पोखरामा घन्किए ‘सरोज गोपाल’का गीत

पोखरा १ असोज । पोखरा उद्योग वाणिज्य संघको हलमा खचाखच भरिएका दर्शकको उपस्थितिमा ‘सरोज गोपाल स्मृति साँझ २०७९’ सम्पन्न भएको छ। कार्यक्रम गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष समेत रहेका गायक बज्राचार्यको सम्झनामा पोखरेली युवा सांस्कृतिक परिवारले यो भव्य कार्यक्रमको आयोजना गरेको हो । वि।सं। २००९ साल मंसिर २ गते पोखरामा जन्मिएका संगीतकार तथा रचनाकार समेत रहेका बज्राचार्यको २०७१ साल साउन २९ गते निधन भएको थियो ।सो कार्यक्रममा बज्राचार्यद्धारा स्वरबद्ध गीतहरुलाई विभिन्न गायक गायिकाले आफ्नो आवाजमा सुनाए ।

उनीहरुको प्रस्तुतीलाई लाइभ संगीतको प्रयोगले थप आर्कषक बनाउन सघायो ।यसरी गीत सुनाउने गायक गायिकामा बाबा राणा, तारा थापा, कविता आलेमगर, रामभक्त जोजिजू, इतु जोजिजू, विनोद बानियाँ, विनित जोजिजू, फिरोजगोपाल बज्राचार्य, आनन्दराज बज्राचार्य लगायत थिए ।

उनीहरुले करोडौं मुटुहरु ढुकढुकी एउटै नेपाल, जोवन साँचेको मैले, गाइले पराल खायो बरिलै, बिर्सीजाने निष्ठुरीलाई, के माया लाउँथि र हो, मायालुको मोहनी बोली, खुट्टामा निल परे पर्ला, देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले, पूर्खाका साना दुःखले होइन आर्जेको माटो यो लगायतका गीत सुँदाउदै स्व। बज्राचार्यको स्मरण गरे । उनीहरुले बज्राचार्यसँग बिताएका केही पलहरुको स्मरण समेत गरें ।

झरिको कुनै प्रवाह नगरी संगीतप्रेमी उद्योग वाणिज्य संघको हलमा पुगेका थिए । कलाकारको प्रस्तुतीमा उनीहरुले खुलेरै सर्पोट गरें ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त तथा साहित्यकार प्रकाश सायमीले कार्यक्रममा बोल्दै नेपाली गीत संगितको क्षेत्रमा गायक बज्राचार्यको महत्वपूर्ण योगदानको बारेमा स्मरण गरे ।यसैगरी गायिका बाबा राणाले स्व। बज्राचार्यको स्मृतिमा हरेक वर्ष कार्यक्रम आयोजना गर्न पोखरेली युवा साँस्कृतिक परिवारलाई आग्रह गरिन् ।

गायक विनोद वानियाले स्व। बज्राचार्यका गीतहरु रि–रेकर्ड गरेर नयाँ श्रोता माझ पस्कनुपर्ने बताए । गायिका तारा थापाले बज्राचार्यले रचना गरेको गीतबाट करियर सुरु गरेको मात्र नभएर रेडियो नेपालमा दुवै जनाको प्रवेश एकैदिनमा भएको सुनाइन् ।

सोही कार्यक्रममा लेखक रबीन्द्र माकाजूद्धारा लिखित ‘सरोजगोपाल’ पुस्तकको पनि विमोचन गरिएको थियो । पुस्तकमा समावेश सामाग्री मार्फत गायक बज्राचार्यलाई आम पाठकमाझ थप परिचित गराउन खोजिएको छ ।

कार्यक्रम पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्न गरिएको हो । कार्यक्रमको सञ्चालन परिवारका सह–सचिव शिव त्रिपाठीले गरेका थिए । २०३४ सालमा स्थापना भएको परिवारले साहित्य, कला र संगीतको क्षेत्रमा निरन्तर कार्य गर्दै आइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button