• दिएर बाच्ने नै असलमा लायन्स हो -श्रेष्ठ

    April 26, 2019     12:53 pm

    अशोक श्रेष्ठ
    गर्भनर
    लायन्स क्लब अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपाल


    तपाइको कार्यकालको कस्तो रह्यो ?
    समग्रमा मेरो यो एक वर्ष निकै सुखद र सफल भएको महसुस गरेको छु । साथीहरुको नजिकको सम्बन्धबाट मित्रवत व्यवहार पाएँ । यो वर्षका लागि मैले जुन थिम तय गरेको थिएँ त्यो थिमलाई सबै साथीहरुले आत्मसाथ गरे । सबैले सहयोग गरे । त्यसैले पनि मलाई गर्वको अनुभुति भएको छ । सामाजिक कामको लगावले यो एक वर्ष कति छिटो गएछ भन्ने पनि पत्तो नपाए जस्तो भयो । यो एक वर्ष सामाजिक कामले बडो आनन्द दियो ।

    यो वर्ष तपाइको कार्यकालमा कुन क्षेत्रमा काम भए ?
    मैले यो वर्षका लागि दिएर बाँचौ नारालाई अगाडी सारेको थिएँ । हामीले लिएर आएको केही होइन । लिएर जाने पनि केही होइन । त्यसैले दिएर बाँच्न जान्नुपर्छ भन्ने नै जीवनको आदर्श हो । यो आदर्शलाई यथार्थबोध गराउन नै यो वर्षको थिम तय गरेका हौं । हामीले आफ्नो पेशा व्यवसायबाट कमाएको केही अंश, बचेको केही समयलाई सामाजिक कामका लागि सदुपयोग गर्ने नै हो । यहि अनुसार नै सामाजिक काममा लाग्नुपर्छ भनेर साथीहरुलाई अनुरोध गरें । यहि अनुसार नै साथीहरुले गाउँ गाउँमा विभिन्न सेवाका कामहरु गर्नुभयो । आवश्यकताका सबै क्षेत्रमा कामहरु भएका छन् । लायन्सले पहिलेदेखि गर्दै आएका सेवाका कार्यहरुलाई निरन्तरता प्रदान पनि गरेका थियौं ।

    मुलरुपमा कुन क्षेत्रमा सेवालाई केन्द्रित गर्नुभएको थियो ?
    यो वर्ष हामीले अपाङ्गता हाम्रो आत्मियता भन्ने मुल उद्देश्य अनुरुप फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरेर सेवालाई केन्द्रित गरेका थियौं । यो कार्यक्रम अन्र्तगत उनीहरुको जीवनलाई सहज बनाउन के कस्ता कुराहरु आवश्यकता पर्छ ती कुराहरुलाई सहयोग गर्यौं । ह्विल चियर, ह्वाइट केन, हेयरिङ्ग एड वितरणलाई जोड दियौं । यो संगै वातावरण जोगाउने विषयमा पनि हामी गम्भिर बन्यौं । स्कुलहरुलाई सहयोग गर्ने । स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन स्वास्थ्य शिविरका कार्यक्रमहरु पनि आयोजना गर्यौं । यो पटक एसिआइएफ प्रोजेक्टबाट हाम्रो डिस्ट्रिकले एकैपटक दुइ वटा प्रोजेक्टमा काम गर्ने अवसर पनि प्राप्त गरेको छ ।


    यो वाहेक आकस्मिक सेवाका कामहरु के के भए ?
    लायन्स क्लब सेवाकै लागि स्थापना भएको सामाजिक संस्था हो । सामाजिक, स्वास्थ्य, वातावरण तथा आकस्मिक रुपमा भैपरि आउने क्षेत्रमा यस संस्थाले काम गर्दै आइरहेको छ । देशलाई विपत परेको बेला लायन्सहरु एकजुट भएर सेवा गरेको इतिहास विगतमा पनि थियो र आज पनि छ । विगतमा भुकम्प पिडितको उद्दार, राहत तथा दिर्घकालिन व्यवस्थापनमा पनि उत्तिकै खटिएका थियौं । यो वर्ष हामीले बारामा गएको आँधीले पुर्याएको जनधनको क्षतीमा तत्काल राहतको व्यवस्था गर्यौ । आकस्मिक सेवा छरितो तरिकाले गर्नका लागि पनि हामी जागरुक रहेका छौं भन्ने पछिल्लो उदाहरण हामीले बाराको आँधी पिडितको सहयोगमा देखाएका छौं ।

