• श्री स्वस्थानी ब्रतकथा : द्वादशो अध्याय : श्री स्वस्थानी व्रतोपदेश वर्णन

    January 25, 2020     9:29 pm

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! सतीदेवीले आफ्ना पिताका यज्ञकुण्डमा शरीर त्याग गरे उप्रान्त हिमालयकी पत्नी मेनमामा गर्भमा उई वास गर्नुभयो । हिमालयले पनि आफ्नी पत्नी गर्भवती भएको थाहा पाएर खुशीसाथ आफ्नो परम्परा अनुसार पुंसवनादि उचित कर्म गरिदिए । जब दशौं महिना पूर्ण भयो मेनकाका गर्भबाट कन्यारत्नले जन्म लिइन् । हजार सूर्यको जस्तो तेज भएकी , कोमल र अति सुन्दर पद्यजस्ता नेत्र भएकी , सम्पूर्ण लक्षणले युक्त भएकी अति राम्री कन्या जन्मेकी देखेर अत्यन्त प्रशन्न भएका हिमालयले वषिष्ठ आदि ऋषि र ज्योतिषीहरुलाई डाकी विधिपूर्वक जातकादि कर्म गरेर एघारौं दिन पुगेपछि बडो धुमधामका साथ विधिविधान सहित नामाकरण अर्थात न्वारान गराए । वषिष्ठ , प्रभृत्ति , ऋषि , गुरु पुरोहितहरुले र ज्योतिषीहरुले सिलौटोमा खरीले कोरी लगन ठीक ठहराई कन्याको नाउँ पार्वती राखे अनि “श्री महादेवजीलाई स्वामी पाई चतुर्दश भुवनकी मालिक हुनेछिन् र लोकमा दुर्जनको संहार अनि सज्जनको रक्षा गर्नेछिन् । ” भनी वालिकाको भविष्य बताए ।

    हिमालयले पनि ठूलो हर्ष मानी गुरु ,पुरोहित , ऋषि र ज्योतिषीहरुलाई डाकी चौरासी व्यञ्जन भोजन गराई अनेकौं रत्न तथा सुवर्णआदि दक्षिण दिएर सन्तुष्ट गराए । त्यसपछि हामी पूर्ण रुपमा सन्तुष्ट छौं , कृतार्थ छौं । आज्ञा पाए बिदा हुन्छौं । ” भनी हिमालयराजसँग हात जोडे । योदेखि आनन्दित भएका हिमालयले वषिष्ठ , प्रभृत्ति , ऋषिवृन्द , गुरु , पुरोहित र ज्योतिषीहरुलाई शाष्टाङ्ग प्रणाम गरी बिदा दिए ।

    तहाँ उप्रान्त शुक्लपक्षका चन्द्रमा झैं पार्वती पनि दिनदिनै बढ्दै ठूली हुँदै गइन् । कुनै खेल खेल्दा पनि तिनी शिवजीको पूजा गरी खेल्थिन् । केही चर्चा गर्नुपर्यो भने पनि शिवजीको नै गर्थिन् अनि जोसित पनि शिवको महिमाको नै सोधखोज गर्ने गर्थिन् । पार्वतीजीले यस्ता तरहले चित्तलाई शिवभक्तिमा एकत्व गराएकी थिइन् ।

    एकदिन नारद ऋषि विष्णु भगवानकोमा गई भन्नुभयो :–“ हे वैकुण्ठनाथ ! हिमालय पर्वतकी पुत्री पार्वती नाउँ गरेकी कन्या लक्ष्मीभन्दा पनि अति राम्री बत्तीस लक्षणले युक्त भएकी छिन् , यसकारणले ती कन्या हजूरका निम्ति अति योग्य भएकीले हजूरले विवाह गरिबक्सिए साह्रै सुहाउने थियो । नारदजीका यी कुरा सुनेर विष्णुबाट आज्ञा भयो :– “हे नारदजी ! हिमालयले ती कन्या मलाई देलान् त ?” यो कुरा सुनी नारदजीले भने :–“ हे प्रभु ! त्यो कुराको ठेगान त म वहाँ पुगेर गरिहाल्छु नि , यसमा हजूरलाई केको सुर्ता ? ” यति भनी श्री नारदजी बिदा भई हिमालय राजका दरवारमा गए ।

