छ।

    रिस के हो?

    लाखौं वर्षको उद्विकाससँगै मानिसको मष्तिष्कमा रिसले स्थायी बास पाएको छ। यसले हामीलाई खतरासँग लड्ने, श्रोतका लागि प्रतिस्पर्धा गर्ने र सामाजिक मुल्यमान्यता लागु गर्ने स्वभाव दिएको छ। यो मष्तिष्कको ‘रिवार्ड सर्किट’मा बसेको छ।

    कुनै विशेष परिस्थितीमा के हुन्छ भनेर हामी निरन्तर –प्रायः अर्धचेत – मुल्याङ्कन गरिरहेका हुन्छौं। हामीले सिकेको अपेक्षा र यथार्थबीच तालमेल नमिले हाम्रो मष्तिष्कको ‘रिवार्ड सर्किट’ले खतराको संकेत दिन्छ र ‘अमिगडला’ भनिने एउटा सानो बदामको आकारजत्रो मष्तिष्को क्षेत्र सक्रिय हुन्छ।

    रिसले शरीरलाई लड्न वा भाग्न उक्साउँछ। शरीरमा ‘एड्रिनालिन’ र ‘टेस्टोस्टेरोन’ जस्ता ‘स्ट्रेस हर्माेन’ उत्पादन हुन्छ। यसले हामीलाई आक्रामक बनाउँछ। त्यसपछि हामी मुख छाड्छौं कि कसैलाई मुक्का हान्छौं त्यो भने ‘प्रि–फ्रन्टल एरिया’मा भर पर्छ। मष्तिष्कको यो भागले निर्णय र तर्क दिने काम गर्दछ। यसले रिसलाई सामाजिक रूपमा स्वीकार्य तरिकामा प्रस्तुत गर्न लगाउँछ। हामी अधिकांशको मौलिक स्वभावलाई नियन्त्रण गर्दछ।

    रिसले सोचमा कस्तो परिवर्तन गर्छ?

    रिस उठेपछि जोखिमप्रति हाम्रो दृष्टिकोण फेरिन्छ। रिसले हामीलाई आवेशमा ल्याउने र खराब परिणामको सम्भावनालाई नजरअन्दाज गर्न उद्दत गराउने अध्ययनहरूले देखाएका छन्। एउटा अध्ययनमा रिस उठ्ने सहभागीले मुटुरोग लाग्ने सम्भावना कम र पारिश्रमिक वृद्धि हुने सम्भावना बढ्ने अनुमान गरे। सन्दर्भको आधारमा, रिसले हामीलाई बहादुर वा लापरवाह जे पनि बनाउन सक्छ।

    रिसले समूहको आयाममा पनि प्रभावित गर्दछ। रिस उठ्दा बढी नकारात्मक सोंच आउँछ। ‘बाहिरिया’बारे पूर्वाग्रह पनि बढ्छ। अनि कसैको परिस्थितीभन्दा उसको नकारात्मक पक्ष कोट्याउँदै दोष लगाउन थाल्छौं। रिसाएको व्यक्तिले दोष लगाउने कोही व्यक्ति खोज्ने गरेको अनुसन्धानले देखाउँछ। अपमानजनक व्यवहार गर्ने व्यक्ति वा समूहसँग रिसाएको व्यक्ति झ्न रिसाउँछ। कोही त विवेकहीन आवेगको दुष्चक्रमा पनि फस्छन्।

    रिसको कुनै फाइदा छ?

    इतिहासदेखि नै रिसलाई नकारात्मक रूपमा हेर्ने गरिएको छ। प्राचीन रोमका सेनेनकाले रिसलाई ‘युद्धका लागि पनि काम नलाग्ने’ बताएका थिए।क्रोधलाई उनले पापको सूचिमा राखेका थिए। तर समाजलाई नभए पनि रिसाएको व्यक्तिलाई भने केही फाइदा पुग्ने विज्ञानले दर्शाएको छ।

    रिस शक्तिशाली उत्प्रेरक बन्नसक्छ। सन् २०१० मा गरिएको एउटा अध्ययनमा सहभागीलाई कम्प्युटरको ‘स्क्रिनमा’ कलम र मगलाई रिसाएको वा भावशुन्य अनुहारसँग मिसाएर देखाइएको थियो। रिसाएको अनुहार पहिले आउँदा, मानिसहरूले ‘स्क्रिन’मा देखिएका सामग्री बढी आकर्षक देखेको बताए। रोचक कुरा त के भने – सहभागीलाई यो उत्प्रेरणाबारे चेत थिएन।

