• अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीको चासो

    August 3, 2020     5:51 pm

    काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।

    नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रस्ताव गरेका हुन् । नेपालका दुईसहित १२ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि प्राधिकरण समक्ष प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्स, भारतको इण्डिगो एयर, चीनकोे एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजीरा एयर, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, मलेसियन एयर, मालिन्दो एयर, एयर अरेबिया र टर्कीको टर्किस एयरलाइन्सले नियमित उडानका लागि प्राधिकरणमा निवेदन दिएका छन् ।

    सरकारले भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सोही अनुरुप दुबैतर्फका एयरलाइन्सले आफ्नो उडान तयारीलाई तीव्रता दिएका छन् । प्राधिकरणका प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय एयरलाइन्सले शुरुमा एक साताको उडानका लागि निवेदन दिएका हुन् । नेपाल उडान गर्न निवेदन दिएका एयरलाइन्समध्ये मालिन्दा एयरले हप्तामा १५, मलेसियायन एयरले पाँच र एयर अरेबियाले पनि समान उडान गर्ने प्रस्ताव गरेको छ ।
    यस्तै फ्लाई दुबई, सलाम एयर, इण्डिगोले सातामा सात÷सात वटा, टर्कीले छ वटा, ज’जीराले दुई वटा, एयर चाइना र चाइना साउदर्न ले सातामा एक÷एक वटा मात्रै उडान अनुमति मागेका छन् ।

    निगमले पाँच गन्तव्यमा उडान गर्दै: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौँ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको छ । उडान हुने गन्तव्य निश्चित भए पनि उडान तालिका टुङ्गिन नसकेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । निगमले उडान गन्तव्य किटान गरी प्राधिकरणबाट अनुमति लिनेछ ।

    यता प्राधिकरणले जनाएअनुसार निगमले भारतको नयाँ दिल्लीमा १४, बैङ्लोरमा तीन, मुम्बईमा सात तथा चीनको ग्वाङ्जाओमा तीन, दुबईमा सात, दोहामा सात, क्वालालम्पुरमा सात, बैङ्कक हङ्कङ र नारितामा समान तीन उडान गर्नेगरी प्रस्ताव आएको छ । हिमालय एयरलाइन्सले पनि पाँच वटा गन्तव्यमा सातामा २१ उडान गर्ने तयारी गरेको छ । हिमालयले चीनको चोङचिङ, यूएईको अबुधावी, साउदी अरबको दमाम, कतारको दोहा र मलेसियाको क्वालालम्पुरमा उडान गर्ने गरी प्राधिकरणबाट उडान अनुमति लिएको छ । कम्पनीले चोङचिङमा एक, दोहामा पाँच, अबुधाबीमा चार, दमाममा सात, क्वालालम्पुरमा सात उडान गर्नेछन् ।

    बन्दाबन्दीपछि स्वास्थ्य प्रोटोकल पालना गर्दै उडान सञ्चालनका लागि सरकारले स्वीकृति दिएपछि मात्रै विदेशी एयरलाइन्सले व्यावसायिक उडान गर्न पाउछन् । विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा नेपालको नियामक प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाएको छ । नेपालमा उडान गर्न चाहने सबै एयरलाइन्सले उक्त मापदण्डमा रहेको उडान सञ्चालन गर्नुपर्ने हुन्छ ।

    यद्यपि, अन्तर्राष्ट्रिय उडानका लागि कुन एयरलाइन्सको गन्तव्यअनुसार कति उडान गर्ने भन्ने विषय अझै छलफलमै रहेको प्राधिकरणले जनाएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका थिए । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ उडान र अवतरण गरी सरदर १०० उडान हुने गरेको थियो ।

    सरकारले कोभिड–१९ रोकथामका लागि गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म नेपालभर बन्दाबन्दी लागू गरेको थियो । उक्त अवधिमा नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ । उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनी जुटेका छन् । आन्तरिकतर्फ पनि विभिन्न एयरलाइन्सका ४८ उडान स्वीकृति भएको बताइएको छ ।

    बुद्ध एयरको १८, यती एअरलाइन्सको ११, श्री एयरलाइन्सको आठ तथा समान तीन उडान पाएको सीता, समिट र सीम्रिक एयरले २ वटा उडान गर्ने अनुमति पाएका छन् । आन्तरिक उडानको पनि औपचारिक निर्णय भइनसकेको प्राधिकरणले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।