• लायन्समाथि यक्ष प्रश्न

    April 26, 2019     10:28 pm

    सम्पादकिय

    यतिबेला लायनहरुमा चुनावी गर्मी छ । सेवाको भावनाले स्थापना भएको भनिएको लायन्स क्लबहरु यतिबेला चुनावी हिसाबले कित्ताकाटमा छन् । लायन्स क्लब अफ ३ सय २५ बि वानको चुनावी माहोलमा छन्, लायनहरु । नेतृत्वको दाबा गरिरहेकाहरुले मत आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् । विश्वश्वेर आचार्य र धुर्व श्रेष्ठले नेतृत्व होडमा छन् । केही वर्षयता लायन्सभित्र पनि चुनावी राजनीति सुरु भएको छ । लायन्समार्फत सेवा गर्ने उद्देश्वले प्राय हुनेखाने व्यक्ति लायन्ससँग जोडिएका छन् ।


    समाजमा लायन्स क्लबले समाजसेवा गर्छ भन्नेभन्दा लायन्स हुनेखानेहरुको संस्था हो र लायन्समा लाग्न पैसा चाहिन्छ भन्ने धारणा छ । यो धारणाको निर्माण यसै भएको होइन । लायन्स क्लब खर्चिलो र पैसासमेत जम्मा गर्नुपर्ने हुँदा समान्य व्यक्ति यसमा जोडिन सक्दैनन् भन्ने धारणाले धेरै मानिसको मनमा डेरा जमाइरहेको छ । लायन्सले गर्ने र गरेका काम तथा भावी एजेन्डामार्फत मन जित्नेभन्दा पनि को ‘पावरफूल’ भन्नेखालको चुनावी शैली देखिइएको छ । लायन्सका विभिन्न कार्यक्रममा पैसा उठाएर अनावश्यक खर्च हुने लायनहरु नै बताउँछन् । लायन्सले साँच्चिकै समाज सेवा नै गर्छ भन्ने कुरा स्थापित गर्न र लायन्सप्रतिको भ्रम चिर्नुपर्ने अबको जिम्मेवारी छ ।


    सामाजिक सेवाका नाममा गरिने सहयोग, दान दिँदा पनि सस्तो प्रचार र नामको पछाडि दौडने लायन्सहरुलाई लाग्ने गरेको आरोप हो । सामाजिक सेवाका निम्ति सबै लायन्स क्लबहरु मिल्ने र अर्थ संकलन गरेर काम थाल्ने हो भने ठूलो योजना, आयोजनाहरु पनि सम्पन्न गर्नसक्ने सामर्थ राख्छ । तर, काम र सहयोगभन्दा पनि प्रचार र लोकप्रियता खोज्ने आरोप चिर्नुपर्ने नेतृत्वको अर्को चुनौती हो । लायन्स क्लबमार्फत काम नभएका होइनन्, थुप्रै काम र सहयोग भएका छन् । तर, त्यसलाई व्यवस्थित र परिणाममुखी बनाउनुपर्ने देखिन्छ ।


    लायन्स क्लबमार्फत ठूलो धनराशी बाहिर जान्छ । लायन्समार्फत ठूलो रकम बाहिर पठाएर सामाजिक काम हुन नसक्ने लायनहरुमाथि उठ्ने अर्को प्रश्न हो । लायन्स क्लबमार्फत पैसा बाहिरिँदैनमात्रै योजनामा लगानी पनि भित्र भन्ने स्थापित गर्नुपर्ने आवश्यकता नेतृत्वलाई खड्कियोस् । लायन्सले देखाउन नसकिरहेको अर्को कुरा रचनात्मक काम हो । पुरानै शैली र प्रवृतिका कार्यक्रम गर्ने अनि बढीभन्दा बढी प्रचारमा रमाउने शैलीबाट लायनहरु मुक्त हुनुपर्ने देखिएको छ । निष्ठा र सामाजिक सेवाको उद्देश्वले खुलेका क्लबहरुले मर्मअनुसारकै काम र इमान स्थापित गर्नतर्फ अबको नेतृत्व लागोस् । राजनीतिको दलदलमा फेसर अरु संस्थामाजस्तै यहाँ पनि फोहोरी प्रवृति हावी नहोस् । नयाँ नेतृत्वले यसतर्फ ध्यान दिन सकोस् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।