नेपालमा कोरोनाभाइरसका कारण एक सुत्केरी महिलाको मृत्यु
May 16, 2020 9:48 pm
कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। उनी सिन्धुपाल्चोककी सुत्केरी महिला हुन्।
कोभिड-१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो। उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी थिइन्। घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको बताइएको छ।
मन्त्रालयले शनिवार साँझ थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ। योसहित शनिवार साँझसम्म १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ। अब कुल सङ्क्रमितको सङ्ख्या २८१ पुगेको छ। नेपालमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएको करिब चार महिनापछि कोरोनाभाइरसकै कारण कसैको मृत्यु भएको यो पहिलो पटक हो।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा सिन्धुपाल्चोक निवासी ती २९ वर्षीया महिला काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएको र त्यसको भोलिपल्ट बच्चा जन्माएर वैशाख २५ गते घर फर्किएको उल्लेख छ।
“ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ। “यस सम्बन्धमा विस्तृत विवरण लिइएको र कोभिड-१९ सँग सम्बन्धित थप परीक्षणपश्चात् नेपालमा कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ।” अधिकारीका अनुसार साँझ पुष्टि भएका दुई सङ्क्रमित धनुषाका हुन्।