    नारद ऋषिलाई आएको देखी हिमालयपर्वतले शिष्टाचारपूर्वक् आसनमा बसाए । हिमालयबाट पाद्य , अध्र्य , भेटी अदि पाइसकेपछि नारदजीले भने ः– “ हे पर्वतराज ! आज तपाईंसित केही भन्न आएको छु । कुरा के भने तपाईंकी पुत्री पार्वती अब विवाहयोग्य हुँदै गइन् । त्यसकारण यी कन्या वैकुण्ठका मालिक श्री विष्णुलाई दिनुहोस् ।” नारद ऋषिका यी वचन सुनी प्रशन्न भएका हिमालयले “ हे नारदजी ! भलो कुरा सुनाउनु भयो । तपाईंको इच्छा र आज्ञाले छोरी पार्वती श्री विष्णुलाई दिएँ । विष्णुका पासमा गई यसै भन्नुहोला ” भने । तब नारद ऋषि पनि वैकुण्ठमा गए ।

    तब नारदजीले बैकुण्ठमा पुगी हिमालय पर्वतसँग भएका सबै कुरा श्री विष्णुलाई सुनाए । नारदजीका वचन सुनी सन्तोष भएका श्री विष्णुले भन्नुभयो ः–“हे नारद मुनि ! तिमी धन्य रहेछौ । हिमालयले आफ्नी छोरी मलाई दिने भएछन् । म खुशी छु । अब तिमी आफ्ना आश्रममा जाऊ । ” यस्तो श्री विष्णुको आज्ञा सुनी नारदजी पनि विदा भएर आफ्ना आश्रममा जाँदा भए ।

    हे अगस्त्य मुनि ! उता हिमालयपर्वतले पार्वतीको विवाहका निम्ति सामग्री तयार गराई नारद ऋषिलाई डाकी विष्णुलोक पठाएर दिन र शुभलगनको ठहर गरी आफ्ना कुलगुरु वषिष्ठ , बृहस्पति सहित इन्द्रादि देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग आदि सबैलाई निमन्त्रणा गरे । विष्णु पनि ठहराइएका लगनमा पार्वती कन्यादान लिन भनी हिमालयपर्वतराजका घरमा जानुभयो । आमा मेनकाले छोरी पार्वतीलाई हीरा , मोति , मणि , माणिक्य नाना रत्नहरु र अलङ्कार आदि गहना र सुन्दरसुन्दर वस्त्र पहिर्याई सिँगारीरहनुभयो । यो देखी पार्वतीका सखीहरु जया , विजया , अजिता , अपराजिताले पार्वती गरगहना र वस्त्र आदिले श्रृङ्गारित भएको देखी भन्न लागे ः–“ हे पार्वती ! आज तिम्रो विवाहको शुभलगन छ ।

    तिम्रा बाबाआमाले तिमीदाई श्री विष्णुको हातमा कन्यादान दिनेछन् । ” सखीहरुबाट यो कुरा सुनेपछि पार्वतीले भनिन् ः–“ हे सखी हो ! मैले बालक छँदादेखि नै श्री महादेवजीको मनले सेवा गरेकी छु अनि वहाँलाई नै पति भजेकी छु । यसकारण श्री महादेवजी बाहेक अरु कसैलाई दिएमा म हत्या गरी मर्नेछु । यो कुरा निश्चित छ । ” पार्वतीका यस्ता दृढ वचन सुनी सखीहरुले भने ः– हे गिरिराज पुत्री ! त्यसो हो भने यहाँ नबस । हिड जाऊँ । हामी कसैले नदेख्ने ठाउँमा लुकाई आउछौं ।” आफ्ना सखीहरुले यस्तो सल्लाह दिएपछि पार्वती तिनका साथ लागी घरबाट निक्लिइन् । अनि सखीहरुले पार्वतीलाई कसैले पनि नदेख्ने ठाउँमा कुनै एक नदीको तीरमा लुकाएर आइन् ।

