पोखरा, १३ बैशाख । मुस्लिम धर्मालम्बीहरूको मुख्यपर्व रमजान बैशाख १३ शनिबारबाट सुरु भएको छ । यतिबेला कोरोना संक्रमणको जोखिमको कारण देश लकडाउनको अवस्थामा रहेको छ । लकडाउनकै समय मा मुस्लिम समुदायको ठुलो पर्व रमजान पनि शुरुभएको छ । लकडाउनका कारण रमजानका बेला मस्जिदमा गरिने पाठमा असर गरेको पोखरा १३ स्थित मस्जिदका धर्मगुरु हाजी जमालुद्दिनले सुनाए ।
मस्जिदमा विहान ८ बजेदेखि १२ बजे सम्म गरिने कुरानको पाठ गरेर सुन्ने सुनाउने कार्यक्रम हुन्थ्यो । यो बेलामा त्यो कार्यक्रमलाई स्थगित गर्नुपरेको उनले बताए । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरसको जोखिमका कारण यो वर्ष घरमै बसेर नमाज पढ्न आह्वान गरिएको धर्मगुरु हाजी जमालुद्दिनले बताए ।
यतिबेला हामी भोको रहने समय हो । हामी आफु भोको रह्यौ भने भोक भनेको के हो भन्ने महसुस गर्न पाउछौं । खुसी र दुखलाई पोख्ने माध्यम पनि हो यो रमजान । यो अरबी महिनाको नवौं महिनामा पर्छ । निराहार भोको बस्ने प्रकृयालाई रोजा भनिन्छ उनले भने ।
पहिलो दिनको रोजा शनिवार बिहान ३ः४३ देखि बेलुका ६ः५० सम्म निराहार रहेर बसेका छन् । रोजाको समय सुर्योदय र सुर्यास्तको समय फरक रहने हुनाले हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । रोजाका बेला दिनमा पानी पनि खानु हुदैन । यो समयमा सकेसम्म कुरानको पाठ गरिन्छ । व्याख्या गरिन्छ । सुन्ने, सुनाउने गरिन्छ । रमजान भनेको अल्लाहलाई सम्झने महिना पनि हो । यो बेलामा अल्लाहको नाममा गरिब गुरुवालाई सहयोग गर्ने गरिन्छ ।
रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिने पोखरा मियापाटन स्थित मस्जिदका अर्का धर्मगुरु हाजी अब्दुल रहिमले सुनाए । उनले यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास ब्यक्त गरे । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने उनको भनाइ छ । यो समयमा विहान बेलुका धुप बाल्नुपर्ने हुँँदा मस्जिदमा काम गर्ने ५ जना बाहेक अन्यलाई हामीले रोक्नु परेको अवस्था छ उनले भने । अहिले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कास्की भरका मस्जिद बन्द गरिएको उनले सुनाए ।
यो पर्वमा मुस्लिम समुदाय एक महिनासम्म दिनभर निराहार व्रत बसेर नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।