• दर्ता, नवीकरण बिनै प्याराग्लाइडिङ उडान, दुर्घटनापछि सोलो उडान बन्द

    March 9, 2019     10:04 pm

    पोखरेली न्यूज
    पोखरामा आइतबारमात्रै सराङकोटबाट सोलो उडान भरेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्यो । दुर्घटनामा रोमानियाका नागरिक ४२ वर्षीय एडी सिस्जरको मृत्यु भयो । उनी ब्लु स्काई प्याराग्लाइडिङबाट फेब्रवरी २५ देखि मार्च ११ सम्मका लागि उडान परमिट लिएका थिए ।
    सोमबार पनि पोखराको उत्तरी भागमा एकैचोटी २ वटा प्याराग्लाइडिङ दुर्घटना भयो । दुर्घटना हुनेमा सोलो उडान परमिट लिएका रसियन नागरिक नै थिए । उनीहरु घाइते छन्, एउटा पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
    मंगलबारमात्रै एक जना रसिएन प्याराग्लाइडरको दुर्घटनामा ज्यान गएको छ । उक्त दुर्घटनामा रसियन नागरिक दिमिट्रिफ स्टेप्निसको ज्यान गएको थियो । स्टेपिन आफ्ना छोरी र ७ जना साथीसहित प्याराग्लाइडिङ उडाउन पोखरा आइपुगेका थिए । उनकी छोरी पनि प्याराग्लाइडर नै थिइन् ।









    १० दिनमा २ सय १६ जनालाई सोलो परमिट, दुर्घटनापछि सोलो उडान बन्द






    प्रहरीका अनुसार सराङकोट छेउ गोठादीबाट उडेका स्टेपिनसको प्याराग्लाइडिङ उड्नेक्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो । उनले फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनीबाट व्यक्तिगत (सोलो) उडानको अनुमति लिएका थिए ।
    ती सबै विदेशी पर्यटक हुन् र सबै जना सोलो प्याराग्लाइडिङमा थिए । ३ दिनको अन्तरालमा भएको ४ दुर्घटना २ घाइते भए भने २ ले ज्यान गुमाए । तर यसबा नागरिक उड्डयन प्राविधिकरण नै बेखबर छ ।
    नेपाल हवाइ खेलकुद संस्था (ना) पनि यसबारे प्रस्ट छैन । आइतबारको प्याराग्लाइडिङ दुर्घटना हावाहुरीका कारण भनिएको छ । सोमबार उडान अनुमति नभएको क्षेत्रमा प्याराग्लाइडिङ गराइएको भेटिएको छ भने उडानको टेक अफ गर्ने बेला भएको गल्ती कारण मंगलबारको प्याराग्लाइडिङ दुर्घटना भएको व्यवसायी बताउँछन् ।
    विदेशी सोलो प्याराग्लाइडर दुर्घटनामा पर्नुका पछाडि व्यवसायीको पनि लापरबाही देखिन्छ । मौसम र प्याराग्लाइडरको अनुभव नहेरी कम्पनीले उडान भर्न दिँदा दुर्घटनामा परेको भेटिएको छ ।
    पछिल्लो १० दिन यतामात्रै २ सय १६ जना विदेशी सोला प्याराग्लाइडरले नागरिक उड्डयन प्राधिकरणबाट परमिट लिएका छन् । प्याराग्लाइडिङ कम्पनीको सिफारिसका आधारमा प्राधिकरणले सोलो प्याराग्लाइडिङका लागि अनुमति दिने गर्छ । पछिल्लो १० दिनमा १२ कम्पनीमार्फत सवा २ सय जनाले परमिट लिएको प्राविधकरणको तथ्यांकले देखाउँछ । सबैभन्दा बढी फोन टायर्स प्याराग्लाइडिङ कम्पनीको सिफारिसमार्फत ७८ जनाले परमिट लिएका छन् भने दोस्रोमा ब्लु स्काई प्याराग्लाइडिङ कम्प्नीमार्फत ६७ जनाले परमिट लिएका छन् । बाँकी अन्य १० कम्पनीको सिफारिसमा परमिट लिएका हुन् ।
    १० दिनमा यतिका धेरै सोलो प्याराग्लाइडर यसअघि कमै आएका थिए । किन आए त एकैचोटी यति धेरै सोलो प्याराग्लाइडर ? प्याराग्लाइडिङ क्षेत्रमै आवद्ध एक प्याराग्लाइडर भन्छन्, ‘पोखरामा रसियन च्याम्पियनशीप चलिरहेको छ । त्यसैमा भाग लिनका लागि उनीहरु आएका हुन् ।’ तर, यसबारे उड्डयन प्राधिकरणलाई जानकारी छैन । स्रोतका अनुसार कम्पनीमार्फत सोलो परमिट लिएर आएका प्याराग्लाइडरले अनुमतिबिना च्याम्पियनशीप गरिरहेका छन् ।
