• नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

    December 30, 2020     1:46 pm

    काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन ।

    चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् ।

    नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन) को अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउनुभयो ।

    “नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, छ वर्ष र १२ वर्षको जोडा जन्मदिन मनाउँदा जोडा यःमरी चढाउने, भीमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन छ ।”

    यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ । पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ । त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन रहेको धौभडेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न वृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।