• श्री स्वस्थानी ब्रतकथा । षष्ठो अध्याय : सतीदेवी यज्ञाग्नी प्रवेश वर्णन

    January 15, 2020     8:55 pm

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि ! एकदिन दक्षप्रजापतिले आफ्नी स्त्री विरणीसित भने :– “ हे विरणी ! अश्वमेध यज्ञ गर्ने हाम्रो जुन इच्छा छ त्यसका निम्ति अब सामग्री जुटाउने उपाय गर । महादेव र सती बाहेक त्यस यज्ञमा अरु छोरी र ज्वाईंहरु व्रम्हा विष्णु र इन्द्र , ऋषि , यक्ष ,गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु समेतलाई निमन्त्रणा गर्न पठाउने काम पनि गर । ” आफ्ना पतिको यस्तो इच्छा र आफूलाई दिएको आज्ञा अनुसार दक्षपत्नी विरणीले यज्ञमा चाहिने सम्पूर्ण सामग्री जुटाइन् । अनि बोलाउनुपर्ने जतिलाई पतिको आज्ञा अनुसार निमन्त्रणा पठाइन् ।

    दक्षप्रजापतिका तेत्तीस कोटी छोरी र तेत्तीस कोटी ज्वाईंहरु नाना वस्त्रालंकार र गहना लगाई यज्ञमा हवण गर्नका निम्ति मणि माणिक्यादि नानाथरीका द्रव्य र कोशेलीहरु लिई आउन थाले । जस्तै नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी , भूत , प्रेत , पिशाच , पार्थ आदि गणले शोभायमान भएको शिवजीको सभामा जसरी शिवजीले शोभा पाउनुहुन्छ त्यसै गरी तेत्तीस कोटी छोरी र तेत्तीसकोटी ज्वाईं व्रम्हा , विष्णु , इन्द्र , ऋषि , यक्ष ,गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु समेत एकत्र भई मणिमाणिक्य रत्न नानाथरीका वस्त्र गरगहना पहिरिएर अनेक प्रकारका नाच , गीत , वाद्य गरी मङ्गलको पूर्ण कलशले सहितको दक्षप्रजापतिका यज्ञमा अवर्णनीय शोभा हुन गयो ।

    यसप्रकारको यज्ञको आनन्ददायी समयमा को को आए ? को को आएनन् ? भनेर नारद मुनि एताउती हेर्दै हिँड्न थाले । त्यहाँ उनले तेत्तीसकोटी देवता सहित व्रम्हा , विष्णु , इन्द्र , ऋषि , यक्ष , गन्धर्व , किन्नर , नाग , अप्सरा र दशदिक्पालहरु सबैलाई देखे तर श्री महादेव र सतीदेवीलाई भने देखेनन् । “ कुनै पनि यज्ञ श्री महादेवजीको हाव्हानविना पूर्ण हुँदैन भने दक्षप्रजापतिको यज्ञ कसरी पूर्ण होला ? निमन्त्रणा गर्नु भुल्नुभयो वा पठाएको निमन्त्रणा पुगेन बिचार गर्नुपर्यो” भनी त्यहाँबाट अन्तध्र्यान भएका नारद मुनि तत्काल कैलाशका निम्ति प्रस्थान गर्दा भए ।

    वहाँ श्री महादेवजी र सतीदेवी जुवा खेल्न लाग्नु भएको थियो । महादेवजीले सतीदेवीलाई भन्नुभयो । “ हे प्रिये ! आज हामी जुवा खेलौं । पासा ल्याऊ । ” सतीदेवीले पनि “हवस” भन्नुभयो । अनि पासा ल्याई शिव र सती जुवा खेल्न लाग्नुभयो । निकैवेर खेलेपछि सतीदेवीको जित भयो र सतिदेवीले श्री महादेवजीलाई गिज्याउन थाल्नुभयो । श्री महादेवजीलाई रिस उठ्यो र दाउमा झोली थाप्नुभयो । सतीदेवीले पासा हानेर त्यो पनि जित्नुभयो । झन् रिसाएका श्री महादेव प्रभुले त्रिशूल र डमरु थाप्नुभयो । त्यसमा पनि सतीदेवी कै जित भयो । त्यसपछि श्री महादेवले नागरुपी गहना दाउमा थाप्नु भयो तर त्यो पनि वहाँले हार्नुभयो । ठीक त्यसैबेलामा दक्षप्रजापतिका निम्तारु देवताहरु आ–फ्ना विमान चढी मीठामीठा वार्तालाप गर्दै आकाशमा उडिरहेका थिए । तिनीहरुलाई देखेर सतीदेवीले श्री महादेवजीसित सोध्न लाग्नुभयो :–“ हे भुवनेश्वर ! ती विमानमा जानेहरु को हुन् ? आज्ञा हवस् ।” यस्ता सतीदेवीको कुरा सुनी “तिमीलाई के चासो पर्यो ? आफ्नो चाहिँदो धन्दा गर ।” भनी महादेवजीबाट आज्ञा भयो ।

