प्रदेश नं ५ को बाँके जिल्लाको नेपालगन्जमा एकै दिन कोरोनाभाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र सङ्क्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन्। भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको जानकारी दिए।
उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासि धेरै सङ्क्रमित देखिएका हुन्। नेपालगन्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको थापाको भनाइ छ।
उनले भने, “पुराना सङ्क्रमितको समयमै पहिचान हुन नसक्दा नेपालगञ्जमा सङ्क्रमितहरू ह्वात्तै बढेको देखिएको हो, परीक्षणको दायरा बढाउँदै जाँदा अझै धेरै पत्ता लाग्न सक्छन्।”
लकडाउनको पालना : सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै उनले नआत्तिन आग्रह गरे। प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण नेपालगन्जमा मानिसको चहलपहल बढी देखिएको नेपालगन्ज उमहानगरपालीकाकी उपप्रमुख उमा थापाको भनाइ छ।
उनले भनिन्, “सबैले लकडाउनको पालना गरेको भए सङ्क्रमित व्यक्ति घरघरमा पढाउन जाने थिएनन् र अहिले यो स्थिति आउने थिएन।” वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो। एक दिनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म १०० वटा नमुना परीक्षण गर्न सकिने भए पनि जनशक्तिको अभावमा पूर्ण क्षमताअनुसार परिक्षण गर्न नसकिएको डा. थापाले बताए।
दिल्ली-नाताको खोजी : भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए। त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको हो। विमला चौधरी/बीबीसी