• कोरोना भाइरसको महामारी चुनौतीसँगै अवसर पनि हो: सांसद भट्टराई

    June 6, 2020     10:59 pm

    कास्की । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले कोरोना भाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएकी छिन् ।

    ‘अहिलेको यो कोरोनाको सङ्कट पनि देशलाई स्वाधीन अर्थतन्त्र र आत्मनिर्भर बनाउने उपयुक्त अवसर हो’, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित ‘राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता’को अवलोकन गर्दै उनले भनिन्, ‘भौतिक विकासले मात्र समृद्धि हासिल गर्न नसकिने भएकाले सामाजिक न्याय र समतामूलक विकासमा हामीले जोड दिनुपर्छ ।’

    सांसद भट्टराईले कोरोनाको कहर र लकडाउनको विषम परिस्थितिमा पनि शिक्षक सङ्गठनले अनलाइनमार्फत् विद्यार्थीलाई सिकाइमा सक्रिय बनाउन उत्प्रेरित गरेकामा धन्यवाद व्यक्त गर्दै अहिलेको अवस्थामा प्रविधिमैत्री विद्यालय, अनलाइन कक्षा र शिक्षणका वैकल्पिक उपायहरु सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमको समीक्षा गर्दै नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्रा डा यादवप्रकाश लामिछानेले वर्तमान समस्याका बीच विद्यार्थीको सहभागिता र विषयवस्तुप्रतिको गम्भीर्यता, गहिराई, प्रस्तुति प्रसंसायोग्य भएको बताए ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले अबको युग सूचना र प्रविधिको युग भएकाले कोरोनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई प्रविधिमा जोडिन सिकाएको उल्लेख गर्दै यो प्रतियोगिता पनि यसै कोरोनाको कारण सम्भव भएको र यसका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महत्वपूर्ण भूमिका खेलेको बताए । सङ्गठनका जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई ध्यान दिँदै सङ्गठनले पहिलो चरणको अनलाइनमार्फत शिक्षक तालिम र दोस्रो चरणअन्तर्गत वक्तृत्वकला प्रतियोगिता राखिएको जानकारी दिए ।

    उक्त प्रतियोगितामा देशभरबाट ९७ विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताको तेस्रो दिन ‘आत्मगौरवका लागि आत्मनिर्भरता’ भन्ने शीर्षकमा १० जना विद्यार्थीले आफ्नो विचार प्रस्तुत गरेका थिए । विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु २५, १५ र १० हजार तथा सान्त्वना सातजनालाई जनही रु दुई हजार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रमका संयोजक तीर्थराज ढकालले जानकारी दिए । कार्यक्रम हरेक दिन बिहान ७ः३० देखि ९ः०० बजेसम्म जुम एपमा भइरहेको छ ।– रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।