    रिसको बाहिरी अभिव्यक्तिले पनि व्यक्तिलाई हेर्ने दृष्टिकोण बदलिन्छ। लरिसा टिडेन्स अमेरिकी मनोविद् हुन्। उनले रिसबारे वृहत अनुसन्धान गरेकी छिन्। अनुसन्धानकै क्रममा मोनिका लेवेन्स्की ‘स्क्यान्डल’बारे आक्रोश पोख्ने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनप्रति सहभागीले सहानुभूति राखेको देखियो। क्लिन्टनले दुख व्यक्त गर्दा उनीहरूले पत्याएनन्। यो प्रभाव अर्का अज्ञात नेताको सवालमा पनि देखियो।

    दुखीभन्दा पनि आफूलाई रिसाएको भनेर वर्णन गर्ने रोजगार उम्मेदवारको ओहदा पनि उच्च र बढी पारिश्रमिक दिइएको टिडेन्सले पत्ता लगाइन्।रिस देखाए वार्ता सफल हुने सम्भावना पनि बढी हुने देखिएको छ। हठी र हावनी हुने व्यक्तिसँग सबैले हार मान्छन्। रिसाएका पुरूषबारे यी अनुसन्धानले प्रष्ट्याए पनि रिसाउने महिला मानिसलाई मन नपर्ने केही प्रमाण फेला परेका छन्।

    महिला र पुरूष, धेरै को रिसाउँछन्?

    बाहिरबाट हेर्दा महिलाको तुलनामा पुरूष बढी आक्रामक देखिन्छन्। त्यसैले उनीहरू नै धेरै रिसाउँछन् भनेर अनुमान गर्न सकिन्छ। तर यो साँचो होइन। महिलालाई पनि पुरूषजतिकै बारम्बार र प्रबल रिस उठ्ने अनुसन्धानले देखाएको छ। आक्रोशित पुरूषले आक्रामक व्यवहार देखाउने सम्भावना बढी हुन्छ। तर यसको अर्थ, महिलालाई चाँडो रिस उठ्दैन भन्न खोजेको पटक्कै होइन।

    साउथवेस्ट स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको एक अध्ययनमा महिला पनि पुरूष जतिकै बारम्बार रिसाउने र रिसकै आवेगमा व्यवहार गर्ने देखिएको छ। अध्ययनमा करिब दुई सय महिला र पुरूष सहभागी थिए। क्षणिक आवेग नियन्त्रण गर्न पुरूषभन्दा महिला खप्पिस रहेको पनि अध्ययनमा देखियो।

    मष्तिष्कको ‘बायोलोजी’मा भएका अन्तर्निहीत भिन्नतामा यस्ता लैंगिक भिन्नताले गहिरा जरा गाडेको केहीले औंल्याएका छन्। युनिभर्सिटी अफ पेन्सिलभेनिया स्कुल अफ मेडिसिनमा कार्यरत दम्पत्ति रूबेन र राक्वेल गुरले महिला र पुरूषमा ‘अमिगडेला’को आकार उस्तै भए पनि ‘अर्बिटल फ्रन्टल कोर्टेक्स’ महिलामा धेरै ठूलो हुने पत्ता लगाएका छन्। मष्तिष्कको यो भागले क्षणिक आक्रामक व्यवहार नियन्त्रण गर्न सहयोग गर्दछ।

    रिसको सवालमा मष्तिष्कको ‘बायोलोजी’ले लैंगिक विभेद र अन्य व्यवहारमा पार्ने प्रभावबारे निष्कर्ष निकाल्न अझै बाँकी छ। यसमा सामाजिक अपेक्षाको पनि भूमिका हुने प्रमाण भेटिएका छन्। ‘विद्यालयमा शिक्षकले छात्र र छात्रालाई गर्ने व्यवहार पनि फरक हुन्छ। यस्तो व्यवहारले नै यस्ता प्रतिक्रिया नियमन गर्ने क्षमता प्रभावित गर्नसक्छ,’ याल युनिभर्सिटीकीमनोविद एरियाल बास्किन–सोमर्सले बताइन्। ‘मष्तिष्क मात्रैले यी भिन्नता बयान गर्नसक्दैन। यो शत प्रतिशत बढी जटिल छ।’

    भर्खर हिड्न सिकेका बालबालिका किन रिसाउँछन्?