    केहिछिनपछि महादेवजीले अलिअलि हाँस्दै आफ्नो मुकुट जुवामा थाप्नुभयो । उतिनै बेला पासा हानेर जितेर सतीदेवीले भन्नुभयो :–“ हे स्वामी ! हजूरका सबैथोक मैले जितिसकेँ लौ अब के थापिबक्सन्छ ?” यो सुनी “लौ त आफ्नो अङ्ग नै जुवाको खालमा थाप्छु” भन्नुभएपछि सतीदेवीले भन्नुभयो :–“ हे नाथ ! अघिपछि जहिले भएपनि हजूरको अङ्ग मेरै हो । मैले के जितिरहनु पर्ला र ? क्यै गरी मैले हारेँ भने त हजूरका अङ्गका सट्टामा कुन कुरा टक्र्याउँला ? यो सम्पूर्ण विश्व व्रम्हाण्डमा हजूरका अङ्गको सट्टामा दिने कुनैपनि बस्तु छैन । जुवामा हजुरको अङ्ग जितीजिती मैले आफ्नो बनाइरहने कामै छैन ।

    त्यो शुभ लग्नका समयमा मेरा बाबा महतारीले तिल–कुश–जल सहितको मेरो हात हजूरको हातमा राखी कन्यादान दिएकै दिन हजूरको र मेरो अङ्ग एकआपसमा आफ्नै भइसकेको छ । हजूरको अङ्ग मेरै हो । मेरो अङ्ग हजूरकै हो । सतीदेवीका यी घतलाग्दा कुरा सुनेर श्री महादेवजीले प्रशन्न भएर हे सती ! तिमी धन्य रहिछौ भनी जुवा खेलिसकेर मीठामीठा वात मार्दै कैलाशपुरीमा रहनुभएको थियो । त्यसै बखतमा देवर्षि नारदजी पनि टुप्लुक्क आइपुगे र श्री महादेवजी र सतीदेवीका चरणमा शाष्टाङ्ग दण्डवत गरी अञ्जली बाँधी खडा भए ।

    श्री महादेवजी कस्ता थिए भने जटाको मुकुट गराई , बाघको छालालाई कम्मरमा पटुका झैं बाँधी , हात्तीको छाला ओढी , शरीरमा खरानी घसी , सर्पहरुलाई माला बाजू र बाला बनाई , नरमुण्डको माला लगाई , चन्द्रको मुकुट झलमल्ल गरी , शिरमा गङ्गा र सतीदेवीलाई काखमा लिई , कोटीकोटी सूर्यको जस्तो तेजले युक्त रही , भूत–प्रेत–नन्दी–भृङ्गी आदि द्वारमा राखी , आफू अग्ला आशनमा विराजमान हुनभएका श्री महादेवजी प्रभुलाई देख्नु भएका नारद मुनिले मनमा ठूलो आनन्द मानी बारम्बार प्रणाम गर्नुभयो ।

    आफ्नो स्वरुप हृदयमा राखेर हृदयमा भक्ति पुर्याउन सक्ने नारदजीको आफूमाथि भएको ठूलो भक्ति र प्रेम देखेर प्रशन्न हुनुभएका श्री महादेवजीबाट आज्ञा भयो :–“ हे विणापाणि नारद ! तिमीदेखि म प्रशन्न भएँ , आफ्ना मनोकामना अनुसारको वर माग । ” यस्तो सुनेर हर्षले गद्गद् भएका श्री नार।दजी केही बोल्न नसकी खडा भइरहे । यो देखेर “ के कारणले आयौ नारद ? ” भनी श्री महादेवले सुध्याउनुभयो । त्यसपछि श्री नादजीले दुबै कर जोडी विन्ती गरे :–“ हे प्रभु ! मेरो चित्त हजूरका ध्यानमा सदासर्वदा लागिरहोस् । यही एकमात्र वर माग्छु । हे परव्रम्ह ! अब म यहाँ आउनाका कारणको निवेदन गर्दछु ।