    उनीहरु साथीभाइ सल्लाह गरेर आएको र यहाँ च्याम्पियनसीप गरेको पाइएको हो । च्याम्पियन गर्नका लागि सरकारका सम्बनिधत निकायसँग अनुमति लिनुपर्छ । तर, उनीहरुले कुनै पनि सरकारी निकायसँग च्याम्पियनसीपको अनुमति लिएका छैनन् ।
    ‘उनीहरुले आधाकारिक च्याम्पियनसीप गरेका होइनन् । साथीभाइ मिलेर च्याम्पियनसीप गरेको बुझिएको छ,’ पोखरा हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले भने, ‘कम्पनीमार्फत प्राधिकरणबाट परमिट लिए तर आफ्नो तरिकाले उडान भरे । अनुमति नभएको क्षेत्रमा पनि उडान भरेको कुरा दुर्घटनापछिमात्रै थाहा हुन्छ । यस्तोमा नियमन गर्ने संस्थाले बढी ध्यान दिनुप¥यो ।’ तर, उनीहरुले ओपन हिमालयन नाम दिएर रसियन च्याम्पियनसीप गरेको एक व्यवसायीले बताए ।
    परमिट लिएपछि जसरी पनि उड्न पाइन्छ भनेर रसियन सोलो प्याराग्लाइडरले च्याम्पियन गरे । उनीहरुले प्राधिकरणले तोकेको ठाउँभन्दा बाहिर पनि उडान भरिरहेका छन् । कास्कीको सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट मात्रै उडान भर्ने अनुमति प्राधिकरणले दिएको छ । तर, सोमबार अनुमति नै नभएको मादी क्षेत्रबाट उडान भर्दा दुई जना रसियन सोलो पाइलट दुर्घटनामा परेका थिए ।
    सोलो पाइलटलाई विदेशको लाइसेन्सका आधारमा कम्पनीले सिफारिस गरिदिएपछि परमिट दिन्छ । तर, यहाँको भूगोल र हावापानीका बारेमा भने अभ्यास नगरी, नबुझिकन उडान भर्दा दुर्घटना हुने गरेको व्यवसायी बताउँछन् ।
    परमिटमै कुन–कुन ठाउँमा उडाउन पाउने भन्ने कुरा अंग्रेजीमा प्रस्ट लेखेको हुन्छ । तर, विदेशी पाइलटले मनपरी उडान भरेको जानकारी व्यवसायीलाई समेत नहुने ‘ना’ को भनाइ छ । ‘परमिट लिन्छन्, जान्छन् । कहाँ जाने भन्ने कुरा प्रस्ट छ तर प्याराग्लाइडरले हेलचेक्याइँ गरेको कसरी थाहा हुन्छ ?’ योगेशले भने, ‘विश्वासको भरमा चल्नुपर्ने अवस्था छ ।’
    प्याराग्लाइडिङमा पनि जिपिएस ट्रयापिङको व्यवस्था हुनुपर्ने व्यवसायीको भनाइ छ ।
    प्राधिकरण बेखबर, व्यवसायीको मनोमानी
    नागरिक उड्डयन प्राधिकरणलाई सोमबार अनुमति नै नभएको क्षेत्रमा भएको उडानबारे अझै जानकार छैन । न त प्राधिकरणसँग सोमबार ज्यान जाने विदेशी नागरिकको डिटेल जानकारी छ न त क्षेत्रबारे नै ।
    प्याराग्लाइडिङको नियमन गर्ने निकाय प्राधिकरणलाई परमिट दिएको थाहा हुन्छ तर कहाँ के भइरहेको छ भन्ने जानकारी नै हुँदैन । ‘प्याराग्लाइडिङ कम्पनीको सिफारिसमार्फत परमिट जारी हुन्छ । तर, उनीहरुले कहाँ कसरी उडाउँछन् । केके गरिरहेका छन् भन्ने जानकारी पाउनै गाह्रो छ,’ प्राधिकरण प्रमुख भोलाप्रसाद गुरागाइंले भने, ‘व्यवसायी र प्रहरीले जानकारी दिने हो तर सोमबारको घटनाको बिस्तृत अझै जानकारी छैन ।’
    सोलो उडान अनुमति लिएर पनि आफुखुसी च्याम्पियनसीप गर्न पाइँदैन । तर, परमिट लिएपछि च्याम्पियनसीप गरेकोबारे प्राधिकरणलाई जानकारी छैन । सोलो परमिट लिएपछि उनीहरुले के गरिरहेका छन् भन्ने जानकारी नभएको गुरागाईंले बताए ।
