• श्री स्वस्थानी ब्रतकथा । पञ्चम अध्याय : त्रिपुरदाह वर्णन

    January 14, 2020     9:30 pm

    कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि अब म त्रिपुरासुरले गरेको तपस्या र महादेवले त्यसलाई भष्म गराउनुभएको जो रहस्यमय र पुण्यमय अद्भूत कथा छ सो सुनाउँदैछु । अघि विष्णुले वराह अवतार धारण गरेर जब हिरण्याक्षको वध गर्नुभयो , त्यो देखेर सम्पूर्ण दानवहरुको शक्ति क्षीण भयो । ती दुःखी भएर खेद गर्न थाले । त्यसैबेला मय नाम गरेको दैत्य अफसोच गर्दै बिचार गर्न लाग्यो ।

    कामदेव नहुँदा रतिको जुन अवस्था भएथ्यो त्यस्तै शक्ति क्षीण भएको मयले घोर तपस्या गरेर व्रम्हालाई प्रशन्न गराई कहिल्यै नमर्ने अमरत्व वर माग्ने इच्छाले तारकासुर र विद्युतप्रभ नामका आफ्ना दुई साथीहरु सहित भएर हिमालयमा गए । त्यहाँ तीन दैत्यहरुले पुष माघका जाडामा अत्यन्तै पातला कौपिन मात्र लगाएर तपस्या गर्दथे । बैशाख जेष्ठमा मरुभूमिमा गएर पञ्चाग्नी तापेर तपस्या गर्दथे । अनि साउन भदौमा खुला नाघीमा पानीको झरनामा रहेर तपस्या गर्दथे । यसरी तपस्या गर्दागर्दा दशहजार वर्ष विते । तिनका शरीरको हड्डी र छाला बाहेक अरु केही रहेनन् । तिनीहरुको यस्तो कठिन तपस्याबाट सन्तुष्ट भएका व्रम्हाजीले दर्शन दिई आज्ञा भयो :– हे दानव वीर हो ! तिमीहरुका तपस्याबाट म प्रशन्न भएँ । के वरदान चाहियो माग । ” व्रम्हाजीबाट यो आज्ञा भएको सुनी ती दैत्यहरुले बडो हर्ष मान्दै साष्टाङ्ग दण्डवत गरी दुबै हात जोडी विन्ति गरे :– “ हे कमलासन ! हे पितामह ! हामी अमरत्व चाहन्छौं । हाम्रो वल पराक्रम ठूलो होस् । हामीबाट अब बनाइने तीनवटा शहरहरु आकाशमा विमानजस्तो एउटै भएर रहनेछन् र त्यसमा देवता र मनुष्य पुग्न नसकुन् ।

    हामी ठूला वलवान र पराक्रमी हुन पाऊँ । यिनै वर हामीमा प्रदान होउन् । ” मयादि दैत्यहरुले यस्तो वरदान मागेको सुनी व्रम्हाजी आज्ञा गर्नुहुन्छ “ हे दानव हो ! अवध्य वरदान ता म दिन सक्दिन । मृत्यु नहोस् भन्ने वरदानलाई छोडेर अब जे मागे पनि दिनेछु फरक पर्दैन । ” व्रम्हाजीका यस्ता वचन सुनी मय दानव भन्दछन् ः– “ हे प्रभो ! मबाट आकाशमा बसाइने तीनवटा पुर एकै ठाउँमा रहने छैनन् । ती अलगअलग रहनेछन् । जब दशहजार वर्ष पुग्छ तब ती तीनवटै पुरको मिलन आधा निमेषका निम्ति मात्र हुनेछन् । ठीक त्यसै बखतमा एकै वाणद्वारा ती तीनै पुरलाई जसले नाश गर्ला त्यही वीरद्वारा मात्र मेरो मृत्यु होस् ।” मय दानवको यस्तो निवेदन सुनी “तथास्तु” भनी हाँसमाथि सवार हुनुभएका व्रम्हाजी आफ्ना लोकतर्फ जानुभयो ।