    यता हिमालयपर्वतले भने कुलगुरु बृहस्पतिलाई यज्ञमा आचार्य पदमा राखी विधि गराई कन्यादान दिने समय भएपछि पार्वतीलाई यज्ञस्थलमा ल्याउन नारीवर्गलाई पठाए । कन्या लिन भनी भरभित्र जाँदा त्यहाँ नभएको बुझी धेरैले सबै ठाउँमा खोजी गरे तर कहीँ पनि फेला पार्न नसकी फर्किएर गई यो सबै हिमालयपर्वतलाई बताए । यो कुरा सुनी पर्वतराजले आकुल चित्त गरी गुरु बृहस्पति कहाँ गई “ पार्वती हराइन् । यहाँ कतै छैनन् । अब कसो गरुँ ?” भनी अत्यन्त खेद गर्न लागे । स्थिति बुझेर बृहस्पति ऋषिले “ अब यस लग्नमा बिवाह नहुने भयो ” भनी श्री विष्णु समक्ष सबै हाल विन्ती विसाए । यो सुनी विष्णु प्रभृत्ति सम्पूर्ण देवताहरु फर्की आ–आफ्ना आश्रममा जाँदा भए ।

    उता सखीहरुले पार्वतीलाई लुकाई आएपछि नदीका तीरमा बसी पार्वतीले श्री महादेवजीको तपस्या गर्न लागिन् । तपस्या गर्दागर्दा आत्मामा लीन भएकी पार्वतीले आफूलाई नै विर्सिदिइन् । ठूला सुखबाट खोसेकी भएतापनि तपमा बसेको बखतमा आएको हुरी बतास , चर्को घाम र दर्के झरीबाट आइलागेका कष्टलाई उनले किञ्चित परवाह गरिनन् । उनका घोर तपस्याले स्वर्गका राजा इन्द्रको आसन डगमगायो । धरती लच्कन लाग्यो । यो देखी इन्द्र रिसाई पार्वतीको तपस्या भङ्ग गर्न दुईवटा राक्ष्सहरु पठाए । ती राक्षसहरु गएर पार्वतीलाई अनेकौं डर , धमकी र त्रास देखाई उनको तपस्या भङ्ग गर्न खोजे । त्यसैबेला पार्वतीको आँखा खोले । आफ्नो तपस्या भङ्ग हुने जानी आफ्ना तपोवलद्वारा ती दुबै राक्षसहरुलाई पार्वतीले भष्म पारिदिइन् । त्यसपछि मनलाई परव्रम्हमा लीन गरी श्री महादेवको स्मरण गरी तपस्या गर्न लागिन् ।

    पार्वतीको यो कठोर तपस्याबाट सन्तुष्ट हुनुभएका श्री महादेवजी पार्वतीको परीक्षा लिन बटुक रुप लिई स्वयं त्यहाँ पुग्नुभयो र पावतीसित यी कुरा भन्न थाल्नुभयो :–“ हे शैलपुत्री ! तिमीले शिवजीलाई स्वामी पाउने इच्छा लिई गरेको यो जुन कष्टपूर्ण तपस्या हो यो व्यर्थ जान । किनले तिमीले मनमा लिएको जुन शिवको रुप हो त्यो त्यस्तो छैन । उनी त सिँहको छाला ओढेका , बाघका छाला कम्मरमा बाँधेका , सधैं श्मशान घाटमा बस्ने , सर्पका माला बाजू बाला लगाउने , जिउ भरी खरानी घस्ने , केही कुराको घिन नमानने , मातेर हिँड्ने , दिगम्बर धारण गरेका , विष भाङ्ग धतुरो खाएर भूत प्रेत पिशाचहरु अघिपछि लाएरहिँड्ने खालका पो छन् त ? यसकारण हे गिरिजे ! तिमीले आफ्नो मनको भावना हटाइदेऊ । हेर तिमीजस्ती सुन्दरी यो संसारमा अर्को कोही छैन । यदि तिमीलाई सुख र आनन्दको चाहना छ भने मलाई पतिको रुपमा वरण गर । म तिम्रो इच्छा अनुसारको आनन्द दिलाउनेछु ।”