    प्राधिकरणले कम्पनीको सिफारिसका आधारमा ५ हजार रुपैयाँ शुल्क लिएर सोलो उडानका लागि १५ दिनको परमिट दिन्छ । प्राधिकरणको काम परमिट जारी ग¥यो, सकियो । त्यसपछिको जानकारी उसलाई समेत जानकारी नहुने अवस्था छ ।
    एक त प्राधिकरणमा प्याराग्लाइडिङ सम्बन्धी जानकारी भएको विषय विज्ञ नै छैनन् । कम्पनीले जे भन्छ, जस्तो बताउँछ, त्यही पत्याउनु पर्छ । प्याराग्लाइडिङको सोलो उडानमा व्यवसायीकोसमेत लापरबाही भएको एक व्यवसायीले बताए । आफ्नो कम्पनीमार्फत सोलो उडानका लागि आएका प्याराग्लाइडर कहाँ छन्, कसरी उडान भरिरहेका छन् भन्ने जानकारी लिएर व्यवस्थित गराउनेतर्फ नलागेको देखिन्छ । ‘कस्तो बेला उडान भर्ने, कहाँबाट भर्ने भन्ने कुराको निगरानी व्यवसायीले गर्नुपर्छ । मैले पैसा पाइहाल्छु भनेर लापरबाही गर्नु भएन,’ एक प्याराग्लाइडरले भने ।
    दुर्घटनापछि सोलो उडान बन्द
    सोलो उडानकै क्रममा लगातार दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले मंगलबारदेखि सोलो उडान बन्द गरेको छ । सोलो प्याराग्लाइडरले नियमभन्दा बाहिर गएर उडान भर्ने गरेको भन्दै प्राधिकरणले उडान बन्द गरेको हो ।
    प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘सोलो पाइलटले तोकिएको एयर स्पेस र सर्त बमोजिम उडान नगरेको पाइएको छ । अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि सोलो उडान बन्द हुने छन् ।
    सुरक्षालाई दृष्टिगत गरी थप जनधनको क्षति हुन नदिन केही दिनलाई उडान रोकिएको प्राधिकरणका प्रमुख भोला गुरागाइँले जानकारी दिए । सोलो उडान अनुमति लिइसकेका स्वदेशी एवं विदेशी पाइलटलाई मंगलबारबाटै प्याराग्लाइडिङ उडाउन रोक लगाइएको छ । १० दिन यता सोलो परमिट लिएका २ सय १६ जना विदेशीमध्ये अधिकांश परमिट अवधि अझै बाँकी छ । तर, उनीहरुले उड्न भने पाउने छैनन् ।
    पोखरामा मंगलबार दिउँसो सराङकोटबाट प्याराग्लाइडिङ व्यक्तिगत उडाउने क्रममा रसियन नागरिक दिमिट्रिफ स्टेप्निसको दुर्घटना भयो । दुर्घटना पश्चात तत्काल पोखराकै मेट्रो सिटी अस्पतालमा पु¥याए पनि उनको मृत्यु भइसकेको थियो ।
    स्टेपिन आफ्ना छोरीसहित ७ जना साथीसहित पोखरा प्याराग्लाइडिङ उडाउन आइपुगेका थिए । उनकी छोरी पनि प्याराग्लाइडर नै थिइन् । नेपाली आकाशमा उड्न आइपुगेका उनी अब कहिल्यै स्वदेश फर्किन पाउने छैनन् ।
    पोखरामा करिब २२ वर्षपहिले यसको परीक्षणपश्चात व्यावसायिक उडान भएको थियो । अनुकुल मौसममा दैनिक करिब ४ सय जनासम्म र वर्षमा २ लाख जनाले अनुमान व्यवसायीहरुको छ ।
    प्याराग्लाइडिङ उडान अवतरण ठाउँको अभाव र सोलो उडानका लागि व्यवसायीले अनुमति दिने भएकाले नै दुर्घटना हुने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) बताउँछ ।
    सोलो (व्यक्तिगत) उडानका लागि मान्द्रेढुंगा छुट्याइएको छ प्याराग्लाइडरहरुका रोजाइँ सराङकोट नै पर्छ । प्रभावकारी नियम तथा अनुगमन नहुँदा प्याराग्लाइडिङजस्ता साहसिक खेल जोखिमयुक्त बन्दै गइरहेको सरोकारवाला बताउँछन् ।
    दर्ता बिनै पोखरामा प्याराग्लाइडिङ उडान
