कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! शिवशर्मा ब्राम्हाणका साथ छोरी गोमालाई पठाएपछि शिवभट्ट ब्राम्हण र सती ब्राम्हाणीले आफ्ना छोरी ज्वाइँ गएको उनीहरु देखिउञ्जेल हेरीरहे । जब देखिन छोड्यो तब रुखमा चढी हेर्न लागे ।
त्यहाँबाट पनि जब देखिन छोड्यो तब रुखका एउटा हांगामा खसी घरद्धार, सम्पत्ति सबै बिर्सिएर छोरीका सुर्ताले नाना किसिमका विलाप गर्नलागे । छोरीका मायाले गर्दा भोक, तीर्खा, निद्रा, जाडोको कुनै पर्वाह नगरी विलाप गर्दै गर्दा दैव गतिका कारण अकस्मात, ती बसेको रुखको हाँगो भाँच्चिन गई दुवैपती–पत्नी भूइँमा झरेर त्यही हुरुक्कै भए । त्यसै बखत श्री शिवदूत आई विमानका बसाली कैलाशतर्फ लैजाँदा भए । कैलासमा पुगेर ती ब्राम्हण–ब्राम्हाणी दिव्य देह पाई आनन्दले रहे । अघि गोमालाई “तेरा बाबा–महतारीको चाँडो मृत्युहोस् ” भन्ने श्री महादेवका श्राप थियो तापनि सो आशीर्वाद स्वरुप हुन गयो र श्री महादेवको सामीप्य प्राप्त भयो ।
उता बाबा–आमासित विदा भै शिव शर्माका साथ गएकी गोमाले बाटामा डोलेहरुसंग “यो हरियो बनको नाम के हो ? त्यो अल्गो पर्वतको नाम के हो ? यो ठूला र चिल्लापात भएका रुखको नाम के हो ? त्यो लामो पुच्छर गरेको जन्तुको नाम के हो ?” भनी सोध्दै जान्थिन्, डोलेहरुपनि “तिनको नाम यो हो यो हो” भनी चिन्हाउँदै जान्थे । कतै खोला, कतै छाँगा, कतै साँघु कतै भीरपाखा, कतै मैदान, कतै बेंसी र खर्कको बाटो भएर जाँदा जाँदै निकै टाढा पुगेपछि एउटा ठूलो बन देखियो । त्यो वनका माझमा भएको एउटा पोखरीनिर पुग्दा साँझ पनि पर्याे ।
त्यहीँ बास बस्ने मन गरी खानपीन गरी सबै सुते । श्री महादेवको श्रापको कारण परेकोले हिँडाईका थकानले गाढा निद्रामा परेका वेला चोरहरु आई आफ्ना बाबा–आमाले दिएका गोमाका शरीरका गहना र अरु धनमाल सबै लगिदिए । अर्का दिन बिउँझिएर हेर्दा भए भरको धनमाल र आफ्ना अंगमा लागाएका गहना समेत चोरिएको देखी गोमा साह्रै रुन र कराउन लागिन् । यस्तो देखी डोलेहरुले भने — “ हे गोमा ब्राम्हाणी ! थाकेर आएका हुनाले हामीलाई पनि साह्रै निद्रा लागेछ र यस्तो पर्न गयो । हामी अभागीहरुले अब तिम्रा बाबा–महतारीलाई के भन्न जाउँला ? अनि आफ्नो मुख कसरी देखाउँला”? यसो भनी अँध्यारो मुख लगाए ।
यो देखी गोमाले भनिन् — “हे भरिया हो ! हे डोले हो ! बिस्मात नगर । तिमीहरु अब मसित छैन । हामीलाई यहाँसम्म सकुशल पु¥याएको खबर मेरा वृद्ध माता–पितालाई सुनाई सन्तोष गराउनु । ” यसरी गोमा ब्राम्हाणीबाट विदा पाएर “सन्ताप नगर्नुहोला । अब हामी फर्किन्छौ” भनी प्रणाम गरी शिव शर्मा र गोमाबाट तिनले विदा लिए । डोले र भरियाहरु फर्किएपछि शिवशर्मा र गोमा पनि जंगलका बाटाका छेउ–छाउमा भेटिने फल, कन्दमूल खोज्दै, टिप्दै, उखेल्दै खाँदै उकालो पार गरी एउटा अग्लो डाँडामाथि पुगे । त्यहाँ पुगेपछि गोमाले—“ हे स्वामी ! मलाई ज्यादै भोक लाग्यो, हिड्न सकिनँ, भनी जीउ छोडेर थुचुक्कै बसिन् ।