    ती बटुकका यस्ता कुरा सुनेपछि पार्वतीले क्रोधले लाललाल आँखा गरी बटुकलाई भष्म पार्न तयार भइन्।् । तर ती स्वयं शिव नै भएका हुनाले भष्म गर्न सकिनन् । त्यसपछि उनले त्यहाँबाट हिँड्ने बिचार गरी जब एक पाइलो मात्र सारेकी थिइन् , त्यसै बखतमा श्री महादेवजीले आफ्नो ज्योति स्वरुपको दर्शन दिनुभयो । पार्वतीको हिँड्न भनी सारिएको पाइला पनि त्यहीँ रोकियो । उनले हर्षका आँसुले श्री महादेवजीलाई पूजा गरिन् । त्यत्तिबेला श्री महादेवजीबट आज्ञा भयो ः– “ हे गिरिसुते ! तिमीले मेरो आराधना , भक्ति र तपस्या किन गर्यौ ? ” श्री शिवको प्रश्न सुनी पार्वतीले भनिन् ः–“हे जगदीश्वर ! मैले आफ्नो वाल्यकालदेखि नै हजूरको आराधना , पूजा भक्ति अदि गर्दै आएकी थिएँ र अहिले यो अवस्थामा पुगेपछि पनि हजूरलाई नै स्वामी पाऊँ भनी यो तपस्या गरेकी हुँ । मेरा पिता शैलराज हिमालयले श्री विष्णुलाई कन्यादान दिन लाग्दा भागेर यस ठाउँमा आई लुकिरहेकी छु । मेरो रक्षा गरिबक्सनुहोस् । मदेखि प्रशन्न होइबक्सनुहोस् प्रभु ! ”

    पार्वतीको यस्तो विन्ती सुनी श्री महादेवजीले भन्नुभयो ः–“ हे पार्वती तिम्रा बाबाआमाबाट कन्यादान नपाई मैले तिमीलाई आफ्नी स्त्री भन्दा महापाप लाग्छ । यसकारण आफ्ना बाबाआमालाई राजी गराई मलाई आफ्नो कन्यादान गराऊ । ” यो कुरा सुनी पार्वतीजी फेरि विन्ती गर्छिन् :–“ हे परमेश्वर ! जसो गर्दा काम सप्रन्छ , सोही कुरा ममाथि उपदेश गरिबक्सियोस् । मैले ता मनले वचनले यो शरीर हजूरलाई चढाइसकेकी छु । यसमा फरक पर्न गएमा म हत्या गरी मर्नेछु । ”

    पार्वतीका यस्ता कुरा सुनेपछि श्री महादेवजीबाट आज्ञा भयो :–“ हे पार्वती ! विष्णु आई तिमीलाई जस्तो उपदेश गर्नुहुनेछ तिमीले सोही अनुसार गर्नु ।” यो आज्ञा सुनी पार्वतीजीले श्री महादेवजीलाई शाष्टाङ्ग प्रणाम गर्दी भइन् । श्री महादेवजी पनि त्यसै बखत अन्तध्र्यान हुनुभयो । त्यसपछि पार्वतीजी पनि घर गइन् ।

