दीननाथ बराल. । पोखरा २५, माघ। नेपालकै पहिलो सिरुवारी (पन्चमुल) सामुदायिक होमस्टे (घरवास) यही माघ २७ गते सोमबार देखि पर्यटकहरुको लागि खुल्ला हुने भएको छ । कोरोनाको जोखिम न्यूनिकरण हुदै गएकोले चैत ११ देखि बन्द रहेको सिरुवारी होमस्टे सोमबार देखि खुल्ला हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सिरुवारी होमस्टेका संयोजक जुम गुरुङले बताए ।
नेपालमा कोरोनाको खोप पहिलो चरणमा लक्षित व्यक्तिहरुलाई लगाएसंगै कोरोनाबाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्डलाई पालन गरी करिब ११ महिना देखि बन्द भएको होमस्टे सोमबार देखि सवै पर्यटकहरुको लागि खुल्ला गरिएको उनले जनाए । यस बर्ष २०७७ सालसम्मको लागि होमस्टे अग्रिम बुकिङ नलिने घोषणा गरेको सिरुवारी होमस्टे दक्षिण एसियाकै नमुना होमस्टे अब पनि बन्द गर्नुले पर्यटनमा नकरात्मक सन्देस जाने भएकोले गर्दा पनि आफुहरुले होमस्टे पुनः संचालन गर्ने ढंगले हाल तयारी गरिएको संयोजक गुरुङले बताए ।
हाल २३ घरमा ६० पर्यटकको क्षमता रहेको उक्त होमस्टेमा प्रायः गरी आफ्नै घर गाँउमा उत्पादन भएका खाद्य बस्तुहरु पर्यटकहरुलाई दिदै आएको उनले जनाए । २०५४ साल स्व.रुद्रमान गुरुङको पहलमा ५ घरबाट सुरु भएको होमस्टे ४३ घर हुदै हाल २३ घरमा खुम्चिन पुगेको हो । कोरोनाको कारण देशमा लकडाउन हुँदा होमस्टे पूर्वाधार निर्माण कार्यमा आफुहरु जुटेको संयोजक गुरुङले जनाए । ३ करोड ९ लाखको लागतमा बहुउद्धेश्य पक्की भवन निर्माण कार्यमा हाल आफुहरु जुटेको उनले जनाए ।
यसैबिच, गण्डकी प्रदेशको स्याङजा जिल्लामा संचालनमा रहेका ४९ वटा होमस्टे पूर्ववत रुपमा सिरुवारी होमस्टे सोमबार देखि संचालन आएसंगै अन्य होमस्टेहरु पनि संचालन हुने भएको होमस्टे (घरवास) एशोसियसन नेपाल जिल्ला कार्यसमिति स्याङजाका अध्यक्ष मोहन खनालले बताए । उनका अनुसार स्याङजामा ४९ वटा होमस्टेमा एकै रातमा २ हजार जना पाहुनालाई व्यबस्थापन गर्न सकिन्छ । न्यूनतम ६ सय ५० देखि २ हजार १ सय रुपैयासम्म शुल्क लाग्ने गरी हाल स्याङजाका सामुदायिक होमस्टे सोमबार देखि बाँकी रहेका पुनः संचालनमा आउने भएको उनले जनाए । स्याङजाका करिब ८ सय घरमा सामुदायिक होमस्टे संचालनमा आएका छन भने गण्डकी प्रदेशबाट २३ वटा होमस्टेले अनुदान प्राप्त गरेको एशोसियसनले जनाएको छ ।
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीनाथ भण्डारीले सिरुवारी होमस्टेसंगै अब गण्डकी प्रदेशका प्रायः सवै जसो पर्यटकीय गन्तव्यहरु खुल्ला हुने भएको बताए । पछिल्लो समयमा शहर देखि गाँउतर्फ पर्यटकको आकर्षण बढ्दो रुपमा रहेको दाबी गरे । पर्यटन पुनः उत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नी कंडेलले ग्रामिण पर्यटन प्रबद्र्धन गर्न गुणस्तर र अर्गानीक खानपिनमा बिषेश जोड दिनुपर्ने बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले ग्रामिण पर्यटनमा जागरण आएकोले त्यसको दिगो पर्यटन विकासको लागि कृषि पर्यटन प्रबद्र्धन गर्नु पर्ने बताए । एशोसिएसनका सदस्य एवं युवा व्यवसायी अनन्त कुमार श्रेष्ठले स्याङजामा गत बर्ष करिब ११ हजार भन्दा बढी ग्रामिण पर्यटक भित्रिएको दाबी गरे ।