    हे अगस्त्य मुनि ! त्यस मय दानवले पनि जगतको नाश गर्ने मनसुवा लिएर आकाशमा तीन पुरको रचना गर्दो भयो । तीनपुरमध्ये एउटा फलामको , दोस्रो चाँदीको र तेस्रो चाँही सुनको बनायो । आकाशमा रहेका ती तीनपुर सुमेरु पर्वतका तीनवटा सिँग झैं देखिन्थे । नानाथरीका आँखीझ्याल भएका अग्लाअग्ला महलका अटालीहरु ठाउँठाउँमा सुनका पाताहरुले मोडिएका राम्राराम्रा ढोकाहरु बनाइए । ठाउँठाउँमा मोती , प्रवाल , मणिमाणिक्य आदि राखिए । अनेकौं रत्नहरुमा विजुलीको जस्तै प्रकाश चारैतिर फैलिएको थियो ।

    महलका झ्याल ढोकाहरुमा चित्र–विचित्रका हीरामोतीहरु जडिएको हुँदा त्यसमा चन्द्रमाको किरणको प्रतिबिम्बले झन् झल्झलाकार देखिन्थ्यो । नाना रङ्गिविरङ्गीका ध्वजा पताकाहरुमा लागेका मन्दमन्द वायुले फर्फराउँदा अति शोभा पाउँथ्यो । विभिन्न कारिगरीको कृति झल्किने पङ्क्तिबद्ध महलहरु पनि रत्नैरत्नले जडिएका थिए । बाटा गल्ली र सडकहरुमा पनि उत्कृष्ट कलाकारिताको सीप झल्किएको थियो । विमानको जस्तो रुप भएको तीनवटा मिलेर एउटै देखिने त्यो पुर हजारौं बगैंचामा ६ वटा ऋतुमा ऋतु अनुसारका विभिन्न फूलहरु ढकमक्क फुलेका र फलहरु फलेका समान देखिन्थे ।

    धेरै तलाउहरुमा पनि अनेकौं प्रकारका कमलका फूलहरुले शोभा दिएको थियो । यस्ता तरहले ती त्रिपुरका दैत्यहरुका घर, बाटा , सडक , बगैंचा , तलाउ , आदि बने । त्यहाँका बगैंचामा मयूर , कोइली , चखेवा आदि पञ्छीहरुले शोभा बढाएका थिए । कलशजस्ता कुचमण्डल भएका , वारुणि मदिराका मदले रक्तवर्णका नेत्र भएका , ठूला आँखा , वारुले कम्मर र कोइलीको जस्तो बोली भएका , सधैं लज्जाले अलिअलि लोलाएर हाँस्ने , यस्ता सुन्दरी स्त्रीहरुले युक्त भएको त्यो पुरी इन्द्रपुरी झैं मनोरम देखिन्थ्यो ।

    हे मुनि ! ती तीनवटा पुर मध्ये मय दानवले फलामको पुर तारकाक्षालाई दियो । चाँदीको पुर विद्युतप्रभलाई दियो र सुवर्णको पुर राजा मयले आफूलाई भनेर लियो । यसरी ती त्रिपुरका मालिकहरु आ–आफ्ना मन्त्रीगण , व्राम्हणवर्ग र नोकरचाकरले सहित आ–आफ्ना स्त्रीहरुले शोभायमान भै आफ्ना शत्रु र तिनका सेनालाई जिती सुखपूर्वक तीनै लोकको आनन्द पाएर रहन लागे । सबै थोकमा परिपूर्ण भएर घमण्ड र अहंकारले उन्मत्त भएका ती दैत्यहरुले देवताहरुलाई जितेर उनीहरुका बगैंचामा रुख बोटविरुवाहरु उखेल्न लगाएर आ–आफ्नामा ल्याए । त्यो बाहेक देवलोकमा भएका अप्सराहरु र अरु सुखका साधनहरु पनि लुटेर , चोरेर ल्याउन थाले । यसरी देवताहरुलाई अनेकौं दुःख र कष्ट दिँदादिँदा धेरै समय व्यतित भयो ।

