• एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

    July 3, 2020     5:16 pm

    नेपालमा विगत २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ। तीमध्ये ६,१४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८२३ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् भने असार १७ मा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। अहिलेसम्म प्रदेश नं ५, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

    कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ। बिहीवार मन्त्रालयले ४७३ जनामा सङ्क्रमण पुष्टि गरेको थियो भने एकै दिन सर्वाधिक ६६४ जना भाइरसमुक्त भएर घर फिर्ता भएका थिए। यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

    मन्त्रालयका अनुसार असार १७ गते राति काठमाण्डूको एउटा अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। उनी नयाँ बानेश्वर निवासी ८५ वर्षीय वृद्ध भएको डा. गौतमले बताए। ती व्यक्ति पार्किन्सन्स रोगबाट पीडित थिए। छाती दुखेको र पिसाब कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो।

    अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ। आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०८४ छ। महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा सङ्क्रमितको कुल सङ्ख्या ५०० नाघेको छ।

    निको भएकाबाहेक अहिले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक २,८४९ सङ्क्रमित छन् भने प्रदेश नं ५ मा २,१५७ र प्रदेश नं २ मा २,१२४ जना छन्। विभिन्न जिल्लामा ३५,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

    मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,४२,२४७ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

    डा. गौतमका अनुसार शुक्रवारबाट परीक्षणको दायरा अझ फराकिलो बनाइएको छ। उनका अनुसार अब क्यान्सर तथा मधुमेह भएका बिरामी, इमर्जेन्सीमा आउने बिरमाी, आईसीयूमा भर्ना भएका बिरामी, पकेट एरियाम बस्ने मानिस र स्वास्थ्यकर्मीहरूमा परीक्षण हुनेछ।-बीबीसी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।