बढे सङ्ग्रहालय अवलोकनकर्ता

पोखरा असोज ०२ । कुनै महिना एक जना पनि मूलद्वारबाट नछिरेको तथ्याङ्क छ, प्रदेश सङ्ग्रहालय पोखरासँग । कोरोना सङ्क्रमणकै कारण यो सङ्गहालयले त्यस्तो नियति भोग्नुपरेको हो । प्रदेश सङ्ग्रहालयले पछिल्ला महिनामा स्वदेशी तथा विदेशी अवलोकन कर्ताको चाप बढ्न थालेपछि सङ्ग्रहालयमा कार्यरत कर्मचारीको मुहारमा उज्यालो भरिन थालेको छ ।

अघिल्लो आवको श्रावण र भाद्र महिनामा एक हजार पाँच सय अवलोकन कर्ता प्रवेश गरेको उक्त सङ्ग्रहालयमा यसै आवको श्रावण र भाद्र महिनामा त्यो सङ्ख्या बढेर दुई हजार छ सय पुगेको तथ्याङ्क सङ्ग्रहालयका सूचना अधिकारी कविन्द्र पौडेलले दिनुभयो । कोरोना सङ्क्रमणकै कारण सरकारले घोषणा गरेको लकडाउनमा कुनै महिना एक अवलोकन कर्ता पनि नछिरेको तथ्याङ्क सङ्ग्रहालयसँग छ ।

गत श्रावण र भाद्रमा सङ्ग्रहालय अवलोकनमा सबैभन्दा बढी विद्यार्थीको सङ्ख्या रहेको छ । यी दुई महिनामा नेपाली विद्यार्थी एक हजार तीन सय ९८, विद्यार्थीबाहेक नेपाली अवलोकन कर्ता आठ सय ३३, निःशुल्क प्रवेश दुई सय १०, सार्क मुलुकबाट एक सय ६० र अन्य विदेशी राष्ट्रबाट १२ जना संग्रहालय अवलोकनका लागि प्रवेश गरेको जानकारी सूचना अधिकारी पौडेलले दिनुभयो ।

सङ्ग्रहालयमा गण्डकी प्रदेशमा बसोबास गर्ने जातजातिलाई समेटेर चार सय प्रकारका सामग्री राखिएको जानकारी सङ्ग्रहालयकी प्रमुख करुणा राईले दिनुभयो । उहाँका अनुसार पछिल्ला दिनमा नेपाली अवलोकन कर्ता बढ्दै गएका छन् । सङ्ग्रहालय अवलोकनका लागि नेपाली विद्यार्थीसँग १० रुपैयाँ, नेपाली नागरिकसँग रु २५, सार्क मुलुकका अवलोकन कर्तासँग ५० र अन्य विदेशी राष्ट्रका नागरिकसँग एक सय लिने गरिएको छ ।

पोखराको मुटु नयाँ बजारमा छ प्रदेश सङ्ग्रहालय तर प्रचारप्रसारको अभावकै कारण ओझेलमा परेको छ । गण्डकी प्रदेशमा रहेका जातजातिको दैनिक जीवनमा हुने गतिविधि, भेषभूषा, पोशाकका साथै जन्मदेखि मृत्युसम्मका संस्कारको प्रतिकृति समेट्ने गरी विसं २०४१ मा क्षेत्रीय सङ्ग्रहालयको रुपमा स्थापना गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले देशका पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय सङ्ग्रहालय स्थापना गर्ने योजना अनुरुप पोखरामा पनि यस क्षेत्रमा बसोबास गर्ने जातजातिलाई समेटने गरी क्षेत्रीय सङ्ग्रहालय स्थापना गरिएको जानकारी कार्यालयका लेखा सहायक शोभाखर ढकालले दिनुभयो ।

२३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालयमा यति बेला रु दुई करोडभन्दा बढी लागतमा प्रशासनिक भवन र मुलद्वार निर्माण गरिएको जानकारी कार्यालय प्रमुख राईले दिनुभयो । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रदेश सङ्ग्रहालयको प्रचारप्रसारमा ध्यान दिन जरुरी भएको स्थानीय पूर्ण भुजेल बताउनुहुन्छ । सन् १९९४ मा मुस्ताङको खिङ्गा र गाराबजोङमा उत्खनन् गरी भेटिएका जस्ता, माटो, हड्डी र काठका दैनिक जीवनमा प्रयोग आउने सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरेर राखिएको जानकारी सूचना अधिकारी पौडेलले दिनुभयो । मुस्ताङमा उत्खनन गरिएका ती सामग्री पाँच सय वर्ष पुराना हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

गण्डकी प्रदेशमा बसोबास गर्ने ब्राह्मण, मगर, गुरुङ, थकाली, थारु, परियार, विक, चन्त्याल, दरै, गन्धर्वलगायत जातजाजातिलाई समेटेर सङ्ग्रहालय स्थापना गरिएको हो । साथै यस क्षेत्रबाट चोरी भई समातिएका धातु तथा ढुङ्गाका मूर्तिहरु सङ्ग्रहालयमा सङ्ग्रहित छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button