• श्री स्वस्थानी ब्रतकथा त्रिंशोऽध्याय :- ।। नवराज चन्द्रावतीमिलनवर्णन

    February 9, 2020     11:46 am

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! हर्ष बढाई र मंगल यात्राका साथ दरबारभित्र चन्द्रावती भित्रिएपछि उनले राजमाता गोमा र राजा नवराजलाई पाउमा शाष्टाङ्ग दण्डवत् गरिन् ।

    राजा नवराजले चन्द्रावतीसित प्रेमपूर्वक सोधे —“हे प्रिय ! मैले पाँच वर्ष अघिदेखि तिम्रो मुख देख्न पाएको थिइँन । यहाँ ल्याउन भनी डोले र सिपाहीहरु तिम्रा माइतमा पठाएको थिएँ, ती पनि आजसम्म फिरेका छैनन् । तिमी यहाँ आउन विलम्ब हुनुको के कारण हो ? यो देशको राज्य सिँहासनमा राज्याभिषेक भएको पाइनौ ? मेरो पनि राज्यका कार्यभारले तिम्रो खोजी गर्नमा ध्यान पुग्नसकेन, यो निष्ठूरीलाई क्षमा गर । अनि शाली नदीका तीरमा आएर एक्ली भएर किन बसेकी थियौ ? मलाई खबर गर्नु पर्दैन्थ्यो ? तिमी पहिलेकी जस्ती ता देखिन्नौ ता ? कता हो कता राम्री , तेजस्वी र अनेकौं लक्षणले युक्त झैं देखिन्छ्यौनि त ? कुनै ठूला संकटमा पो पर्याै कि, कुनै सज्जनहरुको साथ पो पायौ कि सबै वृत्तान्त बताऊ ।”

    आफ्ना स्वामी नवराजले प्रेमले भरिका कुरा भनिसकेपछि चन्द्रवतीले पनि डोलेहरु लिन गएको र आफ्ना पिता अग्निस्वामीका घरबाट यता आउन भनी हिडेर वरुणपुर छोडेका दिनदेखि भएको सम्पूर्ण वृत्तान्त जो थियो सबै न बिराइकन यथार्थ सुनाईन् । चन्द्रावतीका यी कुरा सुनेर आश्चर्य मान्दै “धन्य ! हाम्रो भेट हुन पायो ” भनेर नवराजले हर्ष प्रकट गरे ।

    उता चन्द्रावती भन्दै गइन् —“ हे स्वामी ? श्री स्वस्थानी परमेश्वरीको निन्दा र अपमान गरेका पापले मेरो त्यस्तो दुर्दशा हुन गई त्यो अवस्थामा पुग्न गएँ । फेरि उनै परमेश्वरीको कृपाले आज हजुहरुको दर्शन पाउन सकें । हे माता ! हे पति ! श्री स्वस्थानी परमेश्वरी भन्दा ठूलो देवता अरु कोही रहेनछन् । सम्पूर्ण व्रतका पति व्रत, धर्मका पनि धर्म, कालका पनि काल, देवताका पनि देवता,नाथका पनि नाथ, मालिकका पनि मालिक, ईश्वरका पनि ईश्वर त्यस्ती परमात्मा श्री स्वस्थानी परमेश्वरीलाई कोटी–कोटी नमस्कार छ ।” यत्ति भनी रानी चन्द्रावतीले परमेश्वरीमा चित्त लगाई बार–बार ढोग्दी भईन् । आगौं अन्तिम अध्यायको कथा अर्को अध्यायमा सुनाउँला । इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये
    कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रतकथायां श्री नवराज चन्द्रावतीमिलनवर्णन नामं त्रिंशोऽध्याय ः ।। ३० ।। श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।