• पोखरामा प्रमोद खरेल’ संगीतसँगै नाता सम्बन्ध र भावुकताको ‘फ्यूजन’

    April 6, 2019     6:21 pm

    फोटो : प्रेम थापा

    पोखरा, २३ चैत ।

    ‘म बिना कसै–कसैलाई मुश्किल छ पोखरामा’, नेपथ्यबाट चिरपरिचत आवाज गुञ्जियो । खचाखच भरिएको सभागृह हलमा एकाएक ठुलो ‘चियर–अप’ सुनियो ।

    घुम्रिएको लामो कपाल । हातमा माइक लिएर कालो सुटमा ठाँटिएर स्टेजमा झुल्किए उही गायक प्रमोद खरेल । शायद पोखरामा आएकैले होला, उनले शुरुवात नै त्यही चर्चित गीतबाट गरे ।

    यो गीतलाई पोखराकै गीतकार शितल गिरीले लेखेका हुन् । गीत सकिएपछि प्रमोदले शितललाई अगाडि बोलाए । र, सम्मान गरे । ‘मान्छे झापाको भएपनि पोखरासँग एउटा अलग्गै खालको साईनो गाँसिएको छ । पोखराले पनि मलाई कहिल्यै पराई ठानेन । त्यसैले त पोखरेलीमाझ म यसरी माया साट्न आईपुगेको छु ।’ प्रमोदले शुरुवातमै पोखरेलीको ध्यान खिचिहाले ।

    प्रमोदले थपे,–‘म कहिल्यै गीत गाउँदा आफू मात्र हिट हुनुपर्छ भन्ने मान्यता राख्दिन । गीतसँग जोडिएका हरेक स्रष्टाले उत्तिकै चर्चा कमाउनुपर्छ भन्ने मेरो धारणा हो । एउटा गीत हिट हुनलाई पर्दा पछाडि धेरैजनाको मेहेनत हुन्छ ।’ प्रमोदले यति भनिसकेपछि अर्को गीत गाउन थाले ।

    जब उनले ‘याद गर्न पनि कोहि न कोहि त चाँहिदो रहेछ’ गीत गाए, ‘ब्याकड्रप’मा भएको ‘एलइडी स्क्रिन’मा पोखराकै चर्चित नेता रवीन्द्र अधिकारीको फोटो देखियो । केही दिन अगाडि मात्रै हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्रलाई ‘डेडिकेट’ गर्दै उनले गीत गाईरहँदा सभागृहहल एकाएक भावुक बन्यो । रवीन्द्र अधिकारीलाई धेरैले ‘मिस’ गरे ।

    एमाले नेता योगेश भट्टराईदेखि पोखरा महानगरपालिका कार्यालयका मेयर मानबहादुर जिसीसँगै राजनीतिक र कलाकारिता क्षेत्रका विज्ञहरु पनि कार्यक्रममा सहभागी थिए । सबैजना प्रमोदको गायनमा झुमे । अन्तिमसम्म पनि दर्शक चाप यथावत रह्यो । कार्यक्रम अवधीभर प्रमोदले करिब दुई दर्जन आफ्ना चर्चित गीतहरु गाएका थिए ।

    फोटो : प्रेम थापा

    बीचमा गायिका मिना निरौलाले प्रमोदलाई साथ दिईन् । पुराना म्यास–अप गीतमा यी दुईको केमेष्ट्री खुब जमेको थियो । प्रमोदलाई हलमा सुन्न आएका स्रोताहरुको लागि यो विशेष प्याकेज थियो । त्यसैमाथि अर्का हाँस्य कलाकार मनोज गजुरेलले उपस्थित दर्शकहरुलाई हँसाए ।

    ‘पोखरामा प्रमोद खरेल’ स्वयं प्रमोद खरेलकै लागि पनि विशेष थियो । कारण, यस्तो प्रकृतिको कार्यक्रम उनका लागि पहिलोपटक नै थियो । उनका एकल प्रस्तुतीहरु नभएका होईनन् । तर यहाँ भएको कार्यक्रमको व्यवस्थापन, प्रकृति र उद्देश्य बिल्कुल नौलो थियो । त्यसैले उनको जीवनकालकै ऐतिहासिक कार्यक्रमको रुपमा उनले यहाँको कार्यक्रमलाई लिएको बताए ।

    एभिन्यू ग्रुप अफ कमर्शको आयोजनामा भएको कार्यक्रमलाई यहाँकै बार्दली मिडिया प्रालिले व्यवस्थापन गरेको हो । आयोजक पनि यो कार्यक्रमलाई लिएर निकै खुशी भएको छ ।

    त्यस्तै कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको बार्दली मिडिया प्रालिले कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेको छ । ‘यो कार्यक्रम ऐतिहासिक भएको छ ।

    र, यसलाई भव्य बनाउन धेरैजनाको सहयोग हामीले पायौँ । सम्पूर्ण पोखरेली यसमा सहभागी भए । सबैलाई धन्यबाद ।’ बार्दली मिडिया प्रालिका प्रबन्ध निर्देशक मन क्षेत्रीले भने ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।