    हे प्रभु ! दक्षप्रजापतिका घरमा हुन लागेको अश्वमेध यज्ञमा स्वर्ग , मत्र्य र पाताल तीनै लोकका देवता, ऋषि , नाग , अष्टवसु , दशदिक्पाल , व्रम्हा , विष्णुसहित सबै स्त्रीपुरुषहरु आएका छन् । त्यो यज्ञशालामा गई प्रदक्षिणा गरी हेर्दा जगतका मातापिता तपाईंहरु दुबैलाई मैले देखिन । अरु सबै देवताहरु आ–आफ्ना अङ्गसहित भएर खानपिन गरी आनन्द मनाइरहेका छन् । यज्ञका मूख्य स्वामी तपाईंलाई किन निम्तो भएन ? यस कुरामा मेरा मनमा ठूलो विष्मय उठेकोले यो कुरा विन्ती विसाउन आएको हुँ । हे शंकर ! हे सती ! तपाईंहरुलाई त्यहाँ नडाकेको अर्थ मैले केही नबुझेकोले यो विन्ती विसाएको छु ।”

    नारदका कुरा सुनी सतीदेवीले आफ्नो ठूलो अपमान ठानी त्रैलोक्यनाथ श्री महादवजीसित दुःख पोख्न लाग्नुभयो । “ हे प्रभु ! हे जगदीश्वर ! मेरा बाबा दक्षप्रजापतिले व्रम्हा , विष्णुसहित तेत्तीसकोटी देवता ऋषि , यक्ष , गन्धर्व , किन्नर , नाग , अप्सरा , दैत्य , अष्टवसुआदि र मेरी बहिनीहरु र तिनका पतिहरु सहित दशदिक्पालहरु सबैलाई डाक्दा हामी दुईलाई मात्र किन डाकेनन् ? ” यस्तो विन्ती गर्दै सतीदेवीले आँखाबाट भलकभलक आँसु खसाउन थाल्नुभयो । यस्ता रीतले गरेको सतीदेवीको विलाप सुनी श्री महादेवजीले सम्झाउन लाग्नुभयो :–“ हे प्रिये ! मनमा कत्ति पनि पीर नलेऊ । किनभने तिमी नरुचाएकी छोरी र म मननपरेको ज्वाईं । डाकेनन् त अब कसो गरुँ ? यस कुरामा तिमीले आफ्नो अपमान भएको नठान । जान देऊ यस्ता कुरा ! तिम्रो म छँदैछु । कुनै संदेह नगर । त्यसको यज्ञमा गएर हामीले के पाउनु छ र ? ”

    श्री महादेवजीले यसरी सम्झाउँदा पनि सतीदेवीले नमानी धेरै नै ढिपी गरी पतिका पाउमा परी विन्ती गर्न लाग्नुभयो “ हे स्वामी ! आज्ञा पाए नारदका साथ लागी गएर यज्ञशाला एकपटक हेरेर मात्र भएपनि फर्की आउने थिएँ । ” यो सुनी श्री महादेवजीले फेरि सम्झाउन थाल्नुभयो “ हे प्रिये ! किन यत्ति साह्रो हत्ते र हठ गरेकी ? तिमी आफ्नो विशेष मानमा रहेकी छ्यौ । वहाँ गएपछि तिम्रो अपमान होला । मन दुख्ला । जाने काम नगर ।” यसरी सम्झाउँदा पनि नमानी नारदजीका साथ लागी सतीदेवी जानुभयो ।

    अनि दक्षप्रजापतिका यज्ञमा पुग्नुभयो र आफ्ना बाबामहतारीलाई ढोगी यज्ञका चारैतिर आँखा पुर्याउनुभयो । त्यो यज्ञको चहलपहल र सबै आफन्तहरुका चालामाला देखी मनमा धेरै औडाहा लिएर सतीदेवीले आँखाबाट आँसु झार्दै भन्नुभयो :–“ हे बाबाआमा ! तपाईंहरुको यत्रो ठूलो यज्ञमा किन हामीलाई खबर दिनु भएन ? म चाहीँ तपाईंहरुकी छोरी होइन कि कसो ? मेरो विराम के थियो ? मेरा पतिले के विराम गर्नुभयो ? व्रम्हा , विष्णु र इन्द्र आदि तेत्तीसकोटी देवता ऋषि , यक्ष , गन्धर्व, किन्नर , नाग , अप्सरा , दैत्य , अष्टवसुआदि र मेरी बहिनीहरु र तिनका पतिहरु सहित दशदिक्पालहरु सबैलाई डाक्दा हामी दुईजनालाई मात्र किन डाक्नुभएन ? ”

