१७ असार, पोखरा । वालिङ्ग नगरपालिका वडा नम्बर ३ को आयोजनामा युवा लक्षित आयमुलक कार्यक्रम अन्र्तगत ५ दिने उद्घोषण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्याङ्गजाको माझकोटमा सम्पन्न तालिममा २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
असार ११ गतेदेखि सञ्चालन भएको तालिम १५ गते समापन भएको थियो । समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वालिङ्ग नगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष सुकबहादुर गुरुङ्गले युवाहरु नै समाज विकासको सम्वाहक भएकाले युवाहरुलाई चेतनशिल बनाउनका लागि तालिम आयोजना गरेको बताए । उनले बोल्ने कला मानिसको जीवन पद्दती भएकाले तालिमको आवश्यकता महसुस गरेर आयोजना गरिएको सुनाए ।
प्रशिक्षण कार्यक्रमका संयोजक कौबहादुर गुरुङ्गले युवाहरुमा गरेको लगानीले समाजलाई नै फाइदा पुग्ने बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा पनि उतार्न प्रशिक्षार्थीहरुलाई सुझाव दिए । प्रशिक्षक नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सन्जय मल्लले भौतिक विकास मात्रै होइन गाउँगाउँमा चेतनाको विकासको आवश्यकता रहेको बताए । यस्ता तालिमले युवाहरुको आत्मविश्वास र क्षमता अभिबृद्धि हुने उनको भनाइ थियो । अर्का प्रशिक्षक धनु गुरुङ्गले युवाहरुले आफु भित्र रहेको क्षमताको पहिचान गर्न का लागि पनि तालिम अपरिहार्य रहेको सुनाए ।
कार्यक्रममा स्वागत वालिङ्ग नगरपालिका वडा नम्बर ३ का सचिव श्री लालचन्द्र पौडेलले गरेका थिए भने प्रशिक्षार्थी मुना गुरुङ्ग र खुम गुरुङ्गले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी रामचन्द्र गुरुङ्ग र आसु गुरुङ्गले गरेका थिए ।
वालिङ्ग नगरपालिका वडा नम्बर ३ का सदस्य नरमाया गुरुङ्ग, मीनमाया सुनार, सचिव श्री लालचन्द्र पौडेल, तालिम प्रशिक्षण समितीका सदस्य श्री लिल गुरुङ्ग, माझकोट माविका प्रधाध्यापक जगन्नाथ यादब लगायतले बोलेका थिए ।