टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवक पक्राउ, बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

जलेश्वर, १ कात्तिक (रासस) ः महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज पत्रकार सम्मेलन गर्दै बताउनुभयो । सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि आफ्नी पत्नीको गर्भ तुहिएको भन्दै बडादसैँ चलिरहेकै बेला गत बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिला सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भाउजूको ओछ्यानमै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरी आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र अनिल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।

गत बुधबार बिहान स्थानीयवासी शम्भु महतोकी पत्नी सुकमरिया देवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दरको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि चारै जनाले उक्त महिलाले नै जादु र टुनामुना लगाएको भन्दै समातेर मलमुत्र खुवाउनाका साथै अपमानजनक व्यवहार गरेका थिए ।

उनीहरुले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिएको र अन्त्यमा मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । बडादसैँ चलिरहेकै बेला गत बुधबाउनीहरुलाई पक्राउ गर्नाका साथै घटनास्थलबाट सुकमरियालाई बाँध्न प्रयोग गरेको नाइलनको डोरी, काटेका कपालका टुक्रा र मलमूत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास तथा बियरको बोतलसमेत बरामद गरिएको थियो । प्रहरीले चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button