गोमा गर्भिणी भएकी र बाबा–आमाका न्याना काखमा पालिएकी हुनाले यस्तो कठिनाई पर्न गएको हो भन्ने बझेर शिवशर्मालाई गोमामाथि ठूलो करुणा भयो । त्यहाँ पछि उनले गोमालाई काखमा राखी माया गर्दै भने— “ गोमा ! यहाँ फल–कन्दमूल केही पाईदैन, पानीको धारो वा कुवा पनि छैन । यस कारण, यस्ता नाङ्गा डाँडामा बसेर हुदैन । यहाँबाट अलिकति पर पुग्नसके त्यहाँ फल–कन्दमूल पाईन्छन् , जलाशय पनि छ । हिँड, उहीं जाउँ,” भनेर बुझाई गोमाको हात समातेर उठाई सुस्त–सुस्त हिडाउँदै शिव शर्माले लगे ।
गोमाले मन–मनमा “ हे हरि ! अब कसो होला, आज मेरो यो अवस्था भयो” भनी सुस्केरा हाल्दै, अलि–अलि गर्दै हिँडेर पतिको हातको सहारामा डाँडाको फेदीमा पुगिन् । शिव शर्मा ब्राम्हाणले छेउ–छाउबाट फल–कन्दमूल खोजी ल्याएर खान दिए । पातको सोली बनाई कुवाबाट पानी उघाई ल्याएर पिलाए र निकै बेर थकाई मार्न लगाए । थकाई मर्दै गएपछि उनले भने— “हे प्रिये ! अब हाम्रो घर पनि छेउ–छेउमा नै आउन लाग्यो लौ हिँड” भनी अलि–अलि हिडाउँदै र ठाउँ–ठाउँमा बस्न दिदै चन्द्रज्योति नगरको बाहिर पुर्याए । त्यहाँ पुगेका केही बेर पछि शिवशर्माले आफ्ना योग बलद्वारा केही पर एउटा खरको झुपडी उत्पत्ति गरी — “ हे स्त्री ! हाम्रो घर ऊ त्यही हो अब हामी दुई–तीन घडी हिड्न सके घर पुग्ने छौं” भनी गोमालाई देखाए ।
न भन्दै केही बेरमा त्यहाँ पुगी आफ्ना पतिद्वारा द्वारका संघारको दुईपट्टि राखिएका मंगलकलशको जल अचाई गोमाले आफ्ना गृहमा वधु–प्रवेश गरिन् । त्यहाँ भित्र गई हेर्दा आफ्नो माइती घर सम्झीएर गोमा रुन लागिन् किनभने त्यो झुपडीभित्र माकुराको जालो, धूलो र कसिंगरले भरिएको थियो । केही बेरपछि अब रोएर के गर्नु, जसो भए पनि मैले आफ्नै कर्म भोग्नुपर्छ भनी मन बुझाई माकुराको जालो र धुलो मिल्काई कसिंगर लगाईन् । यसै प्रकारले चित्त धैर्य गराएकी गोमाले जे–जस्तो जुट्छ त्यै खाई आफ्ना पतिका सेवामा तैनात रही आएका दिनहरु बिताउँदै लगिन् । केही दिनपछि शिवशर्माले आफ्नी पत्नी छेउ गई भने —“ह गोमा ! तँ गर्भिणी छेस्, हाम्रा घरमा कुनै जेथो र कतैबाट आउने बाटो पनि छैन । जातक कर्म, सुतक, शुद्धि, न्वारान र सुत्केरीबाट तँलाई उकास्ने खर्च नभै हँुदैन । त्यसका निम्ति म परदेश गएर भिक्षा मागी खर्च कमाएर लिई आउनेछु । आफ्ना आमा–बाबा र मलाई मात्रै सम्झिई सुर्ताएर रोई न रहेस्” ।