    त्रिपुरवासी दैत्यहरुका अत्याचारले पीडित भएका इन्द्रादि देवताहरु अत्यन्तै दुःखीत भई व्रम्हाजीका शरणमा गई आफूमाथि आइपरेका सम्पूर्ण दुःख र कष्टको विस्तार गर्दा भए । त्रिपुरवासी दैत्यहरुबाट भएको उपद्रवलाई बुझी देवताहरुलाई शान्त गराई व्रम्हाजी विरिञ्चिबाट आज्ञा भयो ः–“हे सुरवृन्द ! त्रिपुरासुर दैत्यहरु बडा बलिया छन् । हामीबाट तिनीहरुको नाश हुन सक्दैन । केवल श्री महादेवबाट मात्र ती दैत्यहरुको नाश हुन सक्छ । त्यसकारण अब हामीहरु श्री महादेवका शरणमा जाऔं । वहाँ नै हामी सबैका गति हुनुहुन्छ ।”

    हे मुनि ! यसरी व्रम्हाजीको आज्ञा पाई सूर्य , इन्द्र , वायु आदि देवता व्रम्हाजीका साथ लागी कैलाशमा पुगे । वहाँ श्री महादेवलाई देखी व्रम्हासहित सबै देवताहरुले स्तुती गर्नलागे ः– “हे त्रिलोकेश ! हे पिनाकधारी ! हे चन्द्रहशेखर ! हे मृत्युञ्जय ! हजूरलाई कोटीकोटी नमस्कार छ । चन्द्रज्योतिले प्रकाशमान भएका हे धुर्जाटि ! हे नीललोहित ! हे गङ्गाधर ! हे पिनाकपाणी ! हे पशुपति ! हजूरलाई कोटीकोटी नमस्कार छ । तीखो धार भएको बञ्चरो र त्रिशूल लिने नन्दीलाई वरदान दिने , जगतका आधार , देवताका पनि देवता हजूरमा कोटी कोटी प्रणाम छ । सधैं प्रशन्न रहने , यज्ञका नीधि , हिमालवासी कैलाशपति श्री महादेव प्रभुमा कोटीकोटी प्रणाम छ । परात्पर , परव्रम्ह , परमेश्वर , इन्द्रादि देवताहरुको पनि सृष्टि ,पालन र संहार गर्ने यस्ता परमात्मा प्रमथाधिपति हजूरलाई कोटीकोटी प्रणाम छ ।

    विरक्तिजनका हृदयमा र धर्ममा वास गर्ने , दिगम्बर धारण गर्ने भक्तहरुका प्रिय , जगतका धाता–विधाता , सम्पूर्ण भोगलाई तुच्छ मान्ने , यस्ता शितिकण्ठ हजूरलाई कोटीकोटी प्रणाम छ । दक्ष यज्ञ नाश गर्ने , पूषाको दाँत भाँच्ने ,रतिपतिलाई भष्म गराउने , हे पिनाकी ! हे गिरिश ! हे नीलकण्ठ ! हजूरलाई कोटीकोटी नमस्कार छ । श्मशान घरमा बसेर , भूतप्रेत प्रमथगणले युक्त रहने , अज्ञानको नाश गर्ने , मोक्ष दिने , हे विश्वेश्वर , हे त्रयम्बक् , हे कपर्दी ! हे शर्व ! हे रुद्र ! हे हर ! हे शम्भो ! हजूरलाई कोटीकोटी नमस्कार छ । हामीदेखी प्रशन्न भइबक्सियोस् प्रभू ! हजूरमा हाम्रो कोटीकोटी प्रणाम छ ।

    हे अगस्त्य मुनि ! व्रम्हासहित भएर देवताहरुले गरेका यस्ता स्तुतिद्वारा प्रशन्न हुनुभएका श्री महादेवजीबाट आज्ञा भयो ः–“व्रम्हाका साथ रहेका हे देवता हो ! म तिमीहरुदेखी प्रशन्न भएँ , लोकमा मबाट नदिइने कुनै वर छैन । तिमीहरुको जो इच्छा छ सो वर माग । ” महादेवबाट आज्ञा भएको सुनी प्रशन्नताले गद्गद् भएका देवताहरु विन्ती गर्छन् ः– “हे परमेश्वर ! परमेष्ठी व्रम्हाजीका वरदानले मदमत्त हुन गएका मयादि गरिएका दैत्यहरुले हाम्रा वन र उद्यानमा भएका उत्तमउत्तम फूल बोटविरुवा आदि लुटेर लगी हाम्रो अमरावतीको सुन्दरतालाई नष्ट गराउनुका साथै हाम्रा मेनका , रम्भा , उर्वशी आदि अप्सराहरुलाई समेत लुटी लगिदिए । हामी सबै देवताहरुलाई पनि नाश गर्ने ध्येयले बडो दुःख दिइरहेका छन् । हे ईशान ! ती दैत्यहरुको नाश गर्न स्वयं श्रष्टाको पनि सामथ्र्य भएन । विष्णु भगवानबाट पनि सम्भव भएन । यसकारण हाम्रो कल्याण जसो गर्दा हुन्छ त्यही नै वरदान हामीलाई प्राप्त होस् । हे ईश्वर ! ।”