    पोखरा महानगरमा प्याराग्लाइडिङ प्रादायक कम्पनी दर्ता, नविकरण नगरेको पाइएको छ । उनीहरुले ४ वर्षदेखि नै विना दर्ता, नवीकरण उडान भरिरहेको महानगरले जनाएको छ ।
    महानगरले अनुमति बिना उडान भरिरहेको कम्पनीलाई बुधबारबाट बन्द गर्ने भएको छ । फागुन २२ गतेभित्र सबै प्याराग्लाइडिङ कम्पनीलाई दर्ता, नविकरण गर्न समय तोकेको भएपनि उनीहरुले पुन १ हप्ताको समय मागेकाले स्वीकृत दिइएको महानगरले जनाएको छ ।
    पोखरा महानगरमा हालसम्म ५६ वटा कम्पनी प्याराग्लाइडिङ उडाउन स्वीकृति पाएका छन् । त्यसमध्ये ४० जनामात्रै सक्रिय छन् । महानगरका अनुसार बुधबारसम्म २ वटा कम्पनीलेमात्रै कम्पनी दर्ता गरेका छन् । बाँकी ५४ भने महानगरको स्वीकृती बिना नै ०७२ सालदेखि पोखरेली आकासमा उडान भरिरहका छन् ।
    महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले दर्ता, नवीकरण नगर्ने कम्पनीलाई बुधबारबाटै बन्द गर्ने भने पनि उनीहरुले एकहप्ताको समय मागेकाले स्वीकृत दिइएको जानकारी दिए । ‘उनीहरुले १ हप्ताभित्र ४ वर्षकै राजश्व तिर्ने र दर्ता, नवीकरण गर्ने सहमति गरेका छन्,’ उनले भने, ‘दिएको समयमा फेरि पनि अटेरी गरे कम्पनी बन्द गरिदिन्छौं ।’
    प्याराग्लाइडिङ कम्पनीहरुबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार महानगरलाई र प्रदेश सरकारको १ लाख रुपैयाँ पर्यटन शुल्क उठाउन बाँकी छ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनी वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर उठाउने नियम बनाएको छ ।
    महानगरले यसअघि पटकपटक व्यवसायीलाई पत्राचार गर्दा पनि उनीहरुले अटेरी गरेको आरोप लगाएको छ । ‘हामीले वडामार्फत पटकपटक वार्ता पनि ग¥यौं । पत्राचार पनि ग¥यौं । तर उहाँहरुले मान्नुभएन,’ पौडेलले भने ।
    बुधबारबाट अनुमतिको प्याराग्लाइडिङ उडान रोक्न महानगरले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश पर्यटन मन्त्रालयमा पत्राचार गरिसकेको थियो । तर, व्यवसायीको आग्रहमा महानगरले अर्को बुधबारसम्मको म्याद थपेको छ । ‘एकहप्तापछि दर्ता र नवीकरणमा नआए ५ वटै नाकामा प्रहरी बसेर उडान रोक्नेछन्,’ राजश्व शाखा प्रमुख रोमनाथ उपाध्यायले भने ।
    महानगरका अनुसार कम्पनीहरुले पहिले तत्कालीन गाउँ विकास समितिलाई राजश्व तिरिरहेको थिए । ‘गाविस महानगरमा गाभिएपछि नै उनीहरुले मनोमानी गरेको पाइएको छ,’ उपाध्यायले भने ।
    महानगरले पहिलेदेखि नै २५ हजार रुपैयाँ उठाउँदै आए पनि ०७५ मा ५० हजार कर तोकेको थियो । ‘त्यसवर्ष हामीले ५० हजार तोक्यौं । पछि प्रदेशले पनि उठाउन थालेपछि फेरि २५ झारेका हौं,’ प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले भने ।
    पछिल्लो समय सोलो उडानको क्रममा लगातार दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले मंगलबारदेखि सोलो उडान बन्द गरेको छ । सोलो प्याराग्लाइडरले नियमभन्दा बाहिर गएर उडान भर्ने गरेको भन्दै प्राधिकरणले उडान बन्द गरेको हो । प्राधिकरणले सोलो उडानका बेला दुर्घटना भएको भन्दै फ्रन्टियर्स प्याराग्लाइडिङ र ब्लु स्काई प्याराग्लाइडिङको उडान अनुमतिसमेत रद्द गरिदिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।