    सतीदेवीले फेरि दक्षप्रजापतिसँग भन्नुभयो :–“फेरि यत्रो ठूलो यज्ञका मूल स्वामी श्री महादेवजी नभएको यज्ञको पूर्णाहूति कसरी होला ? यज्ञका फलदाता नै श्री महादेवजी होइबक्सन्छ । सम्पूर्ण देवताहरुका नायक पनि वहाँ नै अनि सृष्टि , स्थिति र संहाकर्ता पनि वहाँ नै होइबक्सन्छ । हे पिता ! श्री महादेवजीको आवाहन नभैकन गरेको यज्ञबाट कुनै धर्म हुँदैन । यज्ञकर्ता मालिकविनाको यस्तो अशुद्ध यज्ञ किन गर्नुभयो ? यसबाट तपाईंको भलो हुनेछैन । यसकारण श्री महारुद्र प्रभुलाई झट्टै डाक्ने काम होस् । अनिमात्र यज्ञ सफल होला । फल मिल्ला । हे पिता ! शंकर नभै कुनैपनि यज्ञ पूर्ण हुँदैनन् । यस व्रम्हाण्डका दुईवटा शंकर छन् र ? तपाईंले कुनै एउटालाई मात्र बोलाएको हो की ? म ता एकमात्र शंकर हुनुहुन्छ भन्ने ठान्दछु । जो अहिले कैलाशमा नै हुनुहुन्छ ।”

    सतीदेवीका मुखबाट यस्ता वचन सुनी दक्षप्रजापतिले भने :–“ हे छोरी ! तेरो पति महादेव यो यज्ञमा राख्न योग्यको नभएकोले मैले डाकिन । यस कुरामा तँ दुःख नमान् । हे पुत्री ! तँबाट कुनै अपराध भएको छैन । विवाह हुनुअघि तैंले हाम्रो धेरै हेरचाह गरेर हामीलाई खुशी तुल्याएकी थिइस् । तापनि तेरा स्वामीका कारणले तँलाई डाक्न नपठाएको हुँ । सृष्टि गर्ने , स्थिति गर्ने अनि संहार गर्ने र यज्ञको समस्त फल दिने पनि श्री महादेव हुन् भन्ने जुन तेरो भनाइ हो त्यो ठीक कुरा होइन । महादेव ता वौलाहा हो । सृष्टिकर्ता व्रम्हा र स्थिति र संहारकर्ता नारायण हुन् । यज्ञका फलदाता पनि नारायण हुन् । त्यो महादेव देवता होइन । त्यसलाई नडाकेर मेरो यज्ञ कसरी अशुद्ध होला ? यसकारण तेरा स्वामीलाई म कसैगरी भएपनि डाक्ने छैन । व्रम्हा , विष्णुजस्तादेखि लिएर सम्पूर्ण तेत्तीसकोटी देवताहरु यहाँ आएका छन् भने मेरो यज्ञ कसरी निष्फल हुन्छ ? त्यो महादेव आएर के वर देला ?”

    यस्ता प्रकारले आफ्ना पिता दक्षप्रजापतिका मुखबाट जगदीश्वर आफ्ना स्वामी श्री महादेवजीको सहन नसकिने , भन्न नहुने , सुन्न नहुने क्षुद्र वचन र निन्दा गरेको सुनी सतीदेवीले घोरअपमान सहन गर्न नसकी लाललाल नेत्र पारी सर्पले फणा लिए झैं सुस्केरा हाली , दाह्रा किटी , रिसले उठेर भूइँमा लात्ताले हानी यज्ञतिर हेरी छत्तीमा मुड्कीले हानी “ हे शिव ! हे शिव !! हे शिव !!! ” भन्दै श्री महादेवजीको नाउँ लिई यज्ञकुण्डमा फाल हाली प्राण त्याग्नुभयो र पर्वतराज हिमालयकी पत्नी मेनकाका गर्भमा गएर वास गर्नुभयो । आगौं कथा अर्को अध्यायमा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।