    हिमालयपर्वतले छोरीलाई आएको देखी “ कहाँ गएकी थिइस् ?” भनी रिसाएर सोधे । आफ्ना पिताको मुखमण्डलतिर हेरी नडराई प्रशन्न मुद्रा लिएर श्री पार्वतीजीले भनिन् :–“ हे पिता ! मैले वाल्यावस्थादेखि नै श्री महादेव स्वामी पाऊँ भनी उनकै चिन्तनमा रहेकी छु । हजूरले श्री विष्णुलाई कन्यादान दिन लागेको थाहा पाई लुक्न गएकी थिएँ ,” आफ्नी पुत्री पार्वतीका यस्ता वचन सुनी हिमालयराजले छोरीको न्वारानका दिन गुरु , पुरोहित र ज्योतिषीहरुले भनेका भविष्यवाणीहरु सम्झेर मन बुझाई चूप लागे ।

    तहाँ उप्रान्त कहिले विष्णुजी आउनु होला भनेर बाटो हेर्दै श्री महादेव स्वामी पाउना निम्ति व्रत, दान , धर्म , जप , तप आदि गरी शिवलिङ्ग बनाई नित्य पूजा गर्न लागिन् । तिनको श्रद्धा , दृढभक्ति , विश्वास र उपासना देखेर प्रशन्न हुनुभएका भगवान श्री विष्णु शंख , चक्र , गदा , पद्य लिई श्री पार्वतीजीका सामु प्रकट हुनुभयो र “ हे पार्वती ! तिमीले भक्तिपूर्वक गरेका नाना तीर्थ , व्रत , जप , तप , दान , यज्ञ आदि देखेर म सन्तोष भएँ । तिमीले आफ्नो इच्छित वर माग” भन्नुभयो । यो सुनी श्री पार्वतीजीले हात जोडी भनिन् ः–“ हे गरुडध्वज ! अरु थोक म केही वर माग्दिन । केवल यही वर माग्छु कि श्री महादेवजी स्वामी पाऊँ ।” पार्वतीको यस्तो इच्छा सुनी श्री विष्णुले आज्ञा गर्नुभयो ः–“ हे पार्वती ! तीर्थ , व्रत , धर्म , दान , जप , तप आदिले पनि प्राप्त गर्न नसकिने सर्वोत्तम व्रत म बताउँछु । जुन गर्नाले आफूले चिताएको पुग्छ । तिमीले विधिपूर्वक यो व्रत गर्यौ भने अवश्यमेव श्री महादेवजी स्वामी पाउली । त्यो महान व्रत हो श्री स्वस्थानी परमेश्वरीको व्रत ! हे गिरिजा पुत्री ! म तिमीलाई यो व्रतको समय , विधि र महिमा पनि वताउँछु । राम्रो चित्त लगाई सुन ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि यो व्रतको आरम्भ गर्नुपर्छ । अघिल्लै दिन हातगोडाका नङ काटी , मन–वचन–कर्मलाई पवित्र राखी , एकभक्त रही नित्य प्राःत कालमा स्नान गरी , नित्य मध्यान्ह कालमा श्री महादेवको पूजा गर्नुपर्छ । महादेवको पूजा गर्दा पवित्र ठाउँबाट ल्याइएको वालुवाको शिवलिङ्ग बनाई पूजा गर्नुपर्छ । उपचार जुटेका षोडषोपचारले नभए पञ्चोपचारले नित्य मध्यान्ह कालमा पूजा गर्नुपर्छ । पौष शुक्ल पूर्णमा देखि माघ शुक्ल पूर्णिमासम्म श्री स्वस्थानी परमेश्वरीको कथा वाचन गर्नुपर्छ । सबैलाई कथा सुनाउनु पर्छ ।

