• नारायण गोपालको ३० औ स्मृतिदिवस ः रेडियो अन्नपूर्णद्वारा “नयापुस्तामा नारायणगोपाल” कार्यक्रम पोखरामा सम्पन्न

    December 5, 2020     10:51 am

    पोखरा । स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखराबाट विगत दुई दशकदेखि प्रसारित रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले “नयापुस्तामा नारायणगोपाल” कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार रेडियोमै आयोजना गरिएको कार्यक्रममा रामभक्त जोजिजु, इतु जोजिजु, विनोद बानियाँ, अजुदा थापा, कौशल्या गुरुङ,विक्रम बराल, प्रयत्न श्रेष्ठ, सन्तोष बस्याल, ममता गुरुङले नारायण गोपालका अजरअमर गीत प्रस्तुत गरे । सबैलाई तबलामा साथ संगीतकर्मी प्रविन्दर सिंहले दिएका थिए ।

    कार्यक्रमका अवसरमा बोल्दै रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले कोरोना कहरका बेला नारायण गोपालको स्मृतिमा यसरी कार्यक्रम सम्पन्न गर्न पाउनु सुखद रहेको बताए । उनले नारायण गोपाल सँधै अमर रहने बताए । “नारायण गोपालका गीतलाई नसम्झने को होला र ? उनका गीत सुन्दा आफ्नै लागि गाएको हो भन्ने आभाष हुन्छ ।”, अध्यक्ष पालिखेले भने ।

    कलाकार अझै व्यवसायीक बन्न नसकेको तर्क पालिखेको छ । कलाकारको संरक्षणमा राज्यस्तरबाटै पहल हुनुपर्ने भनाई उनको थियो । राष्ट्रिय नाचघरको प्रमुख भएका बेला आफूले नारायण गोपाललाई भेट्ने अवसर पाएको उनले स्मरण गरे । नारायण गोपाल सँधै सबैको मनमस्तिष्कमा रहने उनले बताए ।

    कार्यक्रममा बोल्दै गीतकार दिनेश अधिकारीले नारायण गोपाल गीत गायन कविता संग्रहको नाम भएको उल्लेख गरे । केटाकेटी स्वभावका गोपालले राम्रो गीत लेख्नेबित्तिकै आफूलाई पठाउन आग्रह गरेको स्मरण अधिकारीले गरे । नारायण गोपालले आफ्नो सिर्जनामा गाएको अन्तिम गीत बजारमा आउन नसक्दा दुख लागेको अधिकारीले बताए ।

    संस्कृतिकर्मी तिर्थ श्रेष्ठले नारायण गोपालले रचनाकारले भन्न खोजेको मर्म र भावना बुझेर गीत गाएको बताए । उनले भने, “गीतको मर्म नबुझदा समस्या आउने गर्दछ, गलाको माध्यमबाट समाजलाई मार्ग दर्शक गर्ने स्वर सम्राट नारायण गोपाल हाम्रो सामु भौतिक रुपमा नरहे पनि उनको कृति सधंै अम्मर रहने छन् । ”

    लेखक प्रकाश सायमीले नारायण गोपाल संगीतको सच्चा साधक भएको उल्लेख गरे । उनले गला र कलाले निखारिएका नारायण गोपाललाई शब्द छनोट ज्ञान भएका कारणले नै सिर्जनाले अमर बनाएको बताए ।

    नारायण गोपालले ४ मातृभाषा सहित एक सय ३७ गीतमा स्वर दिएरै नेपालको गायनको क्षेत्रमा चर्चा कमाएको सायमीको भनाई थियो । स्वर सम्राट नारायण गोपाललाई हामीले गुमाएको दिनलाई मात्र होइन जन्म दिनमा पनि स्मरण गर्नु पर्ने सायमी बताउँछन्् ।

    संगीतकार सुनिल थापाले बाल्यकालमा नारायण गोपालकै गीतबाटै सुनेर आफुहरु आज यहाँ सम्म आएको बताए । उनले भने “नेपालको संगीतको क्षेत्रमा उहाँकै गीत सुनेर बाल्यकाल बिताएका धेरै कलाकार छन् । संगीत क्षेत्रको धरोहरका रुपमा नारायण गोपाललाई बुझ््छु । ” अहिले क्षणिक अवधिका लागि गीत गाउने हुटहुटी भएको बताउँदै नारायण गोपाल संगीतको सच्चा साधक भएको बताए ।

    साहित्यकार कृष्णमोहन श्रेष्ठले नारायण गोपालको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै रेडियो अन्नपूर्णले सह्रानिय काम गरेको उल्लेख गरे । समय सान्दर्भिक कार्यक्रमले रेडियो उदाहरणीय बनेको उनको बुझाई थियो ।

    बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।