• श्री स्वस्थानी ब्रतकथा । अष्टमो अध्याय : शतीशवसह श्री महादेवस्य पृथ्वी भ्रमणो वर्णन

    January 17, 2020     8:25 pm

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि
    विष्णु अन्तध्र्यान हुन भई हराएपछि त्यहाँ बाँकी रहेका देवता, यक्ष , गन्धर्व, किन्नर , दैत्य र नागहरु हाहाकार गर्दै “ अब पक्का पनि दक्षप्रजापतिको प्राण जाने भयो । नारायणजस्ताको सुदर्शन चक्र पनि मिथ्या भयो भने अब हाम्रो जित हुन सक्दैन । किनभने जुन चक्रको सामु श्री महादेवजी नै टिक्न कठीन थियो । आज उनै सुदर्शन चक्रका मालिक पनि युद्धभूमिबाट डराई अन्तध्र्यान हुनुभयो भने हाम्रो पराक्रमले ता के चाहिँ गर्न सकिएला र ? अब आ–आफ्नो प्राण बचाउनु बाहेक अरु उपाय छैन ।” भन्दै दशै दिशातिर भाग्दै यी कुराहरु एकआसपासमा भन्न थाले ।

    नारायणसहित देवता यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग , अष्टदिक्पाल समेत आ–आफ्नो प्राण बचाउन भागेको देखी कालको रुपकै भएका वीरभद्रले रिसले यत्ति लामो जिभ्रो काढी , नागले झैं निःश्वास गरी सुस्केरा हाली , वर्षाकालको मेघ गर्जे झैं गर्जी जाई लागेर दक्षको टुप्पी समाती भूइँमा पछारी “हे पापी दक्ष ! तँजस्तो दुष्ट र पापी कोही छैन किनभने तैंले श्री महादेवजीको धेरै निन्दा गरिस् । अनि आफ्नी छोरी पनि मारिस् ‘ सकल देवताहरु मेरा जुवाइँ छन् । त्यो देख्दामा पनि विरुप घिनलाग्दो बौलाहा महादेवलाई नडाके के हुन्छ ?’ भन्दै त्रिभूवनका पतिको निन्दा गरिथिस् । लौ अब यसबेला तेरा जुवाइँहरु कहाँ गए ? आफ्नो रक्षाका निम्ति गुहार माग् । अब तेरो प्राण र तेरा यज्ञको पूर्णहुति विनाशंकरले नै होस् । तँलाई पनि यसै यज्ञमा नहोमिदिए हामीलाई सन्तोष हुनेछैन ।” भनी दक्षप्रजापतिको शिर छुट्याएर यज्ञकुण्डमा होमिदिए ।

    वीरभद्रद्वारा जब यसप्रकार दुष्टलाई दण्ड दिइएथ्यो , यो देखेर महाकाली , चतुर्षष्ठी योगिनी , नन्दी , भृङ्गी , पार्थगण , विषमज्वर , भूत , प्रेत , पिशाच , आदिले एकै स्वरमा “ धन्य धन्य वीरभद्र ! धन्य धन्य शिवशक्ति ! शिवको निन्दा गर्ने जिभ्रो र मुख भएको दुष्टको टाउको जै नाश गरिदिनुभयो । ” भनी जयजयकार गर्दा भए ।

    तहाँ उप्रान्त दक्षपत्नी विरणीले आफ्ना पतिको शिर छुट्याई वीरभद्रले यज्ञकुण्डमा होमेको देखी हुरी बतासले केराको थाम भुइँमा ढले झैं आफू पनि भुइँमा लडी मूर्छा परिन् । धेरैबेरपछि होश आयो र नाना शोक र विलाप गर्न लागिन् । “ हे नाथ ! हे स्वामी ! मलाई यो अवस्थामा पारी अनाथ तुल्याई तपाईं कहाँ जानुभयो ? हामीद्वारा गरिने अश्वमेध यज्ञमा जगदीश्वर श्री महादेवजीको आवाहन नहुँदा यस्तो भएको हो । हे स्वामी ! वहाँले नडाक्नु तपाईंले नजानेकोले अनि अहंकार अज्ञानले छोपिएका मूर्ख बुद्धिले शिवजीको निन्दा गरेकोले तपाईंको आज यो गति भयो । हे स्वामी ! तपाईं प्राण विहीन हुनुभयो । मेरो पनि यो अवस्था भयो । ” भनी नाना तरहका आलापविलाप गरी विरणीले महावीर वीरभद्रका सामु गई विन्ती गरिन् ।