    यो जीवनको रमाइलो समय हो। सबै कुरा नयाँ हुन्छ। सिक्नुपर्ने र थाहा पाउनुपर्ने धेरै हुन्छ। अर्थात् संसार कसरी चलेको छ र जीवनबाट के अपेक्षा गर्नेबारे बालबालिकाको ‘फ्रेमवर्क’ वयस्कजस्तो विकसित भएको हुँदैन।चाहना अभिव्यक्त गर्न भाषिक सीपको पनि अभाव हुन्छ। त्यसैले गलत तरिकाले ‘टोस्ट’ काट्दा पन उनीहरू अकस्मात् जोडले रिसाउँछन्।

    रिस र दुख मिश्रित भावनामा बालबालिकाले दङ्ग्याउँछन्। आमाबाबुका लागि यो समस्याको बिषय हो। युनिभर्सिटी अफ मिनेसोटाका मनोविद् माइकल पोटेगलले यस्ता भावनालाई चट्याङ वा ज्वालामुखी विस्फोटभन्दा पनि प्राकृतिक प्रक्रियाको रूपमा हेर्ने निर्णय गरे। उनी रिसको विश्लेषण गर्न र बुझ्न चाहन्थे।

    पोटेगल र उनका सहकर्मीले भर्खर हिँड्न थालेका बालबालिकाको दैनकि जीवन ‘रेकर्ड’ गर्न थाले। बालबालिकाले दङ्ग्याएको उनीहरूसँग सयभन्दा धेरै घटनाहरू छन्। बालबालिकाको यस्ता झोंकलाई दुई भावनाको संयोग मान्न सकिने उनीहरूको निष्कर्ष थियो : रिस – (चिच्याउने, कराउने, सामान फ्याँक्ने) र दुख (रूने, रोइलो, भुइँमा लडिबुडी गर्ने)।

    उनीरूलाई शान्त पार्ने तरिका पनि वैज्ञानिकले पत्ता लगाएका छन्। केही नगर्नुहोस्। रिसको पारो चढ्न दिनुहोस्। के भयो भनेर सोधे पनि प्रक्रिया लामो हुन्छ।

    मानसिक स्वास्थ्य र रिस

    रिसप्रति हाम्रो प्रतिक्रिया मष्तिष्कका थुपै्र क्षेत्रबीच सन्तुलित सञ्चारमा भर पर्दछ। यो बिथोलिए, मानिसको व्यवहार अकल्पनिय रूपमा आक्रामक हुनसक्छ।

    ‘अल्जाइमर’ र विशेष गरी ‘फ्रन्टोटेम्पोरल डिमेन्सिया’ जस्ता ‘न्युरोडिजेनेरिटिभ’ रोगले मष्तिष्कको अग्रभागमा क्षति पुर्‍याउँछ। यसले नैराश्य र रिस रोकथाम गर्दछ।
    लुका पास्सामोन्टी युनिभर्सिटी अफ केम्ब्रिजका कन्सल्ट्यान्ट न्युरोलोजिस्ट र अनुसन्धाता हुन्। उनी भन्छन्,‘फ्रन्टोटेम्पोरल डिमेन्सिया भएका मानिस बढी आक्रामक, रिसाउने र ठुस्किने देखिएको छ। यसले यी भावनाहरू प्रष्ट पार्दछ र व्यक्ति आवेशमा आएर व्यवहार गर्नसक्छ।’

    नैराश्य विरूद्ध स्वतुस्फूर्त प्रतिक्रिया रोकथाम गर्ने क्षमता गुमाउने मात्रै नभइ भावनाको सन्दर्भ बुझ्न र त्यस्को कारण पत्ता लगाउन पनि कठिनाइ हुने पास्सामोन्टीले बताए।
    रिस व्यवस्थापन गर्ने तरिकाले पनि हाम्रो मानसिक स्वास्थ्यमा प्रभाव पार्दछ। रिस नियन्त्रण गर्ने उच्च क्षमता भएका केही व्यक्तिले रिसको अभिव्यक्ति त नियन्त्रण गर्लान् तर उत्तिकै दुखी पनि हुन्छन्।

    जीवन भोगाइका अनुभवले पनि मानिसको रिस अनुभव गर्ने तरिकालाई आकार दिन्छ। हिंसाले मानिसको संज्ञानात्मक प्रक्रियामा कस्तो प्रभाव पार्दछ भनेर हालै एउटा अध्ययन गरिएको थियो। हिंसात्मक बाल्यकाल बिताएका व्यक्तिले ‘असल’ र ‘खराब’ अपरिचितबीच भेद गर्नसक्ने अध्ययनमा देखिएको छ। तर उनीहरू मानिसलाई कम विश्वास गर्छन्।

    खतराको निरन्तर अनुभवले व्यक्ति सजिलै रिसाउँछ र आक्रामक बन्छ। भविष्यमा ‘कग्निटिभ बिहेभियोरल थेरापी’ले हिंसाजस्ता प्रारम्भिक जीवनका अनुभव जित्न मानिसलाई सहयोग गर्ने बास्किन–सोमर्सले बताए।एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।