परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै यसवर्ष एसईई परीक्षा नलिन प्याब्सनको माग
May 5, 2020 3:44 pm
२३ वैशाख, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।
कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तीमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हो ।‘विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्र्त ठहर गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।
यसका लागि आवश्यक कानूनी अड्चन फुकाउन समेत सरकारसँग आफूहरूले आग्रह गरेको प्याब्सनका अध्यक्ष टिकाराम पुरी बताउँछन् । २०७६ सालको एसईईका लागि मात्रै लागु हुने गरी कानून व्यवस्था मिलाउनु पर्ने उनको सुझाव छ । चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।