• भगवान शिबकाे प्रिय महिना तपाइकाे लागि कस्ताे छ ? हेर्नुहाेस साउन महिनाकाे राशिफल

    July 17, 2020     4:37 pm

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – एकातिर घरभित्रै विविध समस्या देखा पर्नेछन् । कुनै बाध्यताको काममा ह्वात्तै आर्थिक भारमा बृद्धि हुने सम्भावना पनि देखिन्छ । काम गर्दा छिटै थाकिन्छ, खिन्नता र डिप्रेसन बढ्ने सङ्केत छ, कार्य क्षमतामा कमी आउने छ । घरका बृद्ध सदस्यको स्वास्थ्यस्थितिमा उतारचढाव आउने छ । दुर्घटनाको जोखिम भएकाले सवारीसाधन हाँक्दा र बाटो काट्दा सचेत हुनुपर्छ । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । उच्च पदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, जसबाट लाभान्वित बन्नुहुनेछ । व्यवसायिक क्षेत्र र व्यापारको विस्तार हुनेछ । विपरीत परिस्थितिलार्ई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । आपसी सम्बन्ध सुदृढ बन्नेछ । चौथो र पाँचौं भावमा रहने राशिस्वामी शुक्रको प्रभावले यो महिना बडो आनन्द र उमङ्गका साथमा बित्नेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू बढ्ने छन् । आमा वा कुनै बृद्ध स्त्रीबाट पूर्ण सहयोग प्राप्त हुनेछ । परोपकार र जनकल्याणको भावना विकसित हुनेछ । महिनाको उत्तरार्द्धमा पठनपाठनमा प्रगति हुनेछ, कुनै सृजनात्मक काम गर्नाले प्रतिष्ठा प्राप्त हुनेछ र सम्मानमा अभिबृद्धि हुनेछ । यात्राबाट लाभ मिल्नेछ, महत्त्वपूर्ण कार्य सिद्ध हुनेछ । धर्म र अध्यात्मतर्फ मन आकर्षित हुनेछ । पारिवारिक जीवन हर्षाेल्लासपूर्ण रहनेछ । परिवारमा कुनै माङ्गलिक कृत्य सम्पन्न हुनसक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आर्थिक दृष्टिले पनि यो समय सकारात्मक रहने छैन, कुनै ठूलो आर्थिक व्ययभार बढ्न सक्छ । सम्पत्तिको नोक्सानी हुनसक्छ, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । यद्यपि राशिस्वामी बुधको प्रभावले केही राहत मिल्नेछ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । भ्रमणबाट लाभ मिल्नेछ । रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने छ । धनस्थानमा नै राहु ग्रहसमेत बसेकाले दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा कठिनाइ हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । द्वितीय भावमा रहेको राशिस्वामी चन्द्रमाका साथमा महिनाको प्रारम्भ भएको हुँदा भाग्यबल बढ्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुनेछ । तर प्रणय र प्रेमका लागि यो समय राम्रो होइन । प्रणयसम्बन्धमा तनावको सिर्जना हुनेछ, दाम्पत्य जीवनमा झैझगडा र किचलोको सम्भावना छ । आफ्नै राशिमा राहुको उपस्थिति भएकाले अचानक खर्च बढ्ने सङ्केत छ । भ्रम र शङ्का हानिकारक बन्नसक्छ । जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा अङ्कुश लगाउनु राम्रो हुनेछ । मौसमी रोगको प्रभाव पर्नसक्छ, सानातिना रोगले सताउन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – खर्चको मात्रा बढ्ने छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । एकआपसमा तनाव उत्पन्न हुनसक्छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । पञ्चमेश मङ्गल छैठौं भावमा रहनु र भाग्येश बृहस्पति सातौं घरमा रहनु शुभताको सङ्केत हो । परिस्थिति विपक्षमा रहे पनि यस समयमा सुखभोग गर्न पाइने छ । पेसागत र व्यवसायिक परिस्थतिमा परिश्रमबमोजिम सुधार आउने छ । धनसम्पत्तिको लाभ हुनेछ । समग्रमा नराम्रो समय छैन, यद्यपि बाटो काट्दा र वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –साथीभाइ, इष्टमित्र र नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । किनमेल, कारोबार, करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । लामो यात्रा सुखद