स्वामीका यस्ता कुरा सुनी गोमाले भनिन्— “हे पति ! यो बिराना ठाउँमा, यो अवस्थामा मलाई एक्लै छोडी कहाँ जाने कुरा गर्नु भएको ? म यस्ता जिउकी अबला स्त्री जातिले एक्लै कसरी बसँुली ? के खाउँली ? यस्ता अवस्थामा मेरो हेरचाह कोबाट होला ? अर्कातिर, तपाई बृद्ध अवस्थाका आफ्ना पुरुषलाई एक्लै कसरी जान दिऊँ ? यही छेउ–छाउका यजमानले जे जति दिन्छन् माँगेर संचय गरौला र परि आएका काम टारौला । हे स्वामी ! यस्ता बेलामा कतै जाने मन नगर्नुहोस् ।” गोमाका यी कुरा सुनी शिवशर्माले झन् ढिपी गर्दै भने—“हे प्रिये ! भिक्षाटनमा जानु ता हाम्रो कर्म नै हो । महिना दिन पुग्दा म आई पुँगुँला । त्यो बेलासम्मलाई खान नपुगेमा यसै चन्दज्योति नगरका मेरा यजमानहरु कहाँ गई मेरो नाम गरी भिक्षा मागी खाएस्” भनी बुझाए । गोमाले पनि गाह्रो मान्दै विदा दिँदी भइन् र हवस् न त ! त्यसै गरौला भनिन् ।
तहाँ उप्रान्त गोमालाई एक्लै छोडी भिक्षा माग्न भनी परदेश लागेका शिवशर्मा ब्राम्हाण दुई दिनको बाटो टाढा पुगेपछि गङ्गाका तीरमा कुनै ऋषिका आश्रममा पुगे । त्यहाँ उनले वृद्ध अवस्थाका एक जोडी ब्राम्हाण दम्पती पनि बसेको देखे । पहिले गङ्गास्नान गरी ती ब्राम्हाणदम्पती छेउ आई पूजा गर्नका निम्ति केही फल–फूल मागे । यसरी फल–फूल माग्ने नौला बृद्ध व्यक्तिलाई देखी त्यहाँका बृद्ध ब्राम्हाणले नाम धाम र काम सोधे । तब शिवशर्माले पनि आफ्नो नाम बताउँदै “ म चन्दज्योति नगरमा घर भएको ब्राम्हाण हुँ । घरमा गृहिणी गर्भवती छे । जातकादि, छैटी र नामकरण गर्नलाई धन नहुँदा पत्नीलाई घरमा एक्लै छोडी भिक्षाटनका निम्ति निस्किएको हँु” भने । शिवशर्माका यी करुणपूर्ण कुरा सुनेर आश्रमका वरिपरि भएका फल र फूलहरुतिर देखाउँदै” यो बगैचा र यहाँका फलफूलको हेरचाह गर्ने हामी नै हौ । जे–जस्तो र जति चाहिन्छ टिपेर लै जाऊ, कसैले बाधा गर्ने छैन” भनी बृद्धा ब्राम्हाणीले भनिन् ।
यी कुरा सुनी ढुक्क भएर शिवशर्मा ब्राम्हाण रुखमा चढी फल टिप्न लागे । दैवको लीलाले गर्दा उनी चढेको हाँगो भाँच्चिई भूईमा बजारिँदा शिवशर्माको प्रणान्त भयो र श्री महादेवको रुप लिई कैलाशमा जाँदा भए । श्री महादेव आएको देखी पार्वतीले सुनको कमण्डलुमा जल लिएर बाहिर आई पतिका पाउ धोई दिईन् र भित्र लगी भनिन्— “ हे ईश्वर ! पुरुष जातिको चित्त ज्यादै निष्ठूर हुँदो रहेछ । राम्री स्वास्नी पाए सबै थोक बिर्सदा रहेछन् । हजुरले पनि मलाई बिर्सिनै लाग्नु भएथ्यो तर कसरी सम्झनु भएछ र आज पाउ कष्ट भयो ।
अर्को कुरा, त्रास र छलद्वारा विहे गरी गर्भिणी तुल्याई त्यस्ता बिराना ठाउँमा पु¥याई फ्याँकेर आज एक्लै आउनुभयो । अब त्यो गोमा ब्राम्हाणीको के अवस्था हुने हो?” पार्वती भनेको कुरा सुनी सकेपछि श्री महादेवले हाँसेर भन्नुभयो—“ हे पार्वती ! सुखपछि दुःख, दुःखपछि सुख घुमिरहन्छ । पुर्व जन्मको कमाई अनुसार आफूले गरेका कर्मको भोग गर्नैपर्छ । लोकमा जति मेरा भक्तहरु छन् उनीहरुले आफ्नो पूर्व जन्ममा गरेका शुभ–अशुभ कर्मको भोग गरेका हुन् । दुःख पाएका वा सुख पाएका होईनन् । अब त्यो गोमा पनि सुखी हुन्छे । तिमीले विस्मात् र सन्देह नमान । ”