    फेरि विरणीले वीरभद्रलाई विन्ती गर्दै भन्न लागिन् :– “ हे वीरभद्र ! हे ईश्वर ! मेरा पति अत्यन्तै अज्ञानी हुन् । अहङ्कारी पनि हुन् । त्यस्ता अज्ञानी मूर्खलाई नाश गरिदिँदा तपाईंको के बढाईं होला ? हे प्रभु ! मलाई विधुवा नतुल्याउनुस् । मेरा स्वामी दक्षप्रजापतिलाई जीवनदान दिई मेरो उद्धार गर्नुहोस् । हे वीर ! आफैले सृष्टि गर्नुभएकामा आफैले संहार गर्नु योग्य होइन । हे ईश्वर ! तपाईं कस्ता हुनुहुन्छ भने सृष्टि, स्थिति , संहारकर्ता महारुद्र र श्री महादेवजी पनि तपाईं ! आदि , अनादि , व्रम्हा , विष्णु र शिवजी पनि तपाईं नै हुनुहुन्छ । हे भक्तवत्सल ! मेरा पतिबाट भएका सम्पूर्ण अपराधलाई क्षमा गरी बिउँझाइदिनुहोस् । हे शिव ! ममाथि दया होस् ।”

    यस प्रकारले विरणीले गरेको करुण क्रन्दन र आर्त पुकारलाई देवताहरुले सुनी आकाशबाट पुष्पवृष्टि गरे र “ हे वीरभद्र ! दक्षप्रजापतिलाई बिउँझाई ती विरणीको मन सन्तोष गराइदिनुहोस् ।” भनी विन्ती गरे । इन्द्रादि देवताको निवेदन र विरणीले अति शोक गरेको सुन्दा वीरभद्रको छाती करुणाले भरियो । उनले विरणीको मुखपट्टि हेरेर भने ः–“ हे विरणी ! तिम्रो अवस्था देखेर म पनि दुःखी छु । अनि तिम्रो स्तुति सुनेर म प्रशन्न पनि भएँ । अब म तिमीलाई पतिको वर दिन्छु तर दक्षको शिर मैले यज्ञमा हवन गरिसकेकोले यज्ञमा बलिदान दिएको बोकाको टाउको जोडेर बिउँझाइदिन्छु । उसले जगदीश्वरलाई पशु सरह भै निन्दा गरेकोले त्यस्ता मानवपशुलाई पशुकै टाउको जोडिदिनु योग्य छ । ”

    वीरभद्रका यी कुरा सुनेर विरणीले अञ्जली बाँधेर “हवस्” भनिन् र वीरभद्रले बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोडेर दक्षप्रजापतिलाई बिउँझाइदिए । आफ्नो पति बोको शिर भएर बिउँझिएपछि विरणीले सन्तोष मानी बोका टाउको भएको (छाग मुख) पतिसँग भएर महाकाली र वीरभद्रलाई शाष्टाङ्ग दण्डवत् गरी आफ्ना घर आए ।

    हे अगस्त्य मुनि ! तेत्तीसकोटी देवता , यक्ष , गन्धर्व , किन्नर , दानव , दैत्य तथा नागहरुसमेत दक्षप्रजापतिका सेनाहरुको नाश र यज्ञ विध्वंशसमेत गरी भूत , प्रेत , पिशाच , नन्दी , भृङ्गी , प्रमथगण आदि सम्पूर्ण गणहरु साथ लिई महाकाली र वीरभद्र त्यहाँबाट अन्तध्र्यान भई कैलाशपर्वतमा पुगेर श्री महादेवका चरणमा शाष्टाङ्ग दण्डवत प्रणाम गरी विन्ती गर्न लागे ः–“ हे जगदीश्वर ! हजूरबाट आज्ञा पाई दुर्मुख दक्षप्रजापतिको यज्ञ विध्वंश गरी कोटीकोटी देवता , यक्ष , गन्धर्व, किन्नर , दानव , दैत्य र नाग आदि दक्षप्रजापतिका अनेकौं सेनाहरु मारी दक्षको शिर छुट्याई उसैका यज्ञमा होमिदियौं । दक्षपत्नी विरणीले आफ्ना स्वामीको त्यो निष्प्राण शरीरलाई देखेर साह्रै विलाप गर्न लागेको देखी हामीलाई करुणा जाग्यो । स्वभाव अनुसारको अनुहार र बोली अनुसारको मुख सुहाउँदो गराउन बलि दिएको बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोडिदियौं र दक्षलाई जियायौं । ” यी कुराहरु सुनी श्री महादेवजीले सन्तोष भई भन्नुभयो :– “ हे महाकाली ! हे वीरभद्र ! म सन्तोष भएँ । तिमीहरु धन्य हौ ” यत्ति भनी श्री महादेवजीले ती दुबैलाई आफूमा लीन गराउनुभयो ।