    काठमाण्डौं र पोखराले गर्भनरको नेतृत्व पाउने किसिमको आलो पालो प्रणाली तपाईको पालोमा ब्रेक भएको छ ? यसले निरन्तरता पाउने कुरामा कसरी विश्वस्त हुन सकिन्छ ?
    काम गर्न सक्छ भने हरेक जिल्लाका साथीहरुले अवसर पाउनुपर्छ भन्ने हाम्रो आवाज हो । तपाईले भन्नुभए जस्तै काठमाण्डौंले एकपटक, पोखराले एकपटक गर्भनर पाउने भन्ने आलोपालो प्रणाली नै थियो । हामी मिलेर आएका थियौं । सामाजिक कामका लागि सक्षम, इच्छाशक्ती तथा समय दिन सक्नेलाई अवसर दिनुपर्छ भन्ने मान्यता हो । क्षेत्रको हिसावले भन्दा पनि क्षमताको हिसावले हेर्नुपर्छ भन्ने मलाइ लाग्छ ।

    भनिन्छ, लायन्सलाई चुनावको बानी लागि सक्यो । सामाजिक सेवाको नेतृत्वका लागि निर्वाचन शोभनिय हुन्छ र ?
    विगत दुइ वर्ष देखि नेतृत्वका लागि लायन्सले नेतृत्वका लागि चुनाव व्यहोर्दै आएको सत्य हो । हुनत लायन्स पनि लोकतान्त्रिक मर्मलाई आत्मसाथ गर्ने संस्था भएकाले यो प्रकृयालाई सामान्य ढंगले नै लिनुपर्छ भन्ने मलाई लाग्छ । तर यहाँले भन्नुभए जस्तो सामाजिक सेवाको नेतृत्वका लागि सर्वसम्मत, सहमती र समझदारीमै नेतृत्व चुन्ने अवसर आएको भए सबैलाई राम्रो हुने थियो भन्ने मेरो मनमा पनि छ । नेतृत्वका लागि साथीहरुले आकांक्षा देखाउनु भनेको एककिसिमको संस्था प्रतिको आकर्षण पनि हो । संस्था प्रतिको माया पनि हो । मिलेर जान पाएको भए त्यो सबैका लागि उत्तम विकल्प थियो । निर्वाचन एउटा प्रकृया हो । यो प्रकृयाको अभ्यास हामीले पनि गरेका छौं ।

    सहमतीका प्रयासहरु भए कि भएनन् ?
    सहमतीको प्रयासहरु त अन्तिम समय सम्म पनि भएकै हो । व्यक्तिगत रुपमा म पनि सहमती र समझदारीबाट सर्वसम्मत हुनुपर्छ भनेर नै लागेको हुँ । हामीले पनि नेतृत्वका लागि आँउदा सहमती र समझदारीकै बाटो अवलम्बन गरेर आएका हौं । मैले धनराज जी संग समझदारी गरेर त्यतिबेला चुनावी प्रकृया टारेका थियौं । अहिले पनि पोखराको पालोमा दुइ जना साथीहरु द्धितिय भाइस गर्भनरका लागि उम्मेदवार बन्नु भएको छ । काठमाण्डौका साथीहरुले सहमती हुन्छ भने अर्को वर्ष पनि पोखरालाई नै नेतृत्वको लाइन सुम्पन्न तयार छौं भनेको पनि हो । तर सहमतीका सबै प्रयास विफल भएपछि चुनावमा होमिन परेको हो ।