    यसरी अनेकौं विन्तीभाउ गरिएका देवताहरुप्रति श्री महादेवजीबाट आज्ञा भयो ः–“हे देवगण ! मेरो एघार अंश धारण गरेर रुद्र तेजोमय रुप भई तपाईंहरुले ती दैत्यहरुको नाश गर्नुहोस् । महादेवबाट आज्ञा पाएका देवताले पुनः विन्ती गरे ः– “हे वृषभध्वज ! हजूरको तेजको हजार अंशको एक अंशको पनि हामी धारण गर्न समर्थ छैनौं । महेश्वरको तेजलाई धारण गर्नु ता के कुरा ? हेर्नसम्मन पनि हामी सक्दैनौं । हे व्योमकेश ! हामीबाट ती दैत्यहरुको कदापी हार हुँदैन । हे भगवन् ! हजूरबाट नै त्रिपुरासुरको बध होस् । हे भूतेस् ! तिनीहरुलाई व्रम्हाजीबाट वरदान मिलेको छ कि त्यो पुर बनिएको दशहजार वर्षपछि ती तीनै पुरको सम्मेलन आधा निमेषसम्मको निम्ति हुनेछ । जुन वीरले त्यसै समयभित्रमा नै एकै वाणले ती तीनपुर भष्म गराउला तब तिनीहरुको मृत्यु होला । यसबाहेक अरु कुनै विकल्पबाट तिनीहरुको मरण हुन सक्दैन प्र्रभु । ” हे विभो ! यस्तो वरदान पाएका दैत्यहरुको नाश गर्न हाम्रो कुनै उपाय र सामथ्र्य छैन । हे रुद्र ! हामीसँग प्रशन्न भई त्रिपुरासुरलाई नाश गरिबक्सियोस् ।” भनी बारम्बार प्रणाम गर्दा भए ।

    हे अगस्त्य मुनि ! यसरी स्तुति गरेर खिन्न चित्त लिएका देवताहरुमाथि दया राखी श्री महादेवबाट आज्ञा भयो ः– “ हे देवता हो ! त्यो त्रिपुर त्यत्ति दुर्भेद्य र सुरक्षित छ भने म एकै वाणले भष्म गरिदिउँला । ती तीनैपुर भष्म गराउनका निम्ति दानवादिले रक्षित मयसँग लड्दा मेरो बल थाम्न सक्ने एउटा रथ ठीक पार्नुहोस् जो हिमालय पर्वतसमान हुनुपर्छ ।” महादेवको यस्तो आज्ञा सुनी सम्पूर्ण देवताहरु ः– हओस् भनी श्री महादेवजीलाई प्रणाम गरी आनन्दमा परी आ–आफ्ना स्थानमा जाँदा भए ।

    त्यहाँ उप्रान्त देवताहरुको सल्लाह अनुसार श्री महादेवजीका निम्ति विश्वकर्माले एउटा सुवर्णमय रथ बनाए । दुई चक्काले युक्त सो रथमा दक्षिण दिशाको चक्का सूर्यलाई बनाइयो र उत्तर दिशाको चक्का चन्द्रलाई बनाइयो । सूर्यपट्टिका चक्कामा द्वादश सूर्य र चन्द्रपट्टिका चक्कामा सत्ताइस नक्षत्र अवयव भए । तीन ऋतु एकापट्टिका चक्कामा र तीन ऋतु अर्कापट्टिक चक्कामा राखिए । अकाशलाई रथको गजूर बनाइयो । मण्डराचल पर्वतलाई चक्का अड्याउने धूर बनाइयो । अष्टाचल र उदयाचल पर्वत घरका दुइपट्टिका चुकुल भए । रथको वेगका निम्ति अयन र सम्बत्सरलाई बनाइयो । चार समुन्द्र रथका कुण्डली भए ।

