• मलमास शुरु, यस्ता कार्य गर्दा हुनसक्छ अशुभ

    September 18, 2020     10:33 pm

    प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरु भएको छ । असोज ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ । महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् ।

    जसमा भनिएको छ–
    असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
    द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

    अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताए । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।

    क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

    मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुवात् गर्नु नहुने नियम छ । मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।

    नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । वृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।