    कथा सुन्ने कोही नभए चरखा , कुचो , उइँटा आदिलाई सुनाउनु पर्छ । प्रसाद लिनुपर्छ अनि प्रसाद बाँड्नुपर्छ । महिना दिन पुगेपछि माघ शुक्ल पूर्णमाका दिन एकशय आठ रोटी , एकशय आठ अक्षता , एकशय आठ वेलीपुष्प , एकशय आठ सूत्र , एकशय आठ कुड्का सुपारी , एकशय आठ जनै , एकशय आठ वाती , एकशय आठ पान , एकशय आठ भेटी , एकशय आठ जातजातका फल र फूल तयार पारी तामाको आर्सीमा ॐ कार लेखी पूर्ण घडामाथि राख्नुपर्छ । त्यसपछि ॐ कारमा श्री स्वस्थानी परमेश्वरीको स्वरुपलाई स्मरण गरेर गङ्गजलले स्नान गराउनु पर्दछ । अनि क्रमशः आवाहनादि उपचारले पूजा गर्नुपर्छ । श्रीखण्ड , रक्तचन्दन , सिन्दूर , वस्त्र आभूषण आदि चढाउनु पर्छ । धूप , वाती र आरती गरेर पुनः अध्र्य दिनुपर्छ ।अनी श्री स्वस्थानी परमात्माको यो ध्यान गर्नुपर्छ ।

    ॐ अष्टासु च दलेष्वेव मातृकाष्ट स्थिता: स्मृता । खड्गं त्रिशूलं चोध्र्वं च वामे च वरमुत्पलम् ।। भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थानी जगदीश्वरी ।। १ ।। हे पार्वती ! श्री स्वस्थानी परमेश्वरी भनेकी अष्टदलमा अष्टमातृका वसेकी , हातमा खड्ग , त्रिशूल , वर र नीलोत्पल लिएकी , चार बाहु र त्रिनेत्रले युक्त भएकी , नाना अलङ्कारले सुशोभित भएकी , सुवर्णभन्दा पनि अधिक पीत वर्णको रुपले शोभा पाएकी यस्ती स्वस्थानी जगदेश्वरी हुन् ।

    यस्ती परमेश्वरीको ध्यान गर्नु र “हे वरदायणी ईश्वरी !” भनी चिताएको वर माग्नु । त्यसपछि चढाइएका प्रसादहरु क्रमैसित झिक्नु र एकशय आठ र एकशय आठबाट आठ रोटी , आठ अक्षता , आठ वेलीपुष्प , आठ सूत्र , आठ कुड्का सुपारी सगुण समेत आफ्ना पुरुषलाई दिनु , पुरुष नभए पुत्रलाई दिनु , पुत्र नभए मीत पुत्रलाई दिनु , त्यो पनि नभए जुन इच्छा लिएर व्रत गरेको हो सो इच्छा पूर्ण होस् भनी शाली नदीमा बहाइदिनु , शाली नदी टाढा भए नजिकैको ठूला नदीमा बहाइदिनु अथवा आफ्ना घरबाट भित्र्याइने नदी , सरोवर र समुन्द्रलाई भेट्ने खोलामा लगी बहाइदिनु । बाँकी शयशयका भाग आफूले प्रसादरुपमा ग्रहण गर्नु । त्यो रातभर जागरण रही कीर्तन , भजन , नृत्य आदि गरी ईश्वरीको महिमा र पुण्य चरित्रत्रहरु आफूले सुन्नु अरुलाई पनि सुनाउनु ।

    हे पार्वती ! श्री स्वस्थानी परमेश्वरीको प्रसाद दिने समयमा श्री महादेवजी तिम्रा पासमा आइपुग्नुहुनेछन् । तिम्रो श्रद्धा र भक्तिदेखि म सन्तोष छु । तिमीले श्री महादेवजी स्वामी पाए । ” भनी श्री विष्णुले वरदान दिनुभयो । पार्वतीबट पूजा पाइसकेपछि भगवान विष्णु गरुडमा सवार भई त्यहाँबाट अन्तध्र्यान हुनुभयो र वैकुण्ठलोक पुग्नुभयो । आगौं कथा अर्को अध्यायमा । इति श्री स्कन्द पुराणे
    केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां श्री स्वस्थानी व्रतोपदेश वर्णन नाम द्वादशोेअध्याय श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।