पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा आफूलाई व्यवसायीहरुले निर्वाचित गराउनेमा प्रजापति विश्वस्त

रेम विक, पोखरा, १४ भदौ । पोखरा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी छ यतिबेला पोखरामा । व्यवसायीहरुको नजिकिरहेको चुनावका लागि नेतृत्व लिन तम्सिरहेका पवन प्रजापति अहिले घरदैलोमा व्यस्त छन् ।

त्यसो त अघिल्ला चुनावहरुमा प्रजापति अरु नेतृत्वको काँध थापेर चुनावी मैदानमा होमिँदै आएका थिए । तर यो समय उनी आफै नेतृत्वको लागि मैदानमा उत्रेका छन् । व्यवसायीहरुमाझ चिरपरिचित प्रजापति संघमा गरेका आफ्ना पुराना कर्महरुकै बलमा आफू यो पटक नेतृत्वमा चुनिने दाबी गर्छन् । ‘संघमा व्यवसायीहरुले अहिलेसम्म जुन जुन पोजिसनमा मलाई चुन्नुभयो, ती सबै पदीय जिम्मेवारी मैले आफ्नो सम्पूर्ण ध्यान दिएर पुरा गर्दै आएको छु ।’ आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका अध्यक्ष उम्मेदवार प्रजापति भन्छन्–‘नेतृत्वमा बसेर व्यवसायीको हकहितमा समर्पित हुने मेरो चाहनालाई यो पटक पनि सबैजनाले पुरा गरिदिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’

पवन प्रजापतिको संघको यात्राको हिसाब गर्ने हो भने उनी धेरै लामो बाटो हिँडेर यहाँसम्म आईपुगेका हुन् । शुरुवाती दुई कार्यकाल उनी संघको कार्यसमिति सदस्यको रुपमा रहे । त्यसपछिको कार्यकाल उनी संघको कोषाध्यक्ष निर्वाचित भए । अझै त्यसपछिको कार्यकाल उपाध्यक्ष भएर संघका लागि काम गरेका प्रजापति यतिबेला भने संघको वरिष्ठ उपाध्यक्ष छन् ।

‘म नेतृत्वमा आउन खोजिरहँदा मैले मेरा चुनौतीहरुलाई नजरअन्दाज गरेको छैन । लामो समयको बन्दाबन्दीले गर्दा व्यवसायीहरु ठुलो समस्यामा छन् । ती सबै व्यवसायीहरुको तमाम समस्या समाधानका लागि संघको तर्फबाट गर्ने हरेक काम गर्न म मानसिक रुपमा तम्तयार भएरै नेतृत्वको लागि मैदानमा होमिएको हुँ ।’ प्रजापति भन्छन्–‘संघको गरिमा, लक्ष्य र उद्देश्यमा कहिँकतै आँच आउन मैले दिनेछैन ।’

१७ बुँदे प्रतिबद्धतापत्रसहित आफ्नो प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका प्रजापतिले आफ्नो पहिलो प्राथमिकता नै लकडाउनको मारमा परेका उद्योगी व्यवसायीलाई स्थापित गराउने रहेको बताउँछन् । व्यवसायीको घरदैलोमा पुग्दै गर्दा उनले आफ्नो पक्षमा थुप्रै सुभेच्छाहरु पाएका छन् । उनीप्रति व्यवसायीहरुको विश्वास छ । क्रमैसँग नेतृृत्वमा आउने उनको चाहनालाई धेरै व्यवसायीहरुले रुचाएका छन् । भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनबाट अध्यक्षमा आफूलाई व्यवसायीहरुले निर्वाचित गराउने कुरामा प्रजापति विश्वस्त छन् ।

चुनाव भन्ने वित्तिकै उनको प्रतिस्पर्धी नहुने कुरै भएन । तर प्रतिस्पर्धीलाई पनि कुनै दोष नदिई आफू चुनावी मैदानमा उत्रने उनको रणनीति हो । सकेसम्म प्रतिस्पर्धीलाई पनि अन्तिम समयसम्म मिलाएर लैजाने उनको सोँच छ ।

त्यसो त प्रजापति व्यवसायमा मात्रै होईन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनको बनाएको सामाजिक छवि साँच्चिकै लोभलाग्दो छ । शायद पोखरामा प्रजापति व्यवसायी बाहेक अन्य क्षेत्रका मानिसहरुमाझ पनि उत्तिकै लोकप्रिय छन् । यो खाले ‘पब्लिक रिलेशन’ बनाउनु पनि एउटा खाले कला नै मान्नुपर्छ ।

व्यवसायसँगै उनको लगाव मनोरञ्जन र खेलकुदमा देखिन्छ । त्यसैले त दक्षिण एशियाली राष्ट्रहरुमा हुने कबड्डी प्रतियोगितामा आफैँले खर्च गरेर राष्ट्रको प्रतिनीधित्व गराउन पनि उनी पछि पर्दैनन् । ‘खेलकुदप्रति एउटा खाले लगाव र प्रेम भएकै कारणले मैले यसो गरेको हुँ ।’ प्रजापति भन्छन् ।

प्रजापति पोखरा बडि विल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो दह«ो उपस्थिती देखाईसकेका छन् ।

त्यो बाहेक उनी संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल मानिन्छन् । सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गरेका प्रजापतिले सोहि समयमा सराङकोट सहकारीको स्थापना गराएका हुन् । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ । त्यस्तै पछिल्लो समय उनी लायन्स क्लब अफ अन्नपूर्ण रेञ्जको अध्यक्षको रुपमा पनि युवाहरुलाई संगठित गरेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् ।

गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका सशक्त रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button