    गङ्गा आदि नदीहरु वस्त्र र आभूषणले सजिएर स्त्रीरुप भई रथमा चँवर लिएर रहे । रथ हाँक्ने काम व्रमहाले लिए । व्रम्ह स्वरुप ॐकार कोर्रा भए । छाताको रुपमा विन्ध्याचल पर्वतलाई लिइयो । त्यसको पाश्र्वभाग मन्दराजल भए । सुमेरुपर्वतको धनु र शेषनागको ताँडो बनाइयो । रथको घण्टा सरस्वती भइन् । भगवान विष्णु अग्नीवाणको अग्रभागमा रहे । चारवेद रथका चार घोडा भए । तारागण जति ती घोडाका गहना बनिए । यो व्रम्हाण्डभित्र जति पनि चीजहरु छन् ती सबै त्यो रथका अवयव हुन गए ।

    हे अगस्त्य मुनि ! यसरी तयार भएको त्यो रथमा शशिशेखर शिव आई दशै दिशा कम्पायमान गराउँदै आरोहण हुनुभयो । श्री महादेवजीका पार्शदहरु अघिअघि लागे । को को भने शंकुकर्ण , गणेश , कुमार , चण्डेश्वर , गणेश्वर , नन्दी , भृङ्गी , रिटी , तुण्डी , भूत , प्रेत , पिशाच , योगाक्ष आदि आ–आफ्ना अश्त्र साथमा लिई शंख , भेरी , मृदङ्ग आदि बजाउँदै श्री महादेवमाथि रङ्गीविरङ्गी फूल , अविर र लावा वर्षाउन लागे । त्यस बखतमा सर्वेश्वर श्री महादेवका तेजको भार सहन गर्नमा असमर्थ भएका देवताहरु मोहमा प्राप्त भएको अवस्थालाई देखी श्री शिवजीले आफ्नो अतुलनीय तेजलाई खिँचेर केही कम गरेपछि देवताहरुमा रुद्र तेजलाई सहन सक्ने केही सामथ्र्य आयो ।

    यसप्रकार देवताहरुबाट भएको यो महान योजना थाहा पाएका नारदमुनिले दैत्यहरु कहाँ गएर भन्न लागे ः–“ त्रिपुराधिपति दैत्यहरु हो ! देवताहरुका स्तुतीबाट प्रशन्न हुनुभएका श्री महादेवजी तिमीहरुलाई मार्न आउँदैहुनुहुन्छ , आफ्नो रक्षाको उपाय गरेनौ भने तिमीहरुको नाश हुनेछ ।” नारदजीका यी कुरा सुनी आफ्ना साथी विद्युतमाली र तारकाक्ष आदि दानवहरुका छेउमा बोलाई नारदमुनिका मुखबाट भनेका कुराहरु मय दानवले सुनायो । यो सुनी तारकले भन्यो ः–“ हे दैत्यराज ! वास्तवमा देवताहरु मर्ने र हामीहरु नमर्ने छौं । यो त्रिपुर अभेद्य छ । शत्रु परास्त गर्न साम , दाम , दण्ड , भेद आदि अनेक नीतिहरु छन् । आइलाग्ने बलिया शत्रुहरुलाई आफूले पराक्रम गरी दण्ड दिनु उचित छ । हे राजन चिन्ता नलिइबक्सियोस् ।” तारकको यस्तो बचन सुनी विद्युतमाली बोल्यो ः– “ हे महाराज ! हामी धेरै बलिया छौं । ती देवताहरुले हामीसित युद्ध गर्न सक्दैनन् । हामीमाथि युद्ध गरी आउने मूर्खको नाश निश्चित छ । यसमा कुनै शङ्का छैन भने हे राजन ! हजूरबाट चिन्ता लिने कामै छैन । हामी सबै वीरतापूर्वक लड्ने छौं । देवताहरुलाई जितेरै छोड्ने छौं र हजूरले इन्द्रपद समेतको भोग गर्न पाइबक्सनेछ ।