    हे अगस्त्य मुनि ! तहाँ उप्रान्त श्री महादेवजीले सतीदेवीलाई सम्झी दक्षप्रजापतिले यज्ञ गरेको ठाउँमा पुगी यज्ञकुण्डभित्र निष्प्राण रहेकी सतीदेवीलाई देखी बलिन्द्र धारा आँसु खसाली “हे प्रिये ! कैलाश शूण्य गराई , मलाई छाडी , तिमी कहाँ गयौ ?” भनी यस्ता प्रकारका नाना थरीका बिलाप गरी हावाले रुख ढले झैं भूइँमा ढली मूर्छा पर्नुभयो । केहीछिनपछि होशमा आउनुभयो र फेरि अनेकौं विलाप गर्न लाग्नुभयो । “ हे प्राण प्यारी ! हे सतीदेवी ! अब म एक्लो भएर बाँच्नु व्यर्थ छ । मलाई एकैछिन पनि नछोडी मेरै मुखतिर हेरी मैले सुनाएका कथा , पुराण र तिनका महिमाहरुमा भुलिरहन्थ्यौ । अबदेखि त्यस्ता कथा र महिमा मैले कसलाई सुनाउनु ? र कसले सुनिदेला ?

    हे सतीदेवी ! यो यज्ञ तिम्रै बाबाको हो । यो भूमि तिम्रै जन्मथलो हो । यो घर तिम्रै माइतीघर हो । तापनि बिहे गरेर घर पठाएकी छोरीले नडाकेसम्म मन जिती माइत जानु ठीक होइन । हे प्रिये ! यसरी तिम्रो अवश्य अपमान हुनेछ भन्ने ठानेर मैले नजाऊ भनेकै थिएँ । मैले भनेका वचन मानिनौ र तिम्रो यो अवस्था भयो । हे प्रिये ! अब मैले तिम्रो सधैं हसिँलो बोली कहाँ देख्न र सुन्न पाउँला ?” भन्दै मुड्कीले छात्ती ठोकी मोतीका दाना झैं आँसुका ढिक्का बहाई फेरि विलौना गर्न लाग्नुभयो “हे प्यारी ! मलाई मनपर्ने खानेकुरा विष , भाङ्ग , धतुरो र गाँजा आदि मेरा स्वामीले खाने कुरा भनी हितभावले राम्रो जगेर्ना गरी राखिदिन्थ्यौ । अब त्यसरी कसले राखिदेला ? म कतै बाहिरतिर गएर आइपुग्नासाथ हत्तपत्त कमण्डलुमा जल लिएर हातपाउ धोइदिन बाहिर निस्कन्थ्यौ , भरेदेखि कसले त्यसो गरिदेला ? हे प्रिये ! म एक्लो भएँ । तिमीविना कसरी मेरो चित्त थामिएला ?” इत्यादि वेदना व्यथा पोख्ने कहिले सतीदेवीको मृत देहलाई अङ्कमाल गर्ने , कहिले हातमा र गालामा म्वाइ खाने , कहिले छातीमा हात राख्ने , कहिले केश सुम्सुम्यउने , कहिले सतीदेवीको हात आफ्नो छातीमा राख्ने आदि अरु नाना तरहका शोक विलाप गर्न लाग्नुभयो ।

    त्यसपछि सतीदेवीको प्राणरहित शरीरलाई पीठमा बोकी हा सती ! हा सती ! भनी बेहोस् जस्तो भएर पृथ्वीमा जहाँतहाँ भ्रमण गर्न लाग्नुभयो । श्री महादेवका पीठमा लिइएके हुँदा सतीदेवीको शरीर गल्नु र दुर्गन्ध आउनु केही पनि भएन । केवल निन्द्रामा नै रहेजस्ती भएर सतीदेवीको शरीर रह्यो । आगौं कथा अर्को अध्यायमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।