    लायन्समा पनि राजनीतिको प्रवेश भयो भन्छन नि । के भन्नुहुन्छ ?
    हरेक मानिसहरुको आफ्नो आस्था हुन्छ । आफ्नै राजनीतिक विचार हुन्छ । सिद्धान्त हुन्छ । सामाजिक सेवा गर्ने संस्था राजनीति गर्ने थलो होइन । यो त सबैले बुझेको छ । जहाँ सम्म लायन्सको सवाल छ । यसमा राजनीतिको प्रवेश भयो भन्ने सवाल छ, यो सरासर मिथ्या हो । हामीलाई त्यस्तो लाग्दैन । राजनीतिका लागि त अरु थुप्रै क्षेत्र छन् नि । यहाँ कसैलाई पनि राजनीति गर्नुपर्छ भन्ने आवश्यकता नै छैन । चुनावका कारण त्यस्तो देखियो होला । तर यो विशुद्ध रुपमा सामाजिक नेतृत्वका लागि हुने चुनाव हो । न यहाँ राजनीतिक हस्तक्षेप हुन्छ । न त राजनीतिक आधारमा साथीहरु विभाजित हुनेछ । आफुलाई मनपर्ने साथीको पक्षमा उभिन पाइन्छ । यसो भन्दैमा राजनीति भयो भन्ने आधारहरु म देख्दिन । यो हुनै सक्दैन । हुन पनि हुदैन ।

    तपाईको कार्यकालका नेपालको लायन्सको अन्तराष्ट्रिय छवि कस्तो पाउनु भएको छ ?
    हरेक गर्भनरले आफु गर्भनर हुँदा आफ्नो डिस्ट्रिकलाई जहिले पनि उत्कृष्ट बनाउनका लागि हरदम प्रयासरत् रहन्छ । त्यहि ढंगले मैले पनि शुरुवातबाट नै यो डिस्ट्रिकलाई उत्कृष्ट बनाउन कोशिस गरेको हुँ । धेरै हद सम्म सफल भएँ भन्ने लाग्छ । यसैको प्रतिफल हामी संसारकै लायन्स डिस्ट्रिकहरुमा उत्कृष्ट डिस्ट्रिकहरु मध्य पर्न सफल भएका छौं । हाम्रो मल्टिपल हरेक दृष्टिले अब्बल हो । नेपालको लायन्सको छवि र गरिमा पहिले पनि राम्रो थियो । यो वर्ष झन यो गरिमालार्य उचोँ बनाउन सफल भएको छु ।

    अघिल्ला वर्ष तपाई गर्भनर बन्दै गर्दा बनाउनुभएका योजना र लक्ष्य पुरा भए ?
    मैले जुन खालको योजना र लक्ष्य बनाएको थिएँ । त्यहि अनुसार क्लब अनि साथीहरुलाई मोटिभेट गरें । साथीहरुको साथ र सहयोगले मैले बनाएका योजना र लक्ष्यहरु पुरा भएको मैले महसुस गरेको छु । सन्तुष्टी सबै भन्दा ठुलो कुरा हो भन्छन् । तर सन्तुष्टी अगाडी बढ्न चाहनेका लागि बाधक पनि हो । त्यसैले धेरै हद सम्म सन्तुष्ट भए पनि समाजसेवामा गर्न बाँकी काम अझै छ भन्ने पनि लागेको छ । यसले आगामी दिन अझ उर्जाका साथ समाजसेवामा अगाडी बढ्न प्रेरित गरिरहन्छ ।

    अव लायन्समा तपाईको महत्वाकाँक्षा के रहेको छ ?
    लायन्समा लागेर समाजसेवा गर्न लागेको ३२ वर्ष भइसक्यो । पक्कै पनि समाजसेवामा लागि पछि नेतृत्वको चाहना पलाउछ । अव भनेको मल्टिपलको नेतृत्व हो । यो वर्षको मल्टिपल काउन्सिलको पालो चाहीँ वि टुको पालो छ । यो खालको सहमती बनेको छ । सहमतीलाई कायम राख्दै मैले कुनै खालको दावी गरेको छैन । तर आवश्यकता महसुस भएको खण्डमा नेतृत्वका लागि सदैव तयार रहने छु ।

    लायन्स मार्फत समाजसेवा लाग्नेहरुलाई के भन्नुहुन्छ ?
    पहिला हामीले लायन्स क्लबको सदस्य बनेर समाजसेवामा लाग्दा क्लबहरु पनि कम रहेका थिए । क्वालिटी र क्वान्टिटीको कुरा हो । दुवैकुरालाई सन्तुलित गरेर अगाडी बढ्नुपर्छ भन्ने लाग्छ । समाजसेवा निस्वार्थ भावले गरिनुपर्छ । समाजसेवा बाध्यताले गरिनु हुदैन । स्वतस्फुर्त गरिनुपर्छ । लायन्सले समाजसेवामा जुन मर्यादा कायम गरेको छ यसलाई निरन्तरता दिनु आवश्यक छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।