    त्यसपछि अघि हिरण्याक्ष र हिरण्यकशिपुले पाएका पदको समेत उपभोग गरी चौध भूवनकै स्वामी होइबक्सेला ।” विद्युतमालीका कुरा सुनी बारबार शिर कम्प गरी मयले भन्यो “ दानव वीर हो । जसै गरे पनि जसो भने पनि अब हाम्रो नाश हुने दिन आयो । हेर ! कुनैपनि शत्रु बली वा निर्बली जस्तो होस् त्यहाँ साम , दाम , दण्ड , भेदको नीति अपनाउनु पर्छ । कुरा ठीक हो तर हामीलाई समेत सृष्टि गर्ने सम्पूर्ण जगतका ईश्वर स्वयम् महादेव नै आज हामीलाई मार्न आउँदैछन् भने अब हाम्रो उपाय छैन । मूढेबल र मूख्र्याइँले मात्रकेही हुने छैन । हामीले त अब उनै महादेवको शरणमा परेर दण्डवत गर्न बाहेक अरु उपाय म देख्न छोडेँ । हामी युद्ध गर्ने ध्येयले मूर्खताबश रणभूमिमा पुग्नासाथ श्री महादेवजीका दृष्टिपातले नै अवश्य भष्म हुनेछौं ।

    यसमा सन्देह नै छैन । व्रम्हादि देवताहरु पनि आफूलाई दुःख आइपर्दा जसका शरणमा पुग्छन् , जसले एकै पलामा सम्पूर्ण जगतको सृष्टि गर्न सक्छन् , संहार गर्न सक्छन् , जो भुक्तिदाता र मुक्तिदाता र जगतका कारण रुप छन् तिनै श्री महादेवसित बराबर छु भनेर युद्ध गर्ने भन्ने सोच्नै नहुने कुरा हो । विधिहीन हाम्रो तपस्याले केही हुँदैन । जसका प्रभावले हामीले आजसम्म भोग गर्यौं , यसैमा सन्तोष गरौं । हे दानववीर हो ! मैले भनेका यी कुराहरुको बिचार नगरी अझै पनि युद्ध गर्नमा उत्सुक हुन्छौ भने तिमीहरु सबै कालले प्रेरित भएका मात्र हौ । ”

    तारकाक्ष र विद्युतमाली आदि दानवहरुलाई दानवराज मयले यति भनेको कुरा सुनी नारदले सम्पूर्ण दैत्यहरुका संहारका कारण भई भने ः–“ हे महाराज मय ! अब तिम्रो तपस्या सकिँदै गयो । भोग ऐश्वर्य टुप्पामा पुग्यो , यो निश्चय भएछ । तर सङ्ग्राममा अघि नसरी नपुंसकता देखाउँदै शत्रुका शरणमा जानुभन्दा सङ्ग्राममा मरेर मोक्ष हुनु उत्तम ठहरिन्छ । यो हुन लागेको महायुद्धमा यदि महादेवका हातबाट मर्न पायौ भने उनकै प्रमथगणका अधिपति हुन पुग्नेछौं । शरणमा पनि गयौ र हार पनि स्वीकार्यौ भने पनि देवताहरुका भलाइका निम्ति श्री महादेवजीले तिमीहरुलाई मार्नु नै हुनेछ । लडाइँमा जित्न सक्यौ भने तीनै लोकको सुख भोग्नेछौ । मर्यौ भने मोक्ष हातैमा छ । यस्ता ठूला पदको स्वाम्री भएर पनि कायरता किन ? हे राजन ! राम्रो सोच । ”

    नारदजीले भनेका वचन सुनी तारकाक्ष र विद्युतमाली दैत्यहरु पनि आयुष्यहीन भैसकेकाले मोहमा परेर “ हे भगवान ! नारदजीले भन्नुभएका कुरा साह्रै उत्तम हुन् । ” भनी मयपट्टि फर्केर भन्न लागे । ती दुईका वचन सुनी मय दानवले पनि आफ्नो विनासको बेला भएछ भन्ने बुझी नारदजीका हित वचन हाम्रा श्रेयस्कर छन् ।” भन्यो । त्यसपछि नारदजी प्रशन्न भई सकल दैत्यगणहरुलाई युद्ध गर्नमा उन्मुख गराई कैलाश जाँदा भए । युद्धको लालशा गरेर ती दैत्यहरु पनि नानाप्रकारका शश्त्राश्त्रहरुले सुसज्जित बनी युद्धका निम्ति तयार भए ।

