• विवेकशील साझापार्टीको नाम फेरियो

    April 27, 2019     7:23 pm

    पोखरा, १४ वैशाख ।
    विवेकशील साझा पार्टीले आफ्नो नाम फेर्दै विभिन्न आठ नियर्णयहरु गरेको छ । पार्टीको नाम परिवर्तनसँगै उसले आफ्नो राजनीतिक रणनीति समेत फेरेको जानकारी गराएको छ ।

    ३ दिनसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले गरेका विभिन्न ८ बुँदे निर्णय आज (शनिबार) राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

    पार्टीले आफ्नो नाम विवेकशील साझा पार्टीबाट साझा विवेकशील पार्टी रहने गरी परिवर्तन गरेको छ । केही समयअघि छुट्टिएर गएकाहरुले पनि विवेकशील पार्टी नाम राखेकाले यसले आम मानिसहरुमा बुझ्नको लागि असहज नहोस् भन्नको लागि यस्तो गरिएको पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    पार्टीले जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तरक्रिया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने उल्लेख गरेको छ ।

    साथै अब पार्टी पूर्णरुपमा वृहत राष्ट्रिय स्वार्थ, मातृभूमिको सेवा र स्वाभिमान, भ्रष्टाचारमुक्त राज्य, सुसंस्कृत राजनीति र समतामुलक समृृद्धिप्रति प्रतिवद्ध रहेर आफ्ना रणनीतिहरु तय गर्ने निर्णयमा समेत पुगेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    हेर्नुस् जारी विज्ञप्ती
    केन्द्रीय समितिकको बैठकका प्रमुख निर्णयहरू

    आज देश एउटा गम्भिर विरोधाभाषबाट गुज्रिरहेको छ । एकातिर दुई तिहाई बहुमतसहितको शक्तिशाली सरकार छ । अर्कोतिर आम नागरिकमा देशको दूरावस्थाप्रति चरम निराशा उत्पन्न भएको छ । राज्यको हरेक निकायमा भएको असोचनीयस्तरको राजनीतिकरण, भ्रष्टाचार र वेथितिले मातृभूमीको स्वाभिमान र समृद्धिको आशामाथि कुठाराघात गरिदिएको छ । यसले इमानदार, सक्षम र देशभक्त वैकल्पिक पार्टीको अपरिहार्यतालाई व्यावहारिकरूपमैँ प्रमाणित गरिदिएको छ ।

    सोही परिप्रेक्ष्यमा हाम्रो पार्टीले देशको राजनीतिक परिस्थितिलाई गम्भिर ढङ्गबाट विश्लेषण गरी तदअनुसार पार्टीको रणनीतिक कार्यक्रम तय गर्न वैशाख ११, १२ र १३ गते पार्टी संयोजक रवीन्द्र मिश्रको अध्यक्ष्यतामा बसेको केन्द्रीय समितिको पूर्ण वैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । ती निर्णयका प्रमुख बुँदाहरू निम्न अनुसार छन् ।

    १) जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तरक्रिया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने छ ।

    सो यात्राका क्रममा आम जनताको चासोका राष्ट्रिय एजेण्डा र अपेक्षाको पहिचान गरिने छ । साथै वृहत राष्ट्रिय स्वार्थ, मातृभुमीको सेवा र स्वाभिमान, भ्रष्टाचारमुक्त राज्य, सुसंस्कृत राजनीति र समतामुलक समृृद्धिप्रति प्रतिवद्ध हरेक नागरिकसँग देश रूपान्तरणको अभियानमा कसरी हातेमालो गर्न सकिन्छ भन्नेबारे बिमर्श गरिने छ ।

    सो यात्रामा पार्टीसँग आवद्ध नभए पनि देशको रूपान्तरणमा सकृय रहेका कुनै पनि तप्का र विचारका प्रवुद्ध व्यक्तित्वहरूलाई संभव भएसम्म सामेल गरिने छ । यात्राको निचोडका आधारमा पार्टीले विविध एजेन्डा र अडान तथा उच्च नेतृत्व लगायत विभिन्न तहका समितिलाई विस्तार गर्ने बारेमा आवश्यक निर्णय लिनेछ ।

    २) संसारका विभिन्न सुसंस्कृत देशहरूले अभ्यास गरे जस्तै स्थानीय तहको निर्वाचन गैरदलीय बन्नु पर्छ भन्ने धारणालाई पार्टीले आफ्नो एउटा प्रमुख एजेण्डा बनाउने छ । त्यसले दलिय संबद्धताको आडमा स्थानीय तहमा हुने भ्रष्टाचारलाई न्यूनिकरण गर्नमात्र मद्दत गर्दैन, समाजको हरेक पक्षमा व्याप्त अनावश्यक र घातक दलिय भागवण्डा र अवाञ्छित राजनीतिकरणले ल्याएका विकृतिलाई पनि रोक्न मद्दत पुर्‍याउँछ ।

    ३) भ्रष्टाचारले आक्रान्त समाजमा पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलतः भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्नेछ ।

    ४) देशको रुपान्तरणको सोच र अभियानमा युवाहरुको यथोचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय गरेको छ ।

    ५) विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’ को मान्यता दिने, पार्टीको निर्वाचनमा उनीहरूलाई मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तर्राष्ट्रिय सञ्जालका संयोजकलाई पार्टीको पदेन केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरिएको छ ।

    ६) हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सृजना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ ।

    ७) सबैको सद्भाव, सहयोग र सकृयताबिना यो देशमा सुसंस्कृत राजनीति स्थापित गरेर समतामूलक संवृद्धि हासिल गर्ने हाम्रो लक्ष्य पुरा हुन सक्दैन। आवश्यक आर्थिक आधारबिना पार्टी निर्माण हुनै सक्दैन । त्यसैले पार्टील ‘दिनक एक कप चिया कम पिउँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौं’ अभियान सञ्चालन गर्नेछ । कोष संकलनका अन्य अभियान कायम रहने छ ।

    ८) पार्टीले नीतिगत प्राथमिकता सहित वृहत क्षेत्रगत नीतिहरू तय गरको छ । तीन महिने यात्राको क्रममा प्राप्त सुझावहरू पनि समेटेर विस्तृत कार्यक्रमहरू तर्जुमा गरिने छ ।

    प्रवक्ता
    डा. सूर्यराज आचार्य
    साझा विवेकशील पार्टी
    मितिः १४ वैशाख २०७६

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।