हे अगस्त्य मुनि ! उता गोमालाई घरमा एक्ली छोडेर भिक्षा माग्न भनी परदेश गएका शिवशर्मा धेरै दिन बितिसक्ता पनि घर नफिरेकाले गोमाले पाउनसम्म दुःख पाईन् र पनि चन्द्रज्योति नगरमा गएर भिक्षा माँगी पुंसवनादि कर्म गरिन् । मास पूर्ण भएपछि सम्पूर्ण राज लक्षण लिएको पुत्ररत्नको जन्म भयो । गोमा ब्राम्हाणीले चन्द्रज्योति नगरबाट वेद पढेका र ज्योतिष शास्त्रमा निपुण भएका सदाचारी ब्राम्हाणहरु डाकी नामाकरण गराईन् । ब्राम्हाणहरुले पनि ज्योतिष शास्त्रको वचन अनुसार धूलौटो कोरेर राम्रो अध्ययन गरी बालकको नाम ‘नवराज’ भनी कान फुकिदिएर गोमासित भने —“हे गोमा ब्राम्हाणी ! यो बालक राजलक्षण सम्पन्न योग लिएर जन्मिएकोले भविष्यमा राजा हुनेछ र तिमीलाई सुख सन्तोष दिनेछ, तिमी राजमाता हुनेछयौ।” ती ब्राम्हाणहरुका आशीवार्द सहितका शुभ वाणी सुनेकी गोमाले मनमा हर्ष मानी गुरु पुरोहितलाई श्रादा भक्तिपूर्वक भोजन र दक्षिणाले सुन्तुष्ट गराईन । उनीहरु पनि प्रसन्न हुँदै आफ्ना घरतर्फ लागे ।
त्यहाँ उप्रान्त गोमाले पनि आफ्नो बालकलाई स्याहार–सुसार गर्दै हुर्काउन लागिन् । अर्काका घरमा गएर ढिकी जाँतो गरील्याएका अन्नपानीले आफ्नो र बालकको रक्षा गर्न पु¥याउँथिन् । त्यो बालक पनि शुक्लपक्षका चन्द्रमा बढे झै दिनानुदिन बढ्दै गयो । साथी भाईसित खेल्न जाँदा पनि कसैसित झगडा नगरी खेलेर आउने र आमाले दिएको खाने कुरामा पनि कलह नगरी सन्तोक गरी खाने उसको बानी थियो ।
आफ्ना पुत्रको त्यस प्रकारको शीलस्वभाव देखी गोमा ब्राम्हाणी अत्यन्त खुशी हुँदै आफ्ना यजमानका घरमा एक दिन गएर भनिन् — “यजमानहरु हो ! मेरो पुत्र उसका साथहिरुसित खेल्न जान्छ र खेलीसकेर बेलैमा घर आउँछ । भोक लागे पनि खान देउ भनेर झगडा गर्दैन अनि रिसाउँदैन पनि । खाने कुराहरु, यो मिठो, यो नमिठो पनि भन्दैन । जसरी भएपनि मलाई सन्तोष छ ”। आफ्ना पुत्रको असल गुण, शी स्वभाव पाई मातृह्रदयले गद्गद् हुँदै गोमाले फेरि —“ मेरा छोराको मुख हेरेर र उसको आनी बानीले गर्दा मैले दुःख बिर्सिएकी छु तापनि हे यममान हो ! मेरा पति अहिले घरमा होईबक्सिन् । मसित सम्पत्ति पनि छैन । तपाईहरुकै कृपाले गर्दा हामी आमा छोराको हेरचाह र रक्षा भइरहेको छ । अब त्यसको चूडाकर्म, उपनयनादि कर्म गरिदिने उमेर भयो । यसका निम्ति पनि तपाईहरुबाट नै दया हुन गए ती कर्महरु सम्पन्न हुने थिए” भनी आफ्नो इच्छा पोखिन् ।