    तारकाक्ष , विद्युतमाली आदि वीरवीर दत्ैयहरु युद्धको निश्चय गरी अनेक किसिमका बाजा बजाउँदै मय राजाका अगाडि आई सिँहनाद गर्न लागे । दानवहरुको सैन्य समूह दानवहरुमा भयदायी देखियो । ती आपसमा भन्न लागे “ ऊ रथ आयो ! ध्वजा पनि देखिन थाल्यो ।” यस्तो भन्दै अभय र शीललाई त्यागी कुमतीले घेरेका ती दैत्यहरुले युद्धको निश्चय गरे । कालले निल्न आँटेका ती दैत्यहरु अग्नीका ज्वालामा जसरी पुतली आदि कीराहरु पर्न जान्छन् ,त्यसैगरी शिवजीको रथ कहिले आइपुग्छ भनी हेर्न लागे ।

    हे अगस्त्य मुनि ! उता नन्दिश्वर आदि गणहरुले पनि पश्चिम सागरका शिरो भागमा रहेका अनेकौं ध्वजा पताकादिले भएको सुमेरु पर्वत झैं त्रिपुरलाई देखी सिँहनाद गर्न थाले । देदीप्यमान कुठार लिएका चण्डेश्वर , ठूलो मुख बाएका प्रचण्ड , प्रमथादि गणका अघिअघि त्रिशूल हातमा लिएर शिवतुल्य पराक्रम गर्दै अघि आए । शङ्कुनायक पनि मुसल हातमा लिएर उनका पाश्र्व भागमा उभिए । आ–आफ्ना आमुध वज्र , त्रिशूल , गदा , परिध आदि लिई नन्दी , भृङ्गी , वीरभद्र आदि अनेक गण पनि युद्धका निम्ति अगाडि आए ।

    यता दैत्य गणहरु पनि श्री महादेवजीको रथ आएको देखी युद्ध थर्नलाई अनेक प्रकारका दिव्य आयुधहरु लिई शिवगणहरुसँग क्रोधका साथ युद्ध गर्न लागे । त्यस बखतमा महादेवको त्रिपुर भष्म भएजस्तै देखी हाँस्य गर्दै सिँह गर्जे झैं गर्जी युद्ध गर्न लाग्नुभयो । नन्दीले महाकाली दैत्यगणहरुसँग युद्ध सुरु गरे । भृङ्गीले विद्युतप्रभ माथी दश वाण छोडी भेदन गर्दा उसले पनि राताराता आँखा पारी शिलाले ठोक्यो तर भृङ्गीलाई केही भएन । त्यसपछि भृङ्गी र रिटीले विद्युतप्रभका ढाडपट्टि प्रहार गरे अनि उसले पनि पूर्ण हुँकार गर्दै भृङ्गी र रिटीलाई प्रहार गर्यो ।

    त्यो प्रहारको वेदना सहन नसकी ती दुबै त्यहाँबाट हटे । जब विद्युतप्रभले तिनीहरुलाई जित्यो त्यसपछि गणनायक गणेशका काँधमा एकहजार वाण छोड्यो र वेध गराई अरु दश वाण पनि छोडी उनका मर्ममर्म ठाउँमा घाउ पारी वेदना गरायो । आफूलाई मर्माहत गराएको देखी रिसले आकूल भएका गणेशजीले पनि आफ्नो सुँढ विद्युतप्रभका गर्दनमा पसारी बेरेर मत्ताहात्तीले कमलको फूललाई सुँढमा बेरेर तलाउबाट उखेलेर फ्याले झैं त्यो दैत्यको शिर पनि चुँडाएर फ्याँकिदिनुभयो । दैत्यका शरीरबाट चुँडिएका शिरको शोभा , सरोवरबाट उखेलिएको र हात्तीका दाँतमा अड्किएको कमलको फूलको जस्तै भयो । त्यो देखेर भृङ्गीले नाना तरहका गानाहरु गाए । यसरी हर्ष मनाएको देखी नेमी र बल नाम गरेका दुई दानववीरहरुलाई झन् रिस उठ्यो र गणेशजीका मर्मस्थानहरुमा वाणले हानी घाउ गराउन लागे । शङ्कुकर्ण अघि सरेर ती दैत्यहरुलाई बीचैमा रोकी तिनका रथ , घोडा , सारथी , ध्वजा आदि काटी रथहीन बनाइदिए । फेरि अर्को रथमा चढी आई ती दुई दानवहरुले चण्डेश्वर , गणेशजीका मर्ममर्ममा अर्कोपल्ट पनि हजारौं वाणहरु हानेर घाउ नै घाउ बनाइदिए ।