र सफल हुनेछ । तर राशिस्वामी बुध महिनाको अधिकतम समय बक्री रहने भएकाले यतिबेला बुद्धि र विवेकले काम नगर्न सक्छ, त्यसैले यस समयमा सावधान हुनु आवश्यक छ । जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । यात्राबाट थकित बन्नुहुनेछ । भौतिक सुखसुविधाका सामाग्री किनमेल गर्न धनखर्च हुनेछ । भोगविलास र मनोरञ्जनात्मक क्षेत्रमा नकारात्मक ऊर्जा हाबी भएको समय छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आम्दानीको मात्रा बढ्ने छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नेछ । पारिवारिक वातावरण संतोषप्रद रहनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । तर चौथो भावमा बसेको मङ्गल र केतुको युतिसम्बन्धले मानसिक उल्झन र तनावबाट गुज्रने परिस्थिति आउने छ । दाजुभाइसँगको सम्बन्धमा चिसोपन देखिने छ । गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आकस्मिक धनहानिको सङ्केत पनि छ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । नातागोता, खासगरी दाजुभाइका कारण खुसीको वातावरण सिर्जना हुनेछ । जग्गाजमिनसँग सम्बद्ध कारोबारबाट लाभ प्राप्त हुने सम्भावना छ । शत्रु र प्रतिस्पर्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । तर पञ्चमेश बाह्रौं भावमा रहेकाले लामो यात्रा सफल हुनेछैन । मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । सन्ततिका काममा खर्चबृद्धि हुनेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –लामो समयसम्म अस्वस्थ हुने आशङ्का छ त्यसैले खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै खराब र अनैतिक मानिने कामभन्दा टाढा रहनु नै कल्याणकारी हुनेछ । महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । व्यापारमा घाटा हुने वा धनमाल हराउने/ चोरी हुने सङ्केत छ । तर अत्तालिई हाल्नु पर्दैन, राशिस्वामी बृहस्पति राज्यस्थानमा रहेकाले यो समय राम्ररी नै बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । साथीभाइ र कामदारले धोका दिनसक्छन्, उता पति वा पत्नीले आफ्ना कुरा नबुझ्नाले पनि अप्ठ्यारोमा पर्न सक्नुहुन्छ, त्यसैले घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । तपाईंको राशिमा मङ्गल र केतुको युतिसम्बन्ध छ, त्यसैले जत्तिवेला पनि गरम मिजास हाबी हुने खतरा हुन्छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी नदिनु नै बेस हुनेछ । यद्यपि पञ्चमेश बुध सातौं भावमा रहेकाले विद्वानहरूका साथमा घुलमिल हुने मौका आउने छ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । कुनै प्रतिस्पर्धामा समेत सफलता हाासिल हुनसक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । तर पनि राशिस्वामी शनिश्चरको बक्रताका कारण प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । मौसमी रोगको प्रकोप छ, खर्चको मात्रामा बृद्धि भइरहन्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नु पर्नेछ । सनक र उन्मादबाट प्रेरित भएर गरेको कामकाजबाट हानि पुग्नेछ । समय लाभदायी नै रहे पनि सारांशमा यस अवधिमा मानसिक उल्झन र समस्यामा केन्द्रित भइने छ, त्यसैले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूर्णता पाउने छन् र लामो दूरीको यात्रा लाभदायक रहने छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ, तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । यद्यपि प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन । किनभने तपाईंको राशिस्वामी बृहस्पति अष्टम भावमा देखिन्छ, मस्तिष्कलाई आराम हुनेछैन । रहस्य, अध्यात्म, गूढविज्ञान र परामनोविज्ञानका विषयमा रूचि बढ्ने छ वा यी क्षेत्रको कुनै अनुभव प्राप्त हुनेछ । मित्र र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।