गोमा ब्राम्हाणीका कुरा सुनी यजमानहरु मिलेर श्रद्धा र शक्ति अनुसार जो सकेको सहायता गरे । त्यसपछि गोमाले पनि जो चाहिने आवश्यक सामाग्रीहरु जुटाईन् र धर्मशास्त्र र वेदविद्या जान्ने आचारले पवित्र भएका असल गुरु पुरोहितहरु डाकी नवराजको चुडा र व्रतबन्धनादि कर्म गराई, वेद पुराणादि शास्त्रहरुको अध्ययनमा लगाइन । ज्ञान र गुणले युक्त भएर नवोदित सूर्य झैं देखिने नवराजदेखि सन्तुष्ट भएका यजमानहरुले एकदिन गोमासित भने —“ हे गुरु आमा ! नवराजको विवाह गर्ने हजूरको इच्छा भए वरुणापुरका अग्नि स्वामी नाउँ गरेका ब्राम्हाणीकी अत्यन्त सुन्दरी चन्द्रावती नाउँकी कन्या छिन्, तिनका साथ विवाह गरि दिऊँ ”। यजमानका इच्छा बुझी प्रसन्न भएकी गोमाले भनिन् —“हे दयाले युक्त हृदय भएका यजमान हो ! मेरा पुत्रले केही पनि धनआर्जन गर्न सकेको छैन, घरमा केही सम्पत्ति छँदै छैन तपाईहरुलाई थाहा नै छ । मेरा छोरालाई कन्या कसले कसरी देला ? अनि कसरी विवाह होल ?”
गोमाका कुरा सुनी यजमानहरुले भने —“ हे गुरुआमा ! तपाईका घरमा त्यस्ता सम्पूर्ण लक्षण सम्पन्न पुत्र हुनुहुन्छ, धर्मशास्त्र र वेदका ज्ञाता भएका पुत्रकी माता पनि हुनुहुन्छ, हामी तपाईमा श्रद्धा राख्ने इष्टमित्र पनि वरिपरि छौं अनि तपाईलाई के अपुग छ ? ठूलो सम्पत्ति र इज्जत भनेको असल छोरा–छोरी, शुद्ध मन, आत्मीय र प्रेम दर्शाउने इष्टमित्र हुन् । चाहिने सरजाम के–के चाहिन्छ, हामीहरु जुटाई दिने छौ, तपाईले यसमा पीर मान्नु पर्दैन ” । आफ्ना यजमानका यस्ता चित्त बुझ्दा कुरा सुनेर गोमा हर्षविभोर भई भन्दी भइन् —“ हे यजमान हो ! म धन्य रहीछु , लौ विवाहको निधो गर । तब यजमानहरुले पनि ती अग्निीस्वामी ब्राम्हाणका घर गई केटी माँगी, कुरा छिनी, दिन र लग्न ठहराई फिरेर आई पुगे र गोमालाई सबै विवरण बताए ।
तब गोमाले पनि यजमानहरु र उनका पत्नीहरुका सल्लाह अनुसार विवाहलाई चाहिने सामग्री तयार गरिन् । ठहराइएका शुभ लग्नमा कुल परम्परा अनुसारको शुभ–विवाहमा नवराज र चन्द्रवतीको लग्नग्रन्थी बाँधियो । यसरी चन्द्रवतीलाई विवाह गरी ल्याएपछि गोमा ज्यादै खुशी भईन् । केही दिनपछि एक दिन नवराजका साथी भाइले— हे नवराज ! तिमीलाई हामी गोमाका छोरा हौं भनी जान्दैछौं तर तिम्रा पिताका बारेमा भने केही बुझेका छैनौं, तिमी आमाका मात्र छोरा कसरी भयो ? बाबुको नाम चाहीँ के हो ?”भनी सोधे । आफ्ना साथीहरुको त्यस्तो प्रश्न सुनी उत्तर दिन नसक्ता नवराज सरासर घरमा गई साथीहरुले भनेका कुरा आमालाई सुनाए र सोधे –“हे आमा ! म कसको पुत्र हुँ ? मेरा पिताको नाम के हो ? अहिले कहाँ के गर्दै हुनुहुन्छ ?” छोराको कुरा सुनेर आँखाभरी आँशु पारी —“ हे नवराज ! तेरा पिताको नाम शिव शर्मा हो । तँ गर्भमा नै छँदा भिक्षाटनका निम्ति परदेश जानु भएथ्यो आजसम्म कुनै हाल खबर छैन”। यति भनी गोमाले बर्बर आँसु झारी रुन लागिन् । त्यसपछि