    क्रोधले चूर भएका गणेशजीले पनि लाललाल आँखा पारी डरलाग्दो मुसलले हिर्काई दुबैलाई मारिदिनुभयो । त्यहाँ उप्रान्त त्रिपुरवासी मुख्यमुख्य दैत्यहरु अति क्रुद्ध भएर बराबरका समूहमा आएर नाना प्रकारका चक्र , बज्र , त्रिशूल , भाल , मुङ्ग्र आदि लिई महादेवका गणहरुमाथि प्रहार गर्न लागे । शिवजीको आज्ञा पाएका शिवगणहरु पनि उन्मत्त सिँहले वनका मृगादि अरु पशुहरुलाई जसरी हिर्काउँछन् त्यसैगरी दैत्य दानवहरुका सैन्य समूहहरुलाई हिर्काउँदै छिन्नभिन्न भएको बादल र वज्रका चोटले चकनाचूर भएका पर्वतहरुमा टुप्पा झैं दौडधूप र भागाभागले दैत्यहरु पश्चिम समुन्द्रमा गएर पर्न लागे ।

    नेमी र बलनाम गरेका दैत्यहरुलाई शङ्कुकर्ण गणनायकले मारे भन्ने कुरा जब दैत्यहरुले सुने तब अति क्रोधित भएर तारक दैत्य आफ्ना पुरबाट निस्किएर गणनायकहरुमाथि झम्टिएर अनेकौं वाण बृष्टि गरायो । गणनायक शङ्कुकर्णले पनि त्यस महावली दैत्य तारकका शिरमा वज्र प्रहार गरी सिँहनाद गरे । चोट खाई रिसले आगो भएको तारक दैत्यले पनि लडेका ठाउँबाट उठी शङ्कुकर्णमाथि चक्रको प्रहार गर्यो । गणेश्वर शङ्कुकर्णले पनि वेदना खप्न नसक्ने खालको मुड्कीले दैत्यलाई हाने । कठोर मुड्की खाएको दैत्य मूर्छा भई भूइँमा गिर्यो र हातमा भएको आयुधलाई त्यागी पीडा सहन नसकी सदाका निम्ति बिदा भयो ।

    यस्ता प्रकारसँग मृत्यु भएको देखी हतारहतार अरु दानवहरुले उठाएर मय दानवका भवनमा पुर्याई सबै हाल बताई अनेक तरहसित आलापविलाप गर्न लागे । ती रुँदै गरेका दानवहरुलाई दैत्यराजले भन्यो “ हे दानवादि हो ! मेरा घरभित्र अमृतकुण्ड छ । त्यसमा मरेका दैत्य दानवहरुलाई लगी चोबेर बचाऊ । ” मयको यो आज्ञा सुनी प्रशन्न हुँदै अमृतकुण्डमा लगी डुबाई तारकासुरलाई बचाए । साथै अरु मरेका सबै दैत्यहरुलाई पनि बचाए र मय दानवलाई सबैले शिर निहुर्याई प्रणाम गरे ।

    केही समयपछि अमृतमा चोबेर बाँचेको त्यो तारकाक्ष बडो तेजका साथ फेरि रणभूमिमा आई ललकार्यो । यो देखी बाँया हातले श्री व्रम्हाजीले त्यसलाई देखाई श्री महादेवजीसित भन्नुभयो । स्मर हर ! हे महादेव ! त्यो दैत्य अघि यही रणभूमिमा मरेको थियो अहिले बाँचेर आएको छ । हे देवदेव ! मयका घरभित्र अमृतकुण्ड भएकोले उसले मरेका दैत्य दानवहरुलाई बचाउँछ । जति मरेपनि अमृत रहेसम्म बारबार बचाउनेछन् । यसकारण वाण प्रहार गरेर त्यो अमृत शोषण नगरेसम्म यी मर्ने छैनन् । व्रम्हाजीबाट यो कुरा बुझेपछि श्री महादेवजीले वाण प्रहारद्वारा अमृत शोषण गर्नुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।