• नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

    May 19, 2020     12:46 pm

    काठमाडौं- सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताए ।

    नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिए । नयाँ नक्सामा अन्तरराष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उनको भनाइ छ । यो नक्सामा सङ्घीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अरु अन्तरराष्ट्रिय सीमा यथावत रहेको पनि उनले बताए ।

    अब यो नक्साबमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने उनले बताए । मन्त्री डा खतिवडाले सरकारले तोकिएको दिनमा नै बजेट संसद्मा पेश गर्ने गरी तयारी अघि बढिरहेको बताए । अहिले दैनिक कोरोना जोखिम बढिरहेको अवस्था भएकाले एक महिना पहिले वा एक साता पहिले गरिएको आर्थिक क्षेत्रको अनुमान अहिले फरक पर्ने पनि उनले बताए ।

    सरकारले परिस्थितिको नजिकबाट अनुमान गर्दै अबको एक दुई दिनभित्र आगामी वर्षको बजेटको एउटा आकार ल्याउने उनको भनाइ थियो । आगामी आवमा आर्थिक क्षेत्रलाई कति उकास्न सकिन्छ भन्ने आँकलन गर्न लागिएको र त्यसको आधारमा आर्थिक गतिविधि निरन्तरता दिने पनि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा खतिवडाले बताए । उनले भने, “जोखिम नियन्त्रण चाल्नुपर्ने कदम र स्वास्थ्य सुरक्षाका लागि अपनाउनुपर्ने कुरा ध्यान दिएर फेरि विकासमा अघि बढाउने गरी तयारी गरिरहेको छ ।”

    भारतले गत नोभेम्बरमा नक्सा सार्वजनिक गरेसँगै नेपालमा सीमाका विषयमा विभिन्न स्तरमा छलफल भएको थियो । भारत सरकारले लिम्पियाधुरा क्षेत्रमा निर्माण भएको सडकको उद्घाटन गरेसँगै नेपालमा लिम्पियाधुरासहितको नक्साका लागि सबै पक्षबाट तीव्ररुपमा माग भएको थियो । भारतले नेपालको भूमि अतिक्रमण गरेसँगै सरकारले केही दिन पहिले मात्रै दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा सीमा निगरानी चौकी स्थापना गरेको थियो । यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पेश भएको सरकारको नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख थियो । – खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।