धैर्य दिलाउँदै नवराजले आमासित भने — “हे माता ! मलाई आज्ञा होस्, पिताजीको खोजीमा म जानेछु र कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा के गर्दै हुनुहुन्छ सबै कुरा बुझी भरसक वहाँलाई साथमा नै लिएर आउनेछु”। नवराजका यस्ता कुरा सुनी गोमाले भनिन् —“पुत्र ! आजसम्म तेरो मुख हेरेर तेरा पितालाई बिर्सिएकी थिएँ । तैले पनि छोडेर गएपछि म कुन आधारमा बाँचेर रहनु ? तँ गएपछि बुहारी चन्द्रवतीपनि यहाँ बस्न नमान्ली । आफ्ना पितको टुङ्गो ता अवश्य लगाउनु पर्ने हो तर यस बेला जान्छु न भन्” ।
आमाका कुरा सुनी नवराज भन्छन् —“हे माता ! म जो भन्छु, त्यो राम्रो सुन्नुहोस्—पितृको उद्धार गर्नु बराबर पुत्रको अर्को धर्म छैन । पितृ उद्धार जस्तो महिमाले युक्त महान् कर्मलाई पर पारेर केवल आफ्नो सुख भोगकापछि मात्र लाग्ने सन्तानले ता जबसम्म आकाशमण्डलमा चन्द्र, सूर्य हुन्छन्, जबसम्म पृथ्वी रहन्छिन् ,तब सम्म घोर नरकमा बास गर्नुपर्दछ । यदि मलाई माताका गर्भमा नै छोडेर जानुभएको हो र मेरो यो उमेर’ भइसक्ता पनि फर्कनु भएको छैन भने यिनै धरतीमा नै रहनुभएको छ वा देह त्याग गरिसक्नुभयो अवश्य विचार गर्नुपर्छ । देह त्याग गर्नु भएको प्रमाण ठहरे अन्तिम काज क्रिया नगरी हुदैन । संसारभित्र नै जिवित अवस्थामा भेट्न सकें भने निश्चय पनि साथै लिएर आउने छु । यति पनि गरिएन भने जन्मलिएको व्यर्थ हुनेछ । हे माता ! बुहारीले हजुरको सेवा गर्नेछिन्, मलाई विदा बक्सियोस् ।”
छोराको क्ुरा सुनी सकेपछि हर्षका आँसु झार्दै सन्तोष भएर गोमाले भनिन् — “हे पुत्र ! मेरो कोख धन्य रहेछ । शास्त्र प्रमाणका कुरामा आफ्नो दृढनिश्चय आज मैले आफ्ना पुत्रका मुखबाट सुन्न पाएँ । मलाई सन्तोष छ तेरो कल्याण होस् ” भनि नवराजका शिरमा हात राखी आशीष दिईन् र नवराजले पनि माताका चरणकमलमा साष्टांग दण्डवत गरी आफ्नी पत्नीलाई धेरै कुरा अह्राई परदेशमा चाहिने ओढ्ने ओछ्याउने र सातु सामल लिई प्रस्थान गरे ।
घरबाट निस्किएर जाँदा–जाँदै अनेक ठाउँ, गाउँ,शहर,देश–विदेश घुम्दै त्यहाँका कति भद्र भलाद्मीलाई भेटी शिवशर्मा नाउँ गरेका कुनै वृद्ध ब्राम्हाणलाई भेट्यौकि देख्यौ कि भन्दै खोज्दै हिड्न लागे । जाँदा–जाँदा एक दिन नवराज गङ्गाका तीरमा रहेको कुनै एक ऋष्किा आश्रममा पुगे । त्यहाँ तिनले बृद्ध अवस्थामा एक द्विजदम्पत्तिलाई देखी —“तिमीहरु को हौ अनि यो ठाउँमा किन बसेका हौ” भनै सोधे । ती बृद्ध ब्राम्हाणले भने —“हामी ब्राम्हाण दम्पत्ति हौ, बृद्धावस्था भएकाले गङ्गाका काखमा प्राण छोड्न पाए मुक्ति मिल्ला भनी घर–द्धार, धन दौलत त्यागी यहाँ आई बसेका छौ । हे युवक ! तिमी को हौ अनि यस्ता ठाउँमा एक्लै के–का लागि आयौ ?” यस प्रकारको कुरा बृद्ध ब्राम्हाणबाट सुनी नवराजले भने —हे माता–पितातुल्य तपस्वी ! म नवराज नाम गरेको ब्राम्हाण हुँ । म गर्भमा नै हुँदा मेरा पिता भिक्षा माग्न भनी परदेश लाग्नु भएको थियो । वहाँको नाम शिवशर्मा हो, अहिले मेरो उमेर पनि यहाँसम्म पुगिसक्यो तर पिता फिर्नु भएको छैन र वहाँकै खोजीमा घरबाट निस्किएर धेरैतिर घुम्दै, सोध्दै यहाँ आई पुगेको हुँ । कतै तपाईहरुले देख्नु भयोकि भनी यहाँ आउँदैछु । देखेको सुनेको भए कृपा गरी बताई दिनुहोस्् ”।
पितृभक्त युवकका यस्ता कुरा सुनी दयाले युक्त भई बृद्ध ब्राम्हाणले—“हे नवराज ! चन्द्रज्योति नगर निवासी भिक्षाटनमा हिडेका शिवशर्मा नाम गरेका बृद्ध ब्राम्हाणलाई हामीले देखेका थियौ । आफ्नी गर्भिणी स्त्रीलाई घरमा एक्लै छोडी आएको कुरा उनैबाट हामीले सुनेका थियौ । तिम्रो उमेर हेर्दा र यहाँ आएको बखत मिलाउँदा तिम्रै पिता रहेछन् भन्ने हामीलाई पक्का भयो । यहाँ नित्य पूजा गर्ने फल–फूल टिप्न सधैं जंगलमा जाने गर्थे । एक दिन दैवसंयोगले ऊ त्यो परको अल्गो रुखमा फल टिप्न चढेका बेला उनी बसेको हाँगो भाँिच्चियो र भूईमा झरी परलोक भए । त्यहाँ उनका अस्थिसमूहहरु अझै पनि रहेकै होलान् त्यहाँ गएर हेर” भनी देखाईदिए ।
नवराज पनि हतारका साथ त्यहाँ पुगी हेर्दा रुखका फेदमा छरिएका झार पातले आधा छोपिएका पुराना हाडखोड देखी –“ हे पिता ! मेरो जातकादि कर्म गर्न र मेरी मातालाई सुत्केरीबाट उकास्ने मनसायले भिक्षा माग्न आउनु भएकोमा मेरो मुख पनि देख्न नपाई यस्ता बिराना ठाउँमा आई, रुखका हाँगा संगै झरी, हामीलाई छोडी परमधाम हुनु भएछ । यी कुराहरु मैले अब माताका साथ कसरी गरुँला ? अनेक प्रकारका विलाप गरी आमाले रुन लाग्दा के भनी मन बुझाई दिउँला ? ” भनी धेरै शोक गरी भूईमा बसी नवरज रुन कराउन लागे । केही बेरपछि मनमा धैर्य लिई छरिएका हाड बटुली गङ्गाका तटमा लगी दाहासंस्कार गरे ।
त्यसपछि आश्रममा रहने बृद्ध ब्राम्हाणदम्पत्तिका सहाराले आफ्ना मर्यादा अनुसार पिताको दशकर्मक्रियादि पनि गर्दा भए । यति कर्तव्य गरिसकेपछि मनमा अनेक तर्कना लिंदै नवराज छटपटउन लागे । “अब कता जाऊँ कसो गरुँ, घरमा जाऊँ भने खर्च छैन । केही नकमाई जाँदा वहाँ अति दुःख छ । अर्कातिर आमालाई यो शोक समाचार सुनाएपछि आमा रोएको सुन्नु र वहाँको अवस्था देख्नुपर्दा सही नसक्नु होला । यसो हुँदा कुनै उत्तम राजाको सेवा गरी शुद्ध द्रव्यको आर्जन गरी लिएर जान सकें भने धेरै कल्याण होला । ” नवराजले यस्तो विचार गरेर कुनै एक देशका शहरमा गई सदाचारी राजाको सेवा गरी रहँदा भए” ।आगौं कथा अर्को अध्यायमा । इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे नवराजचरित्रं नामं